कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सत्ता निसानामा टेलिग्राम र दुरोभ

भाद्र २२, २०८१
सत्ता निसानामा टेलिग्राम र दुरोभ

Highlights

  • विश्वभरका सरकारले सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्सलाई नियमन गर्ने प्रयत्न गरिरहँदा प्रविधि कम्पनीका मालिकहरू पनि समस्यामा पर्ने क्रम बढ्न थालेको छ
  • टिकटकलाई अमेरिकाको नियमन, भारतलगायत दर्जनौं देशमा गरिएको प्रतिबन्ध, एक्समाथि ब्राजिलको प्रतिबन्ध, अलिबाबा र ज्याक माको चीनमा बढेको समस्याले प्रविधिका मालिक समस्यामा

काठमाडौँ — गत साता आफ्नो निजी जेटबाट फ्रान्सको ला बोर्जेट विमानस्थलमा ओर्लिंदै गरेका टेलिग्राम एपका सीईओ दुरोभ पाभेललाई स्थानीय प्रहरीले पक्राउ गर्‍यो । लागूपदार्थ तस्करीदेखि बाल यौन दुर्व्यवहार, सम्पत्ति शुद्धीकरणजस्ता आपराधिक गतिविधिमा टेलिग्राम प्रयोग हुन दिएको आरोपमा दुरोभ पक्राउ परेका थिए । यसमा पूरा जाँच नहुन्जेल फ्रान्स छोड्न नमिल्ने गरी उनलाई धरौटीमा रिहा गरिएको छ । 

दुरोभको गिरफ्तारीलगत्तै एक्सका मालिक इलन मस्क, अमेरिकी टीभी कार्यक्रम प्रस्तोता टकर कार्ल्सन, चर्चित पडकास्ट प्रस्तोता लेक्स फ्रिडम्यानलगायतले टेलिग्राममाथि नियन्त्रण बढाउन दुरोभलाई पक्राउ गरिएको सार्वजनिक अभिव्यक्ति दिएका छन् । टेलिग्राम एप चर्चित रहे पनि यसका सीईओबारे विश्वमै पहिलोपटक यतिबिघ्न चासो र खोजीनीति भएको हो । तत्कालीन सोभियत संघमा जन्मिएका दुरोभ प्रविधि दुनियाँमा एक ‘फ्यासिनेटिङ फिगर’ मानिन्छन् । कतिले उनलाई रुसका मार्क जकरवर्ग त कतिले रुसकै इलन मस्क वा केहीले रुसका ज्याक डोर्सीसमेत भन्न थालेका छन् । उनले ठ्याक्कै फेसबुकजस्तो देखिने भुकन्त्याक्ट (भीके) एप बनाएका थिए, जुन रुसमा सर्वाधिक प्रयोग हुने प्लाटफर्म हो । सन् २०१३ मा लन्च गरिएको भीके एपमा हाल दैनिक रूपमा सक्रिय प्रयोगकर्ताको संख्या ७ करोड ८० लाख छन् ।

भीके एपमा विपक्षी समुदायका एकाउन्ट बन्द गर्न सरकारले दबाब दिएपछि सन् २०१४ मा दुरोभ रुस छोडेर सेन्ट किट्स एन्ड नेभिस गएको बीबीसीको समाचारमा उल्लेख छ । सरकारी दबाबकै कारण उनले उक्त एप बेच्नुपर्‍यो । त्यसपछि उनी विभिन्न देशमा रहँदै टेलिग्रामको प्रवर्द्धनमा लागे । दाजु निकोलाइ दुरोभसँग मिलेर बनाएको टेलिग्राम एप ठूलो संख्यामा ग्रुप च्याट गर्न र ठूला फाइल आदन–प्रदान गर्न मिल्नेजस्ता सुविधाका कारण लोकप्रिय छ । दुरोभले यसलाई विशेषतः गोपनीयता र सुरक्षाको हिसाबले बलियो र भरपर्दो रहेको भनी रणनीतिक प्रचार गर्दै आएका छन् । हाल यसका मासिक सक्रिय प्रयोगकर्ता करिब ९५ करोड रहेको बताइन्छ ।

दुरोभले आफूलाई अभिव्यक्ति स्वतन्त्रता, डेटा सुरक्षा र गोपनीयताको कडा पक्षधर रहेको दाबी गर्दै आएका छन् । तथापि, अहिले लागूपदार्थ तस्करी, गुन्डागर्दी र बालयौन शोषणमा जोडिएका व्यक्तिसँग उनको संलग्नतालाई लिएर फ्रान्सेली प्रहरीले अनुसन्धान गरिरहेको हुँदा उनी अभिव्यक्ति स्वतन्त्रताका हिमायती हुन् वा छाया अपराधी भन्ने वास्तविकता थाहा पाउन जटिल रहेको पोलिटीको म्यागजिनले औंल्याएको छ । अहिले चलिरहेका अनुसन्धानमा दुरोभमाथि साइबर सुरक्षासम्बन्धी, ठगी तथा जालसाजी रोक्नेसम्बन्धी र बालबालिका माथि हुने अपराध समेतका निकायहरूले छानबिन गरिरहेका छन् ।

सीएनएनका अनुसार दुरोभले आफ्ना एक छोरामाथि ‘हिंसात्मक कार्यहरू’ गरेको आरोपको विषयमा पनि फ्रान्सेली न्यायिक अधिकारीहरूले स्विट्जरल्यान्डसँग थप जानकारी मागेका छन् । उनकी पूर्वपत्नी इरिना बोल्गारले पालेभविरुद्ध आफूहरूका तीन सन्तानमध्ये कान्छालाई कुट्ने–पिट्नेसँगै ज्यान लिने धम्कीसमेत दिएको आरोप लगाएकी हुन् । उनले मार्च २०२३ मा जेनेभाको एक अदातलमा उजुरी दर्ता गराएकी थिइन् । विगत १५ वर्षदेखि विर्य दान गर्दै आएका ३९ वर्षीय दुरोभले १२ देशमा सयभन्दा धेरै जैविक सन्तान रहेको दाबी गर्दै आएका छन् ।

