कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

पछाडि अड्किने कि अगाडि फड्किने ?

देश अगाडि बढ्दैछ, विज्ञान प्रविधि र राज्यनीतिले मुलुक अब पछाडि फर्किनेवाला छैन भन्ने ग्यारेन्टी गर्न ढिला भइरह्यो भने देशको नयाँ पुस्तालाई नै निर्यात हुनबाट रोक्न सकिने छैन ।

बेइजिङ — सन् २०१५ को जुन महिनातिर बेइजिङको उत्तरपूर्वी एक चिनियाँको घरमा पुग्दा घरधनीले मेरो चीन यात्राका विषयमा अनेकन तानाबाना बुनेपछि मुस्कुराउँदै भने, ‘चीन अब पछाडि फर्किनेवाला छैन ।’ एकजना सर्वसाधारणका मुखबाट यस्तो कुरा सुनेपछि लाग्यो, संसारका हरेक व्यक्ति रातोदिन मेहनतका साथ आफ्नो अँध्यारो विगतलाई बिर्सेर उन्नतिको नयाँ खुड्किलो चढ्न चाहन्छन्। हरेक राष्ट्रले अहोरात्र खटिएर देशलाई अब्बल बनाउन चाहन्छन् र विश्वमञ्चमा आत्मगौरवका साथ उभिन चाहन्छन् ।

पछाडि अड्किने कि अगाडि फड्किने ?

पश्चिमाहरूले चीन टेकेपछि भन्छन्, चीन दोस्रो युरोपको झल्को देखाउँदैछ। एउटा सुकुम्बासीको घरजस्तो लाग्ने टहरोमा उनीसहित अरू ४ जना साना ठूला दाजुहरू देखिए। पर्खालले घेरिएको भग्नावशेष परिसरभित्र उनीहरूको अस्थायी झुपडी थियो। भाषिक कठिनाइका कारण कुरा कमै भएपनि उनीहरुका परिवारजन त्यहाँ थिएनन्, अन्त कतै व्यवस्थापन गरेको स्पष्टै बुझिन्थ्यो ।

यी रैथाने दाजुभाइहरू यसकारण भेला भएका रहेछन् कि, सरकारले मुआब्जा दिएर उनीहरूलाई हटाउन खोज्दै थियो । उनीहरू अझै बढी मुआब्जाका लागि अटेर गरेर बसिरहेका रहेछन् । बेइजिङमा फुटपाथ पसलदेखि नगरको शोभा बिगार्ने कुराहरू व्यवस्थापन गरिएको छ, अब पहिलादेखि लथालिङ्ग अवस्था निश्चित टहर वा स्थलगत घेराभित्र समेटिएको छ। विगतदेखि नै विदेशीप्रतिको सत्कारभावमा चिनियाँहरू अलिक फेरिएका छन्, तत्कालीन समयमा ती दाजुहरूको झुपडीमा छिरेको पहिलो विदेशी भएकाले होला सत्कार चाहिँ सन्तोषजनकै थियो । उनले सुनाएको एउटा वाक्यले बारम्बार झक्झक्याउँछ - चीन अब पछाडि फर्किनेवाला छैन ।

चीन पछाडि नफर्किने कुराले गहिरो अर्थ राख्छ । सन् २०१३ मा सत्तासीन भएपछि राष्ट्रपति सी चिनफिङले पछाडि अड्किनुपर्ने थुप्रै तगाराहरू पार गराएका छन्। विश्वमा कोरोना महामारीदेखि गरिबी निवारणसम्म सीले फड्किने बाटो समाते, जसका कारण चिनियाँहरू तीतो विगतबाट आत्मसम्मानको शिक्षा लिएर अगाडि फड्किरहेका देखिन्छन् ।

प्रविधि, यातायात, पर्यावरण वा भौतिक पूर्वाधारजस्ता कुरामा चीनले थुप्रै अनिश्चितता हटाएको छ। बलियो र शान्त रहँदै आफ्नो भाग्य निर्माणमा अग्रसर देखिन्छ । कोरोना महामारी यता चिनियाँहरूको जीवनमा ठूलो संकुचन आयो । तर यो संकुचन विश्वको लथालिंग तालभन्दा तुलनात्मक सन्तुलित थियो।

