कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
अन्तर्वार्ता

‘अज्ञानताको भारले हामीलाई थिचेको छ’

दक्षिण एसियामा पनि धार्मिक र जातीय भिन्नता र विविधताको प्रयोग राजनीतिकर्मीहरूले आफ्नो शासन टिकाउन मात्रै गरिरहेका छन् ।
काठमाडौं उपत्यकामा धार्मिक होइन, मिथकीय संवेदना धेरै छ । मिथकरूपी संवेदना संस्थागत हुँदैन र यो कट्टरपन्थी पनि हुँदैन । मिथकीय चेतना निर्दोष हुन्छ, कहिलेकाहीँ अलौकिक पनि हुन्छ ।

काठमाडौँ — अंग्रेजी साहित्यका प्राध्यापक अरुण गुप्तो कपिलवस्तुको बहादुरगन्जमा जन्मे । त्यो ठाउँ न गाउँ थियो, न सहर नै बनिसकेको थियो । हिन्दु–मुसलमान, मधेशी–पहाडी बराबरै भएको परिवेशमा उनी हुर्के । त्यस परिवेशलाई उनले नाम दिएका छन्— ‘बहुसांस्कृतिक’ । काठमाडौंका गल्लीहरू निकै हिँडेपछि उनले किताब लेखे ‘गडेस अफ काठमान्डु भ्याली’ ।

‘अज्ञानताको भारले हामीलाई थिचेको छ’

दक्षिण एसिया र काठमाडौंको सांस्कृतिक अध्ययनमाथि रुचि राख्ने ६७ वर्षीय गुप्तोको नयाँ किताब ‘संस्कृति चिन्तन’ प्रकाशित छ । नेपाली समाज, संस्कृति, धर्म र सहिष्णुताका विषयमा गुप्तोसँग कान्तिपुरका लागि दीपक सापकोटाजनकराज सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्ला वर्षहरूमा दक्षिण एसियाका श्रीलंकादेखि म्यानमार र छिमेकी भारतसम्मै धार्मिक अतिवाद विभिन्न स्वरूपमा प्रकट भइरहेको छ । सांस्कृतिक अनुसन्धानकर्मीका नाताले यी घटनाहरूलाई कसरी हेरिराख्नुभएको छ ?

निश्चय पनि यो महत्त्वपूर्ण विषय हो । धार्मिक र सांस्कृतिक कट्टरताको कुरा आउँदा म मेक्सिकन कवि ग्लोरिया इभान्जिलिना आन्जाल्दुआलको कविता सम्झिन्छु । उनी कवितामा भन्छिन्, ‘म एउटा मेस्तिजा हुँ / एउटा संस्कृतिबाट अर्को संस्कृतिमा हिँड्छु / किनभने म एकै समयमा सबै संस्कृतिमा हुन्छु ।’ यो कुरालाई सीमान्त चेतना भनिन्छ । मेक्सिकन भाषामा मेस्तिजा भनेको बोर्डरल्यान्ड कन्सेप्ट वा सीमान्त चेतना हो । तर कविताको कुरा व्यवहारमा उतार्न उति नै गाह्रो छ । एकातिर मेस्तिजाजस्तो चेतनाको कुरा गर्नेहरू छन्; अर्कोतिर मेरो संस्कृति नै उच्च छ, उत्कृष्ट छ; अरूको ग्रन्थ, अरूको धर्म, अरूको विचार नराम्रो छ भन्नेहरू छन् । यस्तो कुराबाट माथि उठ्न धेरै नै गाह्रो छ । मेरो संस्कृति तेरोभन्दा माथि हो भन्ने कुरा सीमान्त चेतना होइन । मन्दिर वा मस्जिद ध्वस्त गर्ने बाटो, बामियान ध्वंस गर्ने बाटो सीमान्त चेतना होइन । यो बाटोले मेरो संस्कृति, मेरो धर्म, मेरो जात नै उच्च हो; अरू राक्षसी हुन्, अरू निम्न हुन्, अरू जंगली हुन् भन्ने कुरालाई बढावा दिन्छ ।

