कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

दक्षिण–पूर्वी एसियामा बढ्दो हेपाटाइटिस संक्रमणको रोकथाम आवश्यक : डब्लुएचओ

नयाँदिल्ली — विश्व स्वास्थ्य संगठनले शनिबार दक्षिण–पूर्वी एसियाली मुलुकलाई बढ्दो  हेपाटाइटिस ‘बी’ र ‘सी’ संक्रमणको रोकथाम र उपचारका लागि विश्वव्यापी पहुँच आवश्यक रहेको बताएको छ । हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भएपनि यसको दीर्घकालीन संक्रमणले  दक्षिण पूर्वी एसियाली क्षेत्रमा कलेजोको क्यान्सर र ‘कलेजो फेल’ जस्ता गम्भीर रोगले मृत्यु निम्त्याइरहेको डब्ल्यूएचओको विज्ञप्तिमा उल्लेख छ ।  

दक्षिण–पूर्वी एसियामा बढ्दो हेपाटाइटिस संक्रमणको रोकथाम आवश्यक : डब्लुएचओ

विज्ञप्तिका अनुसार पछिल्लो समय यस क्षेत्रमा कलेजोको क्यान्सर मृत्यु निम्त्याउने चौँथो ठूलो कारण बनेको छ । हेपाटाइटिस बी र सी संक्रमणले यस क्षेत्रको लगभग ७५ प्रतिशत मानिसहरुको कलेजो फेल हुने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सन् २०२२ मा यस क्षेत्रका ७०.५ मिलियन मानिसले भाइरल हेपाटाइटिस बी र सी सङक्रमण सामना गरिरहेका थिए । विश्वव्यापी रूपमा हेपाटाइटिस बी र सीले प्रति दिन तीन हजार ५०० को मृत्यु हुने र प्रत्येक दिन छ हजार हेपाटाइटिसको नयाँ संक्रमित भेटिने गरेका छन् ।

कोभिड–१९ पछि सन् २०२२ मा सङ्क्रामक रोगहरूमा भाइरल हेपाटाइटिस र क्षयरोग मृत्युको दोस्रो प्रमुख कारण बनेको छ । यद्यपी प्रारम्भिक उपचारबाट हेपाटाइटिस बी र सी संक्रमण नियन्त्रण गर्न सकिने डब्लुएचओले जनाएको छ ।

डब्लुएचओका अनुसार दक्षिण–पूर्वी एसियामा हेपाटाइटिस बी र सी परीक्षण र उपचारको पहुँच कम छ । हेपाटाइटिस संक्रमणबाट विशेषतः नवजात शिशु र बालबालिकाहरु उच्च जोखिममा छन् ।

'भाइरल हेपाटाइटिस यस दशकको प्रमुख जनस्वास्थ्य चुनौती हो। तर जनस्वास्थ्यको दृष्टिकोण र स्वास्थ्य क्षेत्रमा विश्वव्यापी लगानीको बृद्धिले सन् २०३० सम्ममा भाइरल हेपाटाइटिसको उन्मूलन सम्भव छ', डब्लुएचओका क्षेत्रीय निर्देशक साइमा बाजेदले बताए ।

'आज जीवन बचाउनु र भावी पुस्ताको स्वास्थ्यको रक्षा गर्नु हाम्रो सामुहिक जिम्मेवारी हो', उनले भने ।

प्रकाशित : श्रावण १२, २०८१ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×