कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

नुन-भेडा मार्गमा भोट-नेपाल पुरानो भेट  

भाद्र २, २०८१
नुन-भेडा मार्गमा भोट-नेपाल पुरानो भेट  

Highlights

  • नुन कारोबारका कारण सामान्य नेपालीहरूले भोट क्षेत्र चिन्दछन् तर तिब्बतभित्र विभिन्न ठाउँका विभिन्न नाम हुन्छन्। एउटा नाम चाहिँ क ची जिल्ला हो जुन झण्डै १ हजार वर्षअघिदेखि नेपालसँग जोडिएको रहेछ। यहाँको नुन नेपालमा निर्यात हुँदो रहेछ ।

तिब्बत, चीन — तिब्बती आली प्रिफेक्चरको क ची भन्ने काउन्टीस्थित एउटा फ्याक्ट्रीमा नुन व्यापारीको पुरानो फोटो भित्ता ढाकिनेगरी झुण्ड्याइएको थियो । तिब्बती नुनको उद्गम थलो भएकाले मध्य अगष्टमा छायाङ्कन कार्यक्रमहरू लिएर बेइजिङबाट संचारकर्मीको एउटा टोली त्यहाँ पुगेको थियो । 

तस्बिरले मेरो बालापनको स्मृति ताजा बनाएर ल्यायो । राडिपाखी बोकेका, भेडाको ऊनबाट बुनिएका झोलासहित, लट्टा परेका कपाल अनि हिमाली जातीय अनुहारले उतिखेर नेपालमा सामान ल्याएर यताउता गरिराख्ने भोटेको 'अर्ग्यानिक' स्वाद दिलाउँथ्यो । त्यहाँ उभिइरहेका एक व्यक्तिसँग यिनीहरू कहाँ होलान् भनेर सोधेपछि उनले भने, ‘पछाडिका मान्छेहरू अहिले घरमै बस्छन्, तर अगाडिका दुई जना त दुई/तीन वर्ष अगाडि नै ...!

तस्बिरमा हेरिरहेका मेरा आँखा मौनताको अर्थ खोज्न मोडिएपछि ती अधवैंशे जिब्रो टोकिरहेको अवस्थामा थिए। हाउभाउ हेर्दा दुरुस्तै नेपाली झल्को । सायद नेपालको सीमावर्ती हुनुको प्रभाव पो हो कि?

विशाल पठारभूमि तिब्बतमा अचेल चिनियाँ भाषा बोल्ने मानिसहरू सहजै भेटिने रहेछ । सानैदेखि बालबालिकाहरूले माण्डारिन कक्षा लिन्छन् । चीनले एउटा कुरा के बुझेको देखिन्छ भने, देशलाई एकताको सूत्रमा बाँध्ने एउटा तरिका चाहिँ नागरिक नागरिकबीच समान भाषाद्वारा सम्पर्क स्थापित हुनु हो । उनी माण्डारिन राम्रै बोल्थे र अंग्रेजी पनि । १० वर्षजति पर्यटक गाइडका रुपमा काम गरेकाले अंग्रेजीको दक्खल रहेछ । अचेल यो पेशाबाट अलगिएपछि अंग्रेजीबाट टाढिएका तथापि उनले यसरी कताकति अंग्रेजी घुसाउने अवसर पाएकाले मेरो छेउ पर्न रुचाउँथे ।

...

नुन कारोबारका कारण सामान्य नेपालीहरूले भोट क्षेत्र चिन्दछन् तर तिब्बतभित्र विभिन्न ठाउँका विभिन्न नाम हुन्छन्। एउटा नाम चाहिँ क ची जिल्ला हो, जुन झण्डै १ हजार वर्षअघिदेखि नेपालसँग जोडिएको रहेछ। यहाँको नुन नेपालमा निर्यात हुँदो रहेछ इतिहासमा।

तत्कालीन समयमा नेपाल र तिब्बत गरिबीको चपेटामा थिए । अर्थात् प्रविधि, बाटोघाटोको विकास थिएन । नुन ढुवानीका भरपर्दा यातायात भनेका भेडाहरू थिए । नुनका झोला ऊनबाट सिलाइन्थ्यो र नुनका भारीहरू भेडाद्वारा ढुवानी गरिन्थ्यो ।