धेरै लेखकहरू संस्कृतिको इतिहास बर्बरताको इतिहास पनि हो भन्छन् । अरूको संस्कृतिलाई पनि सम्मान दिने चेतनाहरू धेरै छैनन् । धेरैजसो सामाजिक इतिहास हेर्दाखेरि ध्वंसको बाटो नै देखिएको छ । हतियार बोकेका आक्रमणकारीहरूले अरूको संस्कृतिमा सैनिक–धार्मिक आक्रमण गरे । जस्तै— स्पेनिस कन्क्युस्टेडरले १६ औं शताब्दीमा मेक्सिको र पेरुमा आक्रमण गरे । ब्रिटिसहरूले विभिन्न देशमा कब्जा जमाए, त्यहाँ रोग फैलाए, कुपोषण गराए, मान्छे मारे, बलात्कार गरे, बालहत्याहरू गरे । हिटलरलाई नै लिनुस् वा रुवान्डालाई नै लिनुस् अथवा पछिल्ला पश्चिम एसियाका लडाइँहरू हेर्नुस् । यस्तो चेतनालाई मभेम्बेडेले म्याक्रो पोलिटिक्स भनेका छन् । अर्थात्, मेरो संस्कृतिका लागि यी मान्छेहरूको बाँच्ने अधिकार छ र अरूहरूको बाँच्ने अधिकार छैन ।

भारतमै हेर्दा मोदीको शासनकाल सुरु भएयता स्पष्ट धार्मिक विभाजन भएको छ । विभिन्न ठाउँमा धार्मिक टकरावहरू भएका छन् । मेरो धर्म ठीक, तेरा धर्म गलत भन्ने भावना सामूहिक भावनामा किन परिणत हुन्छ ?

अज्ञानताको भारले हामीलाई धेरै थिचेको छ । त्यो भार लिएर हिँड्दा तल मात्रै देखिन्छ, मानिसले टाउको उठाउन सक्दैन, आफ्नो खुट्टा मात्र देखिन्छ, सीमित सडक मात्रै देखिन्छ । धर्म र संस्कृतिलाई संकीर्ण रूपमा हेर्नेहरूमा यो अज्ञानताको भार धेरै भएको छ । मान्छे त्यसबाट मुक्त हुनै पाएको छैन । झन् धार्मिक वा जातीय उन्मादले गर्दा मानिसहरू त्यो भार बोकेर हिँडिरहेका छन् ।

यसलाई राजनीतिले कसरी मलजल गरिरहेको छ ?

धर्म वा जातको संकीर्णतालाई संसारभर शासनसत्ता चलाउनेहरूले प्रयोग गरेको देखिन्छ । अमेरिका होस् वा ब्राजिल अथवा भारत, जहाँ पनि धर्मलाई शासन टिकाउने हतियारको रूपमा प्रयोग गर्न खोजेको देखिन्छ । यस्तो अभ्यासले विभेद बढाइरहेको छ, यस्तो असमानताले नराम्रो भइरहेको छ, हिंसा बढाइरहेको छ, आक्रामकता बढाइरहेको छ भन्ने थाहा नभएको होइन । दक्षिण एसियामा पनि धार्मिक र जातीय भिन्नता र विविधताको प्रयोग राजनीतिकर्मीहरूले आफ्नो शासन टिकाउन मात्रै गरिरहेका छन् । यसको सबैभन्दा बढी प्रयोग संसदीय राजनीतिले गरिरहेको छ ।

संस्कृति गतिशील हुन्छ भनिन्छ । संस्कृति गतिशील हुन्छ भने यो परिवर्तनशील पनि हुन्छ ? नेपालमा भइरहेको सांस्कृतिक परिवर्तनलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?

औपनिवेशिक सिद्धान्तका एक लेखक छन्— होमी के भाभा । उनले सांस्कृतिक विचित्रता अर्थात् कल्चरल डाइभर्सिटी र सांस्कृतिक विभिन्नतामा फरक छ भनेका छन् । सांस्कृतिक विचित्रता भनेको ज्ञानको वस्तु हो । अर्थात्, मलाई त्यो संस्कृतिको बारेमा जान्नु छ, बुझ्नु छ । यो विचित्रताको कुरा हो । सांस्कृतिक विभिन्नता भनेको उपदेश र आदेशात्मक भनाइ हो । यसले जहिले पनि तुलना गर्छ, जहिले पनि उपदेश दिन्छ । जस्तो— मेरो धर्म यस्तो छ भनेर प्रवचन दिनेहरू । नेपाल र भारतमा यस्तो देखिन्छ । सांस्कृतिक विचित्रताभन्दा सांस्कृतिक विभिन्नताको कुरा सतहमा प्रकट हुँदै गइरहेको देखिन्छ ।

संस्कृति र धर्मका बारेमा सोच्ने र बुझ्ने सवालमा नेपालमा केही परिवर्तन भइरहेको देख्नुहुन्छ ?

