अन्तर्वार्ता

‘अपराध अनुसन्धानमा पदसँग सरोकार हुँदैन’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रपञ्च गरेको आरोपमा ३३ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरीले निकालेको छ । अहिले राज्यविरुद्धको अपराध, संगठित अपराध र ठगीमा मुद्दा चलाउन सिफारिस गरेको प्रहरीले अनुसन्धान भने जारी राख्ने भएको छ ।

नयाँ तथ्य फेला परे मुद्दा थप्ने र नयाँ व्यक्ति जोडिए मुद्दा लगाउने विकल्प खुला राखेको छ । यसै विषयमा आधारित भएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीसँग गरिएको संक्षिप्त अन्तर्वार्ता :

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान कसरी सुरु भयो ?

गत वर्ष जेठ १८ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी परेको थियो । त्यसपछि यो विषयमा अनुसन्धान अघि बढेको हो । तथ्य र प्रमाण हात लागेपछि अपराधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएका हौं ।

अभियुक्तहरू कसरी पक्राउ परे ?

यस अपराधमा संलग्न व्यक्तिहरूलाई लामो समयको प्रत्यक्ष निगरानी, अन्य मुख्य अभियुक्तहरूसँगको सम्पर्क र अपराधमा संलग्नता यकिन गर्‍यौं । प्रमाणसमेत एकीकृत गरी त्यसमध्येका तीन जनालाई गत चैत १२ मा पक्राउ गर्‍यौं । त्यसपछि अघि बढेको अनुसन्धान अहिलेको अवस्थासम्म आइपुगेको हो । हामीले प्रारम्भिक अवस्थामै यस अपराधको गाम्भीर्यतालाई मनन गरी अनुसन्धानको बलियो आधारशिला तयार पारेका थियौं । यस किसिमको गम्भीर प्रकृतिका अपराधविरुद्धको कारबाही प्रहरीप्रतिको विश्वाससँग जोडिने भएकाले पनि प्रभावकारी र सशक्त रूपमा गरिएको हो । यसले प्रहरीप्रतिको आमविश्वाससमेत बढाएको पाएका छौं ।

गृहमन्त्री र गृह सचिव भइसकेका व्यक्तिलाई नै पक्राउ गर्दा अनुसन्धानमा कत्तिको चुनौती थपियो ?

अपराध अनुसन्धानमा तथ्य र प्रमाणका आधारमा कारबाही अघि बढ्ने भएकाले व्यक्ति र पदसँग सरोकार हुँदैन । पीडितलाई न्याय दिने पक्ष मात्र सबैभन्दा महत्त्वपूर्ण हुन्छ । अभियुक्तहरूको पक्राउ चुनौतीपूर्ण हुने भएकाले उच्च सतर्कता र संवेदनशीलतासहित कारबाही गरिएको हो ।

अब यो अनुसन्धान प्रक्रिया यतिमै सकिन्छ कि निरन्तर अघि बढ्छ ?

थप प्रमाणका आधारमा यसको अनुसन्धान पछि पनि खुला रहन्छ । पक्राउ परेका प्रतिवादी र अन्य व्यक्तिको हकमा उपलब्ध प्रमाणका आधारमा थप कसुरसमेत स्थापित भई अनुसन्धान र कारबाही हुन्छ ।

सम्बन्धित समाचार

प्रतिवेदन बुझाए पनि अनुसन्धान निरन्तर

प्रकाशित : जेष्ठ ९, २०८० ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्

खानेपानी अभाव टार्न लिफ्ट प्रविधिका योजना

मिटर जडान, जीपीआई पाइपलाइन विस्तार, ट्यांकी निर्माण र मुहान मर्मत हुँदै
वीरेन्द्र केसी

अर्घाखाँची — यहाँस्थित ठूलापोखराका ज्ञानप्रसाद पाण्डे ०४८ सालमा उपभोक्ता समितिको उपाध्यक्ष भएर गाउँमा खानेपानी योजना सम्पन्न गर्ने काम गरे । उपल्लो टिकुरे मुहानबाट गाउँसम्म आठ किलोमिटर आयोजना ३० लाख रुपैयाँ लगानीमा एकै वर्षमा सम्पन्न भएर गाउँमा पानीका धारा खसेको थियो । टोलका धारामा पानी थापेर गाग्रीमा घरमा ल्याउन पाउँदा स्थानीय खुसी थिए ।

तत्कालीन ठूलापोखरा गाउँ विकास समितिका ९ वटा वडाभित्र त्यतिबेला घरधुरी संख्या ७ सय ५० थियो । अहिले घरधुरी ९ सय ८० पुगेको छ । उतिबेला सबैलाई पुगेको खानेपानी अहिले नपुगेर लिफ्ट प्रविधिका योजना सञ्चालन छन् । ‘पानी नपुग्नुको कारण घरधुरी बढेर होइन,’ ७२ वर्षीय पाण्डेले भने, ‘त्यति बेला पिउने पानीको धारामा कपडा धुन हुँदैन भन्ने नियम थियो । पाइखानामा एक लोटा पानीले पुग्थ्यो, गाउँमा मेलापातको काममा व्यस्त हुँदा महिनामा एक पटक नुहाउने र कपडा धुने गरिन्थ्यो ।’ अहिले दैनिक नुहाउने, धारामा ब्रस गर्ने, कपडा धुने गर्छन् । घरधुरी संख्या बढे पनि जनसंख्या उस्तै छ ।