चिनियाँहरू अहिले पछाडि अड्किने अर्थात् इतिहासको पाना पल्टाउने भनेको शक्ति बटुल्नका लागि भएको झल्किन्छ । चिनियाँहरू सन् १८४० देखि १९४९ सम्म अफिम युद्धको सुरुवातदेखि १९४९ सम्म सयौं वर्षको अपमान, अतिक्रमण, गृहयुद्धको सामना गरिरहे । हाल विश्वको सबैभन्दा शक्तिशाली अर्थतन्त्र भइसकेको अवस्थामा चिनियाँहरूले अब सायदै पछाडि फर्किने मनस्थिति राख्दछन् ।

गत जनवरीमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टी, २०औं केन्द्रीय अनुशासन निरीक्षण आयोगको तेस्रो पूर्ण बैठकमा सीपीसी महासचिव सीले भने, ‘भ्रष्टाचारविरुद्धको लडाइँमा पछाडि फर्कनुहुँदैन, ढुक्क बस्नुहुँदैन र भ्रष्टाचारप्रति दयाभाव देखाउनुहुँदैन । हामीले सधैं यसविरुद्धको तुरही फुकिराख्नुपर्छ।"

उनले भन्न खोजेको यही हो कि, विगतको बेथितिलाई सहेर बस्नु हुँदैन। उनले आफ्नो नेतृत्वमा रहेको सीपीसीलाई अविच्छिन्न रूपमा भ्रष्टाचारविरोधी दृढता र इच्छाशक्तिमा रुपान्तरण गरे । व्यवहारिक रुपमा आफ्नो टिमलाई भ्रष्टाचारविरुद्ध उभ्याउनु र ‘भ्रष्टाचारीको मुखै हेर्दिन’ भनेर काखी च्याप्नुमा ठूलो अन्तर छ ।

विगत १०० वर्षका प्रारम्भिक दिनहरूमा ५० भन्दा बढी पार्टी सदस्यबाट आज ९ करोड ८० लाखभन्दा बढी पार्टी सदस्यसम्म पुगेको सीपीसी भारतीय जनता पार्टीपछिको ठूलो पार्टी बनेको छ ।

शताब्दी लामो यात्राका कारण एकपछि अर्को कठिनाइलाई पार गर्दै विश्वका दलीय उतारचढावलाई नियालेको छ ।

२०औं शताब्दीको अन्त्यतिर सोभियत संघको कम्युनिस्ट पार्टी, भारतमा कांग्रेस र मेक्सिकोको संस्थागत क्रान्तिकारी पार्टीले प्रतिनिधित्व गर्ने केही ठूला र पुराना पार्टीहरूले एकपछि अर्को गर्दै आफ्नो शासकीय हैसियत गुमाएका छन् ।

कतिपयले त आफ्नो पार्टी गुमाउनुको दयनीय स्थिति सामना गर्नुपरेका नियतिहरू सीपीसीले देखेको छ। यस्तो अवस्थामा सबै कठिनाइ पार गरेर एकछत्र अगाडि बढ्ने क्षमता बनाउनु सीपीसीको चानचुने दृढता होइन। यही दृढताले उनीहरू पछाडि फर्किएर अलमल्ल पर्ने ढाँचामा छैनन् भन्ने देखाउँछ।

सन् २०१५ मा जतिखेर नेपाल विनाशकारी भूकम्पले थिलोथिलो भएको थियो। सशस्त्र द्वन्द्वताका नयाँ नेपाल निर्माणको खाका कोर्ने भन्दै पुराना संरचना ध्वस्त पारियो तर अहिले पुनर्निमाण अधुरै छ । भूकम्पले देशका परिचायक सम्पदाहरू ढले तर उठाउने कुरामा यति सुस्तता छायो कि फछाडि फर्किने नेपालीको कार्यशैलीको प्रतिनिधित्व गर्यो । बेला बेलामा यो देश बनाउने भन्दै नयाँ तथा जाँगरिला युवा पुस्ताको आगमन हुन्छ । तर पछाडि फर्केर उही पुरातनवादी संस्कार न्यौछाबर हुन्छ ।

आधिकारिक निकायबाट भ्रष्टाचार, बेथितिका फाइल खोल्ने एउटा प्रतिशोधपूर्ण वाक्य जारी हुन्छ तर खोल्ने हल्ला चाहिँ चर्को र बन्द हुने ध्वनि चाहिँ मिहिन सुनिन्छ । अर्थात् नेपाल अगाडि बढ्न त खोज्छ तर कति अगाडि पुगियो भन्ने थाहै नपाई अड्किइरहेको जस्तो हुन्छ ।