अन्यत्रजस्तै यहाँ पनि विविधतालाई बुझ्न नसक्ने, विभिन्नतालाई मात्रै बुझ्ने दृष्टिकोणको विकास भइरहेको छ । जबकि विविधता र विभिन्नता फरक कुरा हो । नेपालको परिप्रेक्ष्यमा हेर्दा, नेपाल धर्मनिरपेक्षतामा किन गयो ? यस्तो घोषणापछि एकाधबाहेक अधिकांश मानिस खुसी पनि थिए । घोषणा गर्दा एकाधबाहेक विरोध पनि भएन । नेपालीमा विकास भएको प्रजातान्त्रिक सोच वा विविधताप्रतिको सम्मान वा यसप्रतिको उन्मुक्त विचारका कारण यस्तो भएको थियो । तर जनआन्दोलनपछिको प्रक्रियाका विविधतालाई सम्मान गर्ने दृष्टिकोणहरू कमजोर हुँदै गए अनि विभिन्नताको कुरा बढ्दै जान थाल्यो । यस्तो नेपालमा मात्रै भएको पनि होइन । यो दक्षिण एसियाकै साझा समस्या हो । जति विभिन्नता देखाइयो, त्यति एउटा पक्षलाई फाइदा हुन्छ । त्यो फाइदाका लागि निश्चित मान्छेले जे पनि उपाय वा रणनीति लगाउन सक्छ । यसमा अर्को कुरा पनि छ ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

मेरो संस्कृतिलाई बिगार्ने अरू संस्कृति आइरहेका छन् भन्ने एउटा डर पनि छ । तर संस्कृति भनेको गतिमान हुन्छ । गतिशीलताका कारण संस्कृति बनेको हुन्छ । अर्को, संस्कृतिको प्रभाव हुन्छ, मिश्रण हुन्छ, फरक कुराहरू जन्मिन्छन्, पुराना कुराहरू हुँदैनन् । धर्म पनि यस्तै हुन्छ । विभिन्नताले गर्दा मान्छेभीत्र डर पैदा भएको छ; डरलाई थप उत्तेजित पार्ने, डरलाई थप सहयोग गर्ने राजनीतिक र धार्मिक संस्थाहरू छन् । डर त सबैमा छ । मेरो देश बिगार्छ, मेरो धर्म–संस्कृति बिगार्छ भन्ने डर सबैमा छ । तर यो डरलाई जसले प्रयोग गर्न सक्छ, त्यो राजनीतिक संस्था नै हो । अर्को भनेको धार्मिक संस्था हो ।

एकातिर विश्वव्यापीकरणको संस्कृति फैलिँदै गएको छ, उपभोक्तावादी संस्कृतिले बढावा पाइरहेको छ, अर्कोतिर मेरो धर्म, मेरो संस्कृति, मेरो पहिचान भन्ने सोच पनि बढ्दै गइरहेको देखिन्छ । यस्तो विरोधाभासलाई कसरी बुझ्ने ?

प्यालेस्टाइनका लेखक एडवर्ड सइदले एक ठाउँ भनेका छन्, ‘मसँग पहिचानको कुरा नगर्नुस् । यो बडो बोरिङ हुन्छ ।’ मेरो पहिचान के हो ? मेरो पहिचानमा त एकरूपता छैन । मेरो पहिचानमा यति विचित्रता छ, त्यसैले मसँग पहिचानको कुरा नगर्नुस् । पहिचानको कुरा गर्नेबित्तिकै समस्या सुरु हुन्छ । मेरा पुर्खाहरू बंगलादेशबाट भारतमा बस्दै राणाकालमा नेपाल आएका थिए । सुरुमा तराईमा बसे, पछि काठमाडौंमा बसे । मेरो परिवारका केही सदस्यको बिहे पहाडे संस्कृतिवालासँग पनि भएको छ । घरमा कहिलेकाहीँ बंगाली बोलिन्छ । म कहिलेकाहीँ तराईको अवधी भाषा बोल्छु, कहिलेकाहीँ हिन्दी पनि बोल्छु, अंग्रेजी पनि बोल्छु । मेरी छोरीले पहाडे केटासँग बिहे गरेकीले उसका छोराछोरी नेपालीमा कुरा गर्छन्, बंगालीमा कुरा गर्छन् । म पहिचानको खोजीमा बस्दिनँ । पहिचानको खोजीमा बस्नु भनेको एकरूपता हो । मेरो पहिचानमा विचित्रता छ । मेरो पहिचान फरक–फरक छ । क्रिकेट हुँदा म कहिलेकाहीँ पाकिस्तानलाई पनि समर्थन गर्न सक्छु, फुटबल हुँदा म अर्जेन्टिना र ब्राजिलसँग कुनै सम्बन्ध नहुँदा पनि अर्जेन्टिना र ब्राजिलको सर्मथन गर्छु, नेपालको गर्दिनँ । यो सांस्कृतिक विविधताको कुरा हो । इङ्ल्यान्डमा बस्ने कतिपय भारतीय मूलका मानिसहरू त्यहाँको नागरिक भइसक्दा पनि क्रिकेट प्रतियोगिता हुँदा इङ्ल्यान्डको समर्थक नबनेर भारतको बन्छन् । पहिचानले मानिसलाई सीमित बनाउँछ ।

धर्म र संस्कृतिमा एउटा समूहले कट्टरताको कुरा गरिरहेको देखिन्छ । यस्तो कुरा भारतमा अहिले बढी नै भइरहेको देखिन्छ । यो नेपालमा छिरेजस्तो लाग्दैन ?