चिनियाँमा लेखिएको थियो ‘यानयाङ एन्सियन्ट रोड' जसमा 'यान' भनेको नुन र 'याङ' भनेको भेडा।

तिब्बतले प्राकृतिक रुपमा समृद्ध प्राकृतिक नुनका तालहरू पाएको छ तर लेक लाग्ने र चिसो हुने भएकाले यहाँ जो पायो त्यहीले नुन उत्खनन् गर्न सहज हुन्थेन । नुनले मानिसका दैनिक आवश्यकता मात्रै पूर्ति गरेको थिएन बरू नेपाल, भारत वा अन्य क्षेत्रहरूका लागि स्वाद निर्यात गरेको थियो । बुराङ, सिगात्से, भारत र नेपाल जस्ता ठाउँमा २ देखि ३ महिना लगाएर सैयौँ कठिनाइहरूको सामना गर्दै नुन ढुवानी गरिन्थ्यो ।

व्यापार विनिमयको मुख्य विषय भनेको नुनसँग जौ, चिया, लत्ताकपडा र अन्य खाद्यान्न साटासाट गर्नु थियो । नुन र भेडाबीचको अन्योन्याश्रित सम्बन्धलाई अंगीकार गर्दै नुनभेडा प्राचीन मार्ग भन्ने नामकरण हुनु पनि तत्कालीन समयको एउटा बुद्धिमत्ता नै थियो । उतिखेर धनी मान्छे उही कहलिन्थ्यो जसका सबैभन्दा धेरै नुन ढुवानी गर्ने भेडा हुन्थे । सामान्यतया १ हजार भेडा हुनु त एक किसिमले शक्तिप्रदर्शन गर्नुजस्तै हुन्थ्यो ।

...

बेइजिङबाट गएको सञ्चारकर्मी टोलीको उद्देश्य त्यहाँको नुन उद्योगको आधुनिकीकरणलाई पछ्याउनु थियो । परम्परागत नुन उत्खनन् गर्ने विधि उस्तै रहेछ तर प्रशोधन विधिमा आधुनिक उपकरणहरू आविष्कार गरिएको छ । खाद्य नुन, औद्योगिक नुन, मालिश नुनका अतिरिक्त नुनका विविधताहरू निरन्तर रूपमा विकास भइरहेको छ ।

अत्याधुनिक उपकरण हेरेर नुनलाई कसरी प्रशोधन गरिने रहेछ भन्ने हाम्रो अभिलाषा भने बिजुलीले पानी खन्याइदियो । त्यहाँ हामी पुग्दा बखत् 'थिङ् त्येन' अर्थात् लोडसेडिङ चलिरहेको रहेछ । यता पनि कता कता नेपालको झल्को आउने । लोडसेडिङसँग नेपालीहरू अपरिचित हुने कुरै भएन । जहाँ अभाव छ, त्यहाँ संभावना भनेजस्तै नेपालले बिजुली निर्यात गर्न बल गरिरहेको विषयले यहाँ मेल खान्छ कि जस्तो लाग्यो ।

सन् २००५ देखि छियाङमाइ नुन कारखाना स्थापित भएर सन् २०१४ मा नुनले ट्रेडमार्क प्राप्त गरेको छ। सन् २०१८ मा स्थानीय सरकारले मोटे नुन प्रशोधन प्लान्टलाई गरिबी निवारण उद्योग परियोजनाको रूपमा पहिचान गर्‍यो र प्रशोधन प्लान्टको स्तरोन्नति गर्न लगानी गर्‍यो । यसमा तातो ड्रायर, एउटा क्रसर, बेल्ट कन्भेयर र दुईवटा प्याकेजिङ मेसिन रहेछन् ।