विश्वकै सबैभन्दा राम्रो संविधान बनाएको दाबी गर्ने लोकतान्त्रिक गणतन्त्र नेपालले कार्यान्वयनको पाटो चाहिँ पछाडि नै अड्काएको छ । छुवाछुत, छाउपडी, सांस्कृतिक तथा सामाजिक विकृति विसंगतिको एउटा आवाज बेला बेलामा गुञ्जिन्छ फेरि पूर्ववत् अवस्थामा गएर रोकिन्छ । त्यसैले एउटा उर्जावान नेपालको शक्ति नै बहस, होहल्ला, अभिव्यक्ति स्वतन्त्रताका अनेकन फुलबुट्टा भर्न, अनि केही दिनका लागि मुद्दाहरू थाती राख्न र कालान्तरमा पुनः त्यही कुरामा अल्झिने नियतले खपत गरिरहेको हुन्छ ।

प्रायः पपुलिज्मका पछि लाग्ने नेताहरू हेर्नुपर्छ, उनीहरुको अधिकांश समय देशभित्रका प्रतिष्पर्धी नेताहरूको खोइरो खनेर बित्छ । पछाडि फर्किराख्ने मात्रै हो भने हाम्रो उत्तरको चीन र दक्षिणको भारतजस्ता विशाल विकासोन्मुख देशको रापतापमा अँचेटिएर लोपोन्मुख हुने स्थिति आउनेछ ।

पछाडि नै फर्किराख्ने नियति हुन्थ्यो भने सन् २०२० को अन्त्यमा चीनले अति गरिबीको चपेटाबाट उन्मुक्तिको उद्घोष गर्ने थिएन । सो वर्षको अन्त्यमा घोषणा गरिएअनुसार १० करोड नागरिक गरिबीमुक्त भए । मानिसहरू पुनः गरिबीको चक्रमा फस्लान् कि भनेर सी चिनफिङ स्वयं पूर्व गरिब ग्रामीण क्षेत्रहरुमा घुमिरहन्थेनन् । अगाडि बढ्नुपर्ने प्रवचन दिइरहने थिएनन् ।

उनैले इतिहासका दार्शनिकहरूका विचारधारा आफ्ना भाषणमा समेटिरहेका हुन्छन्। कतिपय विदेश भ्रमणको बेला ती उद्गारहरू प्रसारण गरिन्छन् । इतिहासले सिकाएको पाठ ग्रहण गर्ने तर अग्रगामी छलाङ मार्ने चिनियाँ शैलीबाट हामीले पनि सिक्नसक्ने ठाउँ धेरै छ ।

एक दशकअघि बेइजिङमा जे जस्ता समस्या थिए, अहिले निमिट्यान्नै भएका छन् । अब कसैले चाहेर पनि प्रदूषित, जामग्रस्त, अस्तव्यस्त बेइजिङ देख्न मुश्किल छ । नेपालको सन्दर्भमा मेयरको इच्छाशक्तिले कुनै दिन राम्रो भएको सहर कुनै दिन हेर्नै नसकिने हुन्छ । विकासमा हतारो छैन, विस्तारै हुँदै त छ भन्ने ढाडस प्राप्त हुन्छ ।

अगाडि फड्किने कि पछाडि नै अड्किने भन्ने विषयमा ठूलो बहस गर्न सकिन्छ। चीनको उदाहरण लिँदा इतिहासबाट प्रेरणा लिनु छ भने पछाडि हेर्ने हो, नत्र अगाडि बढ्ने हो । विगतका कमी कमजोरीबाट सिकेर सुदूर भविष्य पहिल्याउनु छ भने पछाडि हेर्ने हो । उस्तै बेथितिको नियति दोहोर्‍याउने हो भने विगतलाई चटक्कै बिर्सिदिने हो । तर देश अगाडि बढ्दैछ, विज्ञान प्रविधि र राज्यनीतिले मुलुक अब पछाडि फर्किनेवाला छैन भन्ने ग्यारेन्टी गर्न ढिला भइरह्यो भने देशको नयाँ पुस्तालाई नै निर्यात हुनबाट रोक्न सकिने छैन ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×