मैले काठमाडौंका देवीहरूबारे ‘गडेस अफ काठमान्डु भ्याली’ किताब लेख्दा र पछिल्लो किताब ‘संस्कृति चिन्तन’ लेख्दाखेरि मेरो दिमागमा जहिले पनि नेपालका चाडपर्वहरू, हिन्दु र बुद्ध कला र संस्कृति, विचारहरू हुन्छन् । काठमाडौं उपत्यकामा धार्मिक होइन, मिथकीय संवेदना धेरै छ । मिथकरूपी संवेदना संस्थागत हुँदैन र यो कट्टरपन्थी पनि हुँदैन । मिथकीय चेतना निर्दोष हुन्छ, कहिलेकाहीँ अलौकिक पनि हुन्छ । केही कृषि सम्बन्धी, केही भूमि सम्बन्धी, केही पहाड र नदी सम्बन्धी हुन्छ । मिथकीय संवेदना संस्थागत हुँदैन । आधिकारिक धर्महरू कट्टर हुन्छन् । यसले यो ठीक र त्यो बेठीक भन्छ । धर्मले विभाजन गर्छ ।

मिथकीय संवेदना काठमाडौं उपत्यकामा धेरै छ, नेवार संस्कृतिमा धेरै चाडपर्व भएकाले पनि यस्तो भएको हो । उपत्यकामा गणेशलाई मासु चढाउने परम्परा पनि छ । जबकि गणेश वैष्णवका देवता हुन् । यो विविधता यहाँ छ । काठमाडौंको सांस्कृतिक चरित्र मिथकीय भए पनि यो परम्परा संस्थागत भइरहेको छैन । धार्मिक प्रवृत्तिमा जति परिवर्तन हुँदै जान्छ, कट्टरता त्यति नै बढ्दै जान्छ । संस्कृतिलाई कलाको दृष्टिकोणबाट, मिथकको दृष्टिकोणबाट हेर्दा धेरै मुक्ति मिल्छ; धार्मिक दृष्टिकोणबाट हेर्दा मैले जहिले पनि संकीर्णता मात्रै पाउँछु ।

धार्मिक कट्टरताले सांस्कृतिक गतिशीलतालाई कसरी अवरोध गर्छ ?

धर्म एकदमै शक्तिशाली संस्था हो । धर्मले राजनीति, शिक्षा, मानिसको दिन–प्रतिदिनको व्यवहारलाई खाइदिन सक्छ । धर्ममा राम्रो शक्ति छ, तर नराम्रो कुरा पनि यसैबाट लिन सकिन्छ । जोन मिल्टनको पुस्तक ‘प्याराडाइज लस्ट’ मा एउटा राक्षसले भन्छ— मानिसहरू त बडो निकृष्ट छन्, मानिसहरू प्रकृतिबाट केही लिन सक्दैनन् । हामीहरू यति तगडा छौं कि, हामीसँग प्रकृतिबाट नकारात्मक कुरा लिने क्षमता छ । हामी छानीछानी नकारात्मक कुरा लिन्छौं । तर मानिसहरू प्रकृतिबाट न सकारात्मक कुरा लिन्छन्, न नकारात्मक कुरा । मानिसहरू कमजोर छन् । त्यसैले म बलियो छु । धर्मले पनि प्रकृतिले जस्तो सकारात्मक, नकारात्मक दुवै कुरा दिन सक्छ । तर हाम्रो प्रवृत्ति नकारात्मकतालाई लिने भयो । धर्म त ठूलो संस्था हो; हिन्दु होस् कि बौद्ध, क्रिस्चियन होस् कि इस्लाम वा सिख वा अरू जुनसुकै । यति ठूलो संस्था र विचारबाट मानिसले आफ्नो स्वार्थका लागि जे पनि लिन सक्छ । त्यो नै समस्या हो ।

असहिष्णुता मानिसको व्यवहारमा कसरी विकास हुन्छ ? आफूलाई उच्च ठान्ने, अरूलाई नीच ठान्ने चेतना मानिसमा कसरी विकास हुँदै संस्थागत हुन्छ ?