मोटो नुन प्रशोधन प्लान्टले नुन संकलन, भण्डारण, प्रशोधन, प्याकेजिङ्ग र बिक्रीलाई एकीकृत गरी पूर्ण उद्योग चेन उद्यमको रूपमा विकास गरेको चिनियाँ सञ्चारमाध्यमहरू लेख्छन् । नेपालसँगको कारोबार इतिहासमा सीमित रहेपनि नुन प्रशोधन कारखानाले झन् झन् यसको स्तरोन्नति गर्दै लगेको देखिन्छ । आली प्रिफेक्चर, क ची काउन्टी, छा खा गाउँ पार्टी कमिटी सचिव कोङ्चोए छिरिङले नुनको बिक्री च्यानलहरू बिस्तार गर्दै ब्राण्ड विस्तार गर्ने क्रम अझै तीव्र छ। उनले भने, 'हाम्रो नुनको इतिहास र संस्कृति छ। हाम्रो नुन कारखाना अझै विकसित हुँदै गएको छ, यसले स्थानीयलाई धनी बन्न प्रेरित गरेको छ।'

उत्पादन उपकरण आविष्कार गर्नुका साथै कारखानाले स्थानीय जनतालाई आम्दानी दिएको छ । हरेक वर्षको जुलाई र अगस्ट महिनामा स्थानीयलाई नुन बनाउने काममा लगाइन्छ । तालबाट नुन सोहोर्ने र नुन प्रशोधनका विभिन्न प्रक्रिया पार गर्न जनशक्ति चाहिन्छ नै ।

बिजुली रोकिएकाले सुस्ताइरहेका यन्त्र हेर्दै गर्दा कारखाना परिसरमा एउटा प्रहरीको गाडी रोकियो । हामी त्यसमा चढ्नुपर्ने भयो । मैले भनें, 'अहो पुलिसको गाडी ! तर म त डराउँन्न ।' मैले चिनियाँमा बोलेपछि कारखाना प्राङ्गणमा उपस्थित अन्य मानिसहरू हाँसे । एकजना खाइलाग्दो अधवैंशेले २ जनालाई क्यामराम्यानलाई डिकीमा कोच्दै हामी ६ जनालाई नुन तालतर्फ दुगुरायो।

अहिलेसम्म नुन कहाँबाट आउँछ भन्ने प्रश्नको उत्तर अहिलेका पुस्तासँग छैन । पसल या साहुजीबाट प्राप्त हुने, त्यतिले नभए समुद्रबाट आउँछ भन्नेसम्म हुन्छ । देश र जनता बुझ्ने राष्ट्रवादी नेताहरू खोज्ने क्रममा केही मानिसहरूले व्यंग्य गरेको सुनिन्छ, ‘पहिला देशमा नुन कारखाना खोल्नुपर्ने भो । आफ्नो देशको नुन खाए मात्रै यो माटो र जनताको हित गर्ने नेता भेटिन्थ्यो कि ?'

तर समुद्र नै नभएको भूपरिवेष्ठित देशमा नुन कहाँबाट ल्याउनू ? समुद्रबिनाको तालमा पनि नुन भएको दृष्य पहिलो पटक नियाल्दा अचम्मै लाग्यो ।

...

आँखाले हेरिनभ्याउने विशाल परिधि नियाल्दै हामी पर्वतको फेदीमा पर परसम्म फैलिएको सेतो तालको नजिक पुग्यौं । अरु बेला तिब्बतमा नीलो नीलो ताल मात्रै देखिने गरेकोमा यसपालि सेतो वा फुस्रो रंगको ताल देखियो । बिच्च-बिच्चमा कताकति पानीका टुक्राजस्तो भाग जसले आकाशतिर चियाइरहेको जस्तो लाग्छ । किनारमा थुप्रिएको सेतो सेतो भागलाई छेस्काले खोस्रिँदै ती चालकले देखाए, ‘हो, यो नुन हो । यहाँबाट झोला र बोरामा हालेर कारखानामा लैजाने अनि प्रशोधन गर्ने ।'

फेरि कारखानामा फर्केर गाडीले हामीलाई उतारिदियो । चालक त खासमा सुरक्षाकर्मी नै रहेछन् । ‘नुन विशेष कारखाना साइट' रहेछ जहाँ कर्मचारीहरु मात्रै बस्छन् र सम्बन्धित कामहरू गर्छन् । नुन प्रविधिका बारेमा जिम्मेवार एकजना पदाधिकारी अगाडि देखापरे ।