अन्यत्र पानीका मुहान सुक्दै गए पनि ठूलापोखरा गाउँमा पानी आएको टिकुरे मुहान सुकेको छैन । खानेपानीको अभाव टार्न ०४८ को चुनावमा निर्वाचित सांसद रेवतीप्रसाद भुसालले जिल्लाकै ठूलो योजना ठूलापोखरामै पार्न पहल गरेका थिए । धाराको पानी घरमा लगेर सुरक्षित राख्ने, खनजोत मेलामा जाँदा लगेको पानी खाएर सकिएन भने घरमै फिर्ता ल्याएर गाग्रीमा राख्थे । अहिले त्यस्तो कसैले नगर्ने उनले बताए । पानी आएपछि जगमा लगेर बेर्नामा राखिन्थ्यो । ‘पानीको बडो जगेर्ना गरिन्थ्यो,’ उनले भने, ‘अहिले धेरै प्रयोग भएकै कारण अभाव भएको हो ।’ पाण्डे ०४३ देखि ०४६ सम्म ठूलापोखरा गाउँ पञ्चायतको प्रधानपञ्च थिए भने बहुदल आएपछि वडा नम्बर ४ को वडाध्यक्ष भएर काम गरे । नयाँ संरचनाअनुसार ठूलापोखरा अहिले छत्रदेव गाउँपालिका–६ मा पर्छ ।

उतिखेर राष्ट्रिय योजनाअन्तर्गत सम्पन्न भएको खानेपानी गाउँमा निःशुल्क वितरण भएको थियो । त्यो पानीलाई अब गाउँलेले मासिक शुल्क तिरेरै प्रयोग गर्न पाउनेछन् । ‘सुरुदेखि अन्तिम घरसम्म पुग्दा बीचमा पानी चोरी भयो, पाइपमा प्वाल पारेर, पाइप काटेर दुरुपयोग भएर अन्तिम टोलबस्तीका घरले पानी पाएनन्,’ वडाध्यक्ष कमल पौडेलले भने, ‘अब पूरै नियन्त्रण गरेर सबैलाई एकै तरिकाले वितरण गर्न लागेका छौं ।’ प्रत्येक घरमा मिटर प्रणाली लागू हुनेछ । त्यसका लागि छत्रदेव गाउँपालिकाले गत वर्ष १ करोड रुपैयाँ बजेटबाट स्ट्रक्चर निर्माण र यो आर्थिक वर्षको १ करोडबाट मिटर जडान, जीपीआई पाइपलाइन विस्तार, ट्यांकी निर्माण र मुहान मर्मत गरिने उनले बताए । यस्तो गरेपछि सबै उपभोक्ताका घरमा समान ढंगबाट पानी उपलब्ध हुन्छ । चोरीको समस्या नहुने उनको तर्क छ ।

यसरी मिटर प्रणालीबाट वितरण गरिने पानी प्रत्येक घरले मासिक १ सय रुपैयाँ शुल्क तिर्नुपर्ने वडाध्यक्ष पौडेलले बताए । काम धमाधम भइरहेको छ । यति पानीले मात्रै ठूलापोखरालाई पुग्दैन । खोलाबाट लिफ्ट गरिएको छ । ५ वर्षअघि सालबोट दुब्दी खोलाबाट लिफ्ट गरेर गाउँमा ल्याइयो । ३५ घरलाई मिटर प्रणालीबाट वितरण गरिएको छ । एक वर्षअघि सालकोटफेरा लिफ्ट आयोजनाबाट १ सय ८० घरधुरीलाई पानी वितरण भएको छ । थप २ सय घरधुरीलाई पानी उपलब्ध गराउन असिदचौवा उरामथुम खानेपानी लिफ्ट आयोजना निर्माणाधीन छ । त्यसबाट २ सय घरधुरीलाई पानी वितरण गरिने उनले बताए ।

ठूलापोखराका बासिन्दालाई पानी पुगेको तर पहिलेभन्दा पानीको प्रयोग बढी भएकाले अपुग भएर लिफ्ट गर्नुपरेको वडाध्यक्ष पौडेलले बताए । अहिले गाउँका कृषि फार्ममा सिँचाइ, गाडी धुने, दैनिक नुहाउने, बारीमा सिँचाइ, सरसफाइजस्ता गतिविधिले पानी अपुग भएको स्थानीय बताउँछन् । ठूलापोखराका सबैका घरमा खानेपानीका धारा जडान गरेर व्यवस्थित गर्न स्थानीय सरकारको योजना रहेको छ । ग्राबिटीको पानीलाई प्रत्येक उपभोक्तालाई १ सय रुपैयाँ र लिफ्ट प्रणालीबाट वितरण गरिएको पानीलाई उपभोक्तालाई महिनाको २ सय रुपैयाँ शुल्क तोकिएको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० ०६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×