केही साताअघि म दिल्ली गएका बेला बंगलासाहिब गुरुद्वारामा पुगें । त्यहां पूरै शान्ति थियो । कसैले कसैलाई डिस्टर्ब गरिरहेको थिएन । कुनै राम्रो धार्मिक गीत बजिरहेको थियो । बीचमा ठूलो धार्मिक ग्रन्थ थियो । त्यो ग्रन्थ नै उनीहरूको पूजनीय वस्तु हो । तर त्यही किताब हतियारका रूपमा पनि उपयोग हुन सक्छ । यो एउटा उदाहरणका सन्दर्भमा भनेको हुँ । धर्म यति शक्तिशाली छ । धर्मको किताबलाई हतियारका रूपमा पनि उपयोग गर्न सकिन्छ, त्यही किताबलाई पूजाका रूपमा पनि प्रयोग गर्न सकिन्छ । हामीमा धर्मलाई हतियारको रूपमा लिने प्रवृत्ति बढी भएको छ । मानिसहरू अरू धर्म वा संस्कृतिका राम्रा कुरा गर्नै पनि खोजिरहेका देखिन्नन् । अरू संस्कृति, धर्म वा ग्रन्थप्रति मानिस अन्धो नै भइसकेका छन् । एउटा किंवदती छ, औरंगजेबको । ऊ आफूलाई शिक्षा दिने मौलबीलाई भन्छ, ‘मलाई पढाउँदाखेरि तैंले जहिले पनि राम्रो दार्शनिक को छ भनेर सोध्दा हजुरको पुर्खा नै थिए, राम्रो लेखक–कवि को छ भन्दा हजुरकै मुगल साम्राज्यमा छन् भनेर पढाइस् । म ठूलो भएपछि ग्रीस र चीनको धर्म–संस्कृतिको कुरा पनि पढें । ठूलठूला दार्शनिक अरू धर्म र अरू देशमा पनि रहेछन् त । तर तैंले मलाई सधैं जे पनि राम्रो सोध्दा मुगल साम्राज्यमै छ भनिस् । मौलबी, तैंले मलाई अन्धो बनाएर राखिछस् । तैंले मलाई धेरै अज्ञानी बनाइछस् ।’ यो किंवदन्ती कुन कुरालाई मानिसले कसरी बुझ्छ भन्ने बुझाउन काम लाग्छ ।

असहिष्णुता कुनकुन सामाजिक तत्त्वले बढाउँछ ? यसमा राजनीतिको भूमिका कति हुन्छ ? धर्मको भूमिका कति हुन्छ ?

मलाई त के लाग्छ भने, यो सब अध्ययनको कमीले गर्दा भइरहेछ; अरूको बारेमा नजान्ने प्रवृत्तिले गर्दा भइरहेछ । अरू जाति, अरू धर्म, अरू संस्कृतिको बारेमा जति बुझिन्छ, जति जानिन्छ, असहिष्णुता त्यति नै घट्दै जान्छ । अध्ययनले बुझ्ने क्षमता बढाउँछ । खोजले नयाँ कुरा सिकाउँछ । अरू संस्कृति, अरू धर्म, अरू जाति र अरू मान्छेका रीतिरिवाजबारे जति खोज हुन्छ, मान्छेमा उति नै शान्त भाव विकास हुन्छ । असहिष्णुताको एउटा लक्षण हो— आफ्नोबाहेक अरू केही नदेख्नु । मैले अघि पनि भनें नि, अज्ञानताको भारले गर्दा मानिसले सीमित मात्रै देख्छ । दक्षिण एसियामा असहिष्णुता बढ्नुको अर्को कारण जति पनि नेता छन्, धार्मिक होऊन् कि राजनीतिक वा मिडियाका नेता, उनीहरूको सबैभन्दा धेरै रिस विश्वविद्यालयमाथि हुनु हो । यस्तो प्रवृत्ति अमेरिकामा पनि देखिन्छ । पढ्नेहरूमाथि सबैभन्दा धेरै रिस छ । किताब पढ्यो भने रिस उठ्छ । कसैले जान्ने कुरा गर्‍यो भने रिस उठ्छ । विश्वविद्यालयमा आफ्ना छोराछोरीलाई नपढाएर सुखै छैन, तर पनि सबैभन्दा धेरै रिस शिक्षाप्रति नै छ । मैले यसपाला दिल्ली जाँदा इस्लामिक संस्कृतिबारे जान्न खोजें ।