‘अचेल नेपालमा कहाँको नुन जान्छ, भोटको नुन नेपालीले खान्छन् त ? ' तिनले भने, ‘पु च् ताओ' (थाहा छैन।)

त्यसपछि थप कुरा गरिराख्ने विषय नै भएन । नुन सिल्करोड बिलाएको धेरै वर्ष भइसक्यो । अचेल चिनियाँ नुन नेपालमा सायदै जान्छ, तर भारत वा अन्य देशबाट नुन आयात हुन्छ ।

यदि नुनको निर्यातको यो सिलसिला नरोकिएको भए दुईटा कुरा अवश्य नै जीवन्त रहने थिए, पहिलो चीनसँगको मित्रताको विरासत अझै प्रगाढ हुन्थ्यो, दोस्रो नेपालको खाद्यान्न उत्पादकत्व कायम रहन्थ्यो ।

इतिहासमा नुनका कारण नेपाल र भोटबीच उतारचढाव हुन्थ्यो । तर नेपाल त्यतिखेर नुनमा तिब्बतमाथि निर्भर नै थियो, भलै परनिर्भरता ‘सिफ्ट' भएको छ । नेपालले अन्ततः सम्झौता गरेर मित्रतालाई कायम राख्ने प्रयास गर्‍थ्यो । अर्को कुरा यदि यो विनिमयको सिलसिला कायम रहन्थ्यो भने नेपालको कृषि क्षेत्रको उत्पादकत्व निर्यात गर्नैका लागि भएपनि बढिरहेको हुने थियो । अचेल नेपाल न्यूनतम रैथाने बाली र खाद्यान्न समेत आयात गर्नुपर्ने स्थितिमा आइपुगेको छ ।

पक्कै बाटोघाटो र प्रविधिले ब्यापार वाणिज्यको परिमाणमा सुविधाजनक भएको हुन्थ्यो ।

समय बदलिएको छ । विज्ञान र प्रविधिले जीवन सहज बनाएको छ । व्यापारको प्रकृति बदलिएको छ । अब खाद्यान्नका लागि पठारभूमिले नेपाल वा कुनैपनि छिमेकीको मुख ताक्नुपर्दैन । समृद्धिका कारण जीवन क्रमशः सहज हुँदै गएको छ ।

नेपाल तिब्बती नुनसँगको कारोबारबाट बिच्किए पनि नुनको उत्पादन छोडेको छैन । गरिबी निवारणमा अनेकन आयामहरु खोजिरहेका बेला चीनले प्राचीन विरासतहरू अझै उत्खनन् गर्दै, परिमार्जित र सशक्त बनाउँदै लगेको छ । तिब्बतले नुन निर्यात नगरे पनि पूरा तिब्बतभरि खपत गर्ने प्रणाली अपनाएको छ । नुन तरकारीमा हाल्ने मात्रै होइन, जिउ मालिस गर्ने औषधि, घरपालुवा जन्तुको पोषणलगायत काममा खपत गरिरहेको छ, विविधता बढाइरहेको छ ।

नेपालीले कहाँको नुन खान्छन् भन्दा मेसो नपाएका जिम्मेवार पदाधिकारीले हामी फर्किने बेलामा सम्झनास्वरूप एउटा फोटो खिच्ने प्रस्ताव गरे । कारखानाका कर्मचारीहरू हाम्रो गाडीलाई बिदा गर्न झुम्मिएका थिए । उनको मोबाइलमा खिचिएका फोटो हेर्दै गर्दा मैले जिस्क्याएँ, ता क (ठूल्दाई) तिमीभन्दा म के कम ? भुँडीले भेट्टाउनै पो लागेँछु, भुँडी घटाउने नुन बनाउन मिल्दैन ?'

हाँसो गुन्जियो । गाडी हुइँकियो ।

प्रकाशित : भाद्र २, २०८१ १६:१९
×