कुतुब मिनारदेखि ताज महलसम्म र शिखको गुरुद्वाराबारे जान्न खोजें । मसँग जवाहरलाल नेहरू विश्वविद्यालयमा प्राचीन इतिहासकी प्रोफेसर महालक्ष्मी बतब्याल पनि थिइन् । कुतुब मिनारमा नवग्रह र गणेशको चित्र पनि थियो । मैले सोधें, ‘कुतुब मिनारमा यो कसरी आयो ?’ उनले भनिन्,, ‘यही कुरा त हिजोआज मानिसहरू बुझ्दैनन् । एउटा शासकले नयाँ ठाउँमा विजय हासिल गरेपछि विजयपताका फहराउन केही बनाउँछ भने त्यो उसले स्थानीय कला, संस्कृति र स्थानीय मानिसलाई इज्जत दिएको हो । त्यसैले कुतुब मिनारजस्ता स्मारकमा इस्लामिक कला मात्रै छैन, बुद्धिस्ट र हिन्दुसँग जोडिएका कलाहरू पनि छन् । तर अहिले यसलाई भत्काउनुपर्छ भनिन्छ, किनकि यसमा नवग्रह छ । यो हाम्रो हो, यसमा गणेशको मूर्ति र हिन्दुहरूको मूर्ति भएको हुनाले यो मुसलमानहरू आएर बिगारेर आफ्नो बनाएका हुन् । तर यो त होइन । कुनै पनि आक्रमणकारीले विजय हासिल गरेपछि उसले स्थानीय कुरालाई पूरै नकार्न त सक्दैन नि ! किनकि उसलाई त शासन गर्नु छ ।’ मुगलले त्यसभन्दा पहिला पनि धेरै सय वर्ष शासन गरे । उनीहरूले स्थानीय कला–संस्कृतिलाई सम्मान गरेरै शासन टिकाए । अहिले त कुनै पनि अर्को धर्मको केही कुरा देखियो भने, यो हाम्रो धर्म नष्ट गरेर बनाएको हो भन्ने भनाइ आउँछ । हामीमा असहिष्णुता यति धेरै छ कि, अर्को धर्मको थोरै कुरा पायौं भने पनि मेरो धर्मलाई खत्तम गर्‍यो भनिहाल्छौं ।

हाम्रा राजनीतिक दलका नेताहरूमा सांस्कृतिक चिन्तन फराकिलो नभएर पनि उनीहरूले असहिष्णुतालाई मलजल गरिरहेका हुन् कि ?

संस्कृतिलाई धेरै संकुचित रूपमा लिइयो । संस्कृतिलाई संकुचित रूपमा लिँदा मलाई यति प्रतिशत मानिसहरूले भोट हाल्छन् भन्न पाइन्छ । तर यसले पुस्तौंपुस्तालाई बिगारिरहेको छ । एक युवाले एक दिन मलाई सुनाए, ‘म हिन्दु भएकोमा गर्व गर्छु ।’ मैले उनलाई सोधें, ‘तिमी यसभन्दा अघि गर्व गर्दैनथ्यौ र एक्कासि गर्व गर्न थाल्यौ ?’ उनले भने, ‘त्यस्तो होइन । मैले हिन्दु धर्मबारे धेरै कुरा बुझ्न थालेको छु ।’ मैले उनलाई थप सोधें, ‘त्यसो भए तिमी हिन्दु धर्मबारे मलाई दस मिनेटमा केही बताऊ ।’ यो प्रश्नमा भने उनी चुप रहे । मैले भनें, ‘तिमी जे कुरामा गर्व गर्छौ, त्यो विषयमा त तिमी आधा घण्टा बोल्न सक्नुपर्छ । ल ठीक छ, दस मिनेट बोल्दैनौ भने दुई मिनेट भए पनि बोल ।’ मैले यति भन्दा पनि उनी केही बोलेनन् । अहिले धर्म नै एक किसिमको राजनीतिक टुल भइदिएको छ । तपाईंसँग भन्नलाई केही शब्द मात्रै छन्, तर त्यसैका आधारमा तपाईं हिन्दु भएकोमा वा क्रिस्चियन वा इस्लाम वा बौद्ध भएकोमा गर्व गर्नुहुन्छ । केको गर्व गर्ने ? विचारको कि रीतिरिवाजको गर्व गर्ने ? त्यो त जान्नुपर्‍यो नि ! मान्छेहरू केही शब्द छोड्छन्, आत्मसन्तुष्ट हुन्छन् ।

के धार्मिक अवधारणाबिना पनि मानवीय संसारको वा क्रियाकलापको विवेचना हुन सक्छ ?

म जन्मले हिन्दु हुँ तर म कुनै पनि धर्मको अभ्यासकर्ता होइन । मैले त हिन्दु र बुद्ध धर्मको कला पक्षको बारेमा सोच्छु, लेख्छु । मलाई लाग्दैन कि धर्मको बुटीले मात्रै मलाई राम्रो मान्छे बनाउन सक्छ । मार्क्सवादले पनि राम्रो वा नराम्रो बनाउन सक्दैन, धर्मको बुटीले पनि सक्दैन । धर्म एउटा ठूलो बुटी हो । तपाईं धार्मिक हुनुभयो भने मात्रै राम्रो हुनुहुन्छ र हुनुभएन भने हुँदैन भन्नेमा म विश्वास गर्दिनँ । राम्रो नेपाली हुन मलाई हिन्दु धर्म नै बोक्नुपर्छ भन्ने छैन । राम्रो नेपाली हुन एउटै नेपाली भाषा बोल्नुपर्छ भन्ने छैन । म बहुभाषिक हुन सक्छु । बहुधार्मिक हुन सक्छु ।

म कुनै धर्मको विकृति नमान्न सक्छु । म बहुसांस्कृतिक हुन सक्छु । धर्मले धेरै प्रेस्क्रिप्सन दिन थाल्यो भने त्यसले बिगार्न थाल्छ । संस्थागत रूपमा हेर्ने हो भने, धर्म त दुईतीन हजार वर्षदेखि मात्र आइरहेको छ, मानिसहरू त्यसभन्दा अघि पनि मिलनसार र परोपकारी थिए । एउटा नयाँ किताब आएको छ डेभिड ग्र्याबर र डेभिड वेन्ग्रोको ‘द डन अफ एभ्रिथिङ : अ न्यु हिस्ट्री अफ ह्युम्यानिटी’, जसमा मानिसहरू पहिले पनि सहिष्णु थिए भन्ने कुरा छ ।

संस्कृतिलाई मानव समाजको खास सम्पत्ति भनिन्छ । त्यो सम्पत्ति आर्जन हुने खास कारण र आधारहरू के हुँदा रहेछन् ?

संस्कृति बुझ्ने एउटा मार्क्सवादी धार छ, जुन मलाई मन पर्छ । नेपाली समाजले जे प्रोडक्सन गर्छ, त्यो खुकुरी होस् वा दसैं वा जिन्स, नेपाली समाजले त्यसलाई लिएर कस्तो व्यवहार गर्छ, त्यही हो संस्कृति । त्यसैबाट भाषा निर्माण हुन्छ । संस्कृति भनेर हामीले के उत्पादन गर्‍यौं ? ज्ञान, भाषा उत्पादन गर्‍यौं कि सडक बनायौं कि ? वा गुन्द्रुक उत्पादन गर्‍यौं कि ? खानेदेखि लिएर अरू जे पनि उत्पादन गरेका छौं, त्यसले हामीलाई कस्तो व्यवहार गर्न सिकाउँछ, त्यही नै हो संस्कृति । यदि धर्म नै हाम्रो सबैभन्दा ठूलो प्रोडक्सन हो वा हामीले लेखेको ग्रन्थ नै सबैभन्दा ठूलो प्रोडक्सन हो, त्यसबाहेक केही होइन भन्छौं भने त्यस बेला संस्कृति संकटमा हुन्छ ।

हाम्रो भनिने संस्कृतिलाई कसरी व्याख्या गर्ने ?

संस्कृतिलाई डिफाइन गर्नु नै खास समस्या हो, यसका लागि शब्दै हुन्न । संस्कृति भनेको बेलाबेला रूप परिर्वतन गर्ने जेली फिसजस्तै हो । संस्कृति पहिचानसँग सम्बन्धित छैन । त्यसैले म सधैं भन्छु— संस्कृति जहिल्यै धरापमा हुन्छ, निर्माण हुन्छ, भत्किरहन्छ; त्यसमा एकरूपता नै हुँदैन । यो मेरो संस्कृति, यो तिम्रो संस्कृति भन्नै सकिँदैन ।

नेपाली समाजको सय वर्षभन्दा लामो समय हेर्‍यौं भने हामी संकुचित अवस्थामै रह्यौं । राणा शासन र पञ्चायतले हामीलाई संकुचित बनाइराख्यो । २०४६ पछि मात्रै हामीले बाहिरी संसार देख्न थाल्यौं । तर पनि हामीकहाँ भारत, श्रीलंका वा म्यानमारमा जस्तो फरक धर्म वा संस्कृतिलाई लखेटिहाल्ने व्यवहार देखिइसकेको छैन । यसका पछाडि केही कारण देख्नुहुन्छ ?

भारतीय पत्रकार सिद्धार्थ वर्द्धराजनले नेपाल आउँदा भनेका थिए, ‘नेपालमा डेमोक्रेटिक सेन्सिबिलिटी दक्षिण एसियाका अरू राष्ट्रमा भन्दा बढी छ ।’ मलाई लाग्छ, हामीमा केही संवेदना छ; सबैभन्दा ठूलो संवेदना कला र मिथकीय संवेदना हो, त्यसैले डेमोक्रेटिक सेन्सिबिलिटी छ । जेन्डरप्रति, अरू धर्मप्रति जुन सहिष्णुता छ, त्यो हामीसँग जरोमै छ । त्यो स्पष्ट रूपमा देखिन्छ । सहिष्णुताको कारण भन्न गाह्रो छ । एउटा कारण हो— औपनिवेशिक भिन्नताका विचारहरूले धेरै प्रभावित गरेनन् नेपाललाई । औपनिवेशिकता झेलेका देशहरूले आधुनिकता लिए, केही कुरा दिए पनि । तर नेपालको सन्दर्भमा हेर्ने हो भने हामीले यस्तो अवस्था भोग्नुपरेन । समयसापेक्ष केही विशेषता नेपाली समाजले अँगालेर राखिराख्यो । हामीकहाँ जुन खालको सांस्कृतिक विविधता छ, त्यो अचम्मलाग्दो छ । हामीसँग बीभत्स स्वरूपका देवीदेवता पनि छन्, यौन सम्बन्धी देवीदेवता पनि छन् । योग सम्बन्धी देवीदेवतादेखि तान्त्रिक देवीदेवता र बौद्धसम्म छन् । ती सबैलाई सम्मान गरिन्छ, सबैलाई मानिन्छ । नेपाल धार्मिक भए पनि यहाँ कला र मिथकीय संवेदना धेरै छ ।

अबको राजनीतिले हाम्रो सहिष्णुता वा उदारता वा खुला सोचलाई जोगाएर लैजान सक्छ होला ? वा, मुद्दाको राजनीति छोडेर नेपाली समाज धर्मको राजनीतिमा जान्छ कि ? यस विषयमा तपाईंलाई कत्तिको डर लाग्छ ?

मलाई डर लाग्छ । म धेरै आशावादी पनि छैन । राजनीतिक परिवर्तनले मात्र हुँदैन । शिक्षित चेतना जबसम्म आउँदैन, यो परिर्वतनले हामीलाई कतै पुर्‍याउनेवाला छैन । तपाईं लिबरल कुरा गर्नुस्, तपाईंलाई गाली मात्र बर्संदैन, चोट पनि पुग्न सक्छ । त्यसैले संसारको धारै त्यता गइरहेको छ । समाजको स्वरूप बिगार्ने नै राजनीतिक संस्थाहरू हुन् । यी संस्था बलिया छन्, प्रभावशाली छन्, यिनीहरूको विरुद्धमा हाम्रा विश्वविद्यालय वा अन्य संस्था जानै सक्दैनन् । स्टेफेन हकिङ्सले भनेका छन्, ‘केही सय वर्षभित्र मानव प्रवृत्ति नै फेरिनेछ ।’

सहिष्णुता जोगाउँछु भनेर जोगाउन सकिँदैन । त्यो गई नै हाल्छ । जसले विभेद गर्छन्, उनीहरूकै शासन चल्छ भन्ने लाग्छ । हरेक दिन हरेक देशमा असहिष्णु, रिस, आक्रामकता जन्मिरहेको छ । त्यसमा केही इकोलजिकल कारण छ, टक्सिक वातावरण छ, प्रदूषण छ । बढ्दो गरिबी छ, खानपिन ठीक छैन । केमिकलले हामीलाई ध्वस्त बनायो । विषाक्त खाना खाइरहेका छौं । सबै हिसाबले हेर्दा हामी असहिष्णुताको बाटोतिर गइरहेका छौं । आशावादी हुनु ठीक छ, तर मलाई डर बढी छ ।

घृणा र उत्तेजनालाई डिजिटल दुनियाँले पनि बढाइरहेका छन् नि, हैन ?

डिजिटल दुनियाँले घृणा र उत्तेजना धेरै नै बढाइरहेकै छ । र, त्यो फैलिरहेकै छ । मैले पढाएको मेरो एक विद्यार्थी, जो सबै धर्मलाई सम्मान गर्थ्यो, उसले पनि नराम्रो शब्दमा सोसल साइटमा अर्को धर्मप्रति रिसराग पोखिरहेको देखें । ऊ र ऊजस्ता अरू विद्यार्थी कसरी र किन यस्ता हुँदै छन्, म सोचिरहेको छु । बंगलादेशका एक प्रोफेसर छन्, कैसर हक । उनी भन्छन्, ‘शान्तिको विषयमा हामी कन्फरेन्स गर्न सक्छौं, तर शान्तिको कुरा समाजले मतलब गर्दैन ।’ अर्थात्, हामी शान्तिबारे रिसर्च गर्न सक्छौं वा लेख लेख्न सक्छौं, तर समाजले शान्तिको विषयमा चिन्ता गर्न छोड्यो ।

प्रकाशित : भाद्र १७, २०८० ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×