दुरोभ असाध्यै विलासी जीवन रुचाउने व्यक्ति हुन् । फ्रान्स र संयुक्त अरब इमिरेट्सको नागरिता लिएका उनी दुबईमा बस्दै आएका थिए । वार्षिक १० लाख अमेरिकी डलर (मासिक करिब १ करोड १० लाख रुपैयाँ) भाडा तिरेर उनी त्यहाँको महँगो जुमेरा आइल्यान्डमा बस्थे र त्यहाँको विलासी जीवनशैलीसँगै आफ्नो सुगठित शरीर देखाएको तस्बिर इन्स्टाग्राममा पोस्ट गर्ने गरेका थिए । इन्स्टाग्राममा उनका १५ लाख फलोअर्स छन् । फोर्ब्सका अनुसार २०२४ अगस्टसम्म दुरोभको कुल सम्पत्ति १५.५ अर्ब अमेरिकी डलर छ । उनी विश्वका १२० औं धनी व्यक्ति हुन् । उनको वार्षिक आम्दानी १.५ अर्ब डलर छ र यो आय अधिकांश टेलिग्राम एपबाटै आउने फोर्ब्सले जनाएको छ ।

‘दुरोभ र सत्ता कहिले पनि मिल्ने साथी भएनन्,’ पोलिटिकोमा इभा हार्टगले लेखेकी छन्, ‘विद्यार्थी हुँदा दुरोभले विद्यालयको कम्प्युटर नेटवर्क ह्याक गरेर आफूलाई मन नपर्ने शिक्षकको फोटोमा ‘मर्नै पर्ने मान्छे’ लेखेर स्क्रिन सेभर बनाइदिएका थिए । अहिले ३९ वर्षको उत्तरार्द्धमा उनमा फेसबुकका जकरबर्गको जस्तै एकान्तप्रेमी र इलन मस्कको जस्तै सन्कीपन, आत्ममुग्धता र विपरीत सोचको संयोजन देखिन्छ ।’

दुरोभको गिरफ्तारीलाई लिएर फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले यो कदम राजनीतिक नभएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल एक्स र मिडियासँगको कुराकानीमा पनि उनले दुरोभको गिरफ्तारीलाई लिएर विभिन्न भ्रामक सूचना फैलाउने प्रयास भएको भन्दै त्यस्ता दाबीहरूमा सत्यता नभएको स्पष्ट परेका हुन् । ‘फ्रान्स सञ्चार र अभिव्यक्तिको स्वतन्त्रताका बारेमा प्रतिबद्ध छ,’ उनले लेखेका छन्, ‘यो गिरफ्तारी दुरोभ र उनको व्यवसायका बारेमा चलिरहेको न्यायिक छानबिनको एक हिस्सा हो र यो कुनै पनि हिसाबले राजनीतिक कदम होइन ।’

टेलिग्राम र दुरोभको कानुनी र सरकारसँगको झन्झट युरोपमा मात्रै सीमित छैन । आतंककारीका लागि माध्यम बनिरहेको भन्दै भारतीय सरकारले टेलिग्रामलाई प्रतिबन्ध लगाउन निरन्तर प्रयत्न गर्दै आएको छ भने चीनले त यो एपलाई इन्क्रिप्सनका कारण देखाएर प्रतिबन्ध लगाइसकेको छ । साउदी अरब, पाकिस्तान, संयुक्त अरब इमिरेट्सजस्ता देशले पनि विभिन्न कारण देखाएर टेलिग्राम वा दुरोभमाथि कानुनी अड्चन तेर्स्याउँदै आएका छन् । अमेरिकामा भने अन्य रुसी र चिनियाँ एपलाई निगरानी गर्ने प्रयास भएको बेला टेलिग्राम भने निर्बाध चलिरहेको र अहिले अमेरिकामा झन्डै १ करोड सक्रिय टेलिग्राम प्रयोगकर्ता छन् ।

विश्वभरका सरकारले सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्सलाई कानुनको दायरामा ल्याउने र नियमन गर्ने प्रयत्न गरिरहँदा कुनै समय विश्व–बजारको मुहार बन्ने गरेका प्रविधि कम्पनीका मालिकहरू समस्यामा पर्ने क्रम बढ्न थालेको छ । चीन, रुस र अमेरिकाबीचको व्यापार युद्ध, सामाजिक सञ्जालहरूले थप्दै गएका भ्रामक मिथ्या सूचनाका जोखिम र कतिपय भू–राजनीतिक होडको पहिलो सिकार पनि प्रविधि कम्पनीहरू हुने गरेका छन् ।

चीनको टिकटकलाई अमेरिकालगायत देशले गरेको नियमनको प्रयास र भारत, नेपाललगायत दर्जनौं देशमा गरिएको प्रतिबन्ध, हालसालै एक्समाथि ब्राजिल सरकारले लगाएको प्रतिबन्ध, अलिबाबा र ज्याक माको चीनमा बढेको समस्याजस्ता घटनाले प्रविधि बजारका हस्तीहरूको टाउको दुखाइ बढेको देखिन्छ । संसारका विभिन्न ठाउँमा कार्यालय सारिरहने र सानो टिमले टेलिग्रामजस्तो चर्चित एप चलाउने दुरोभको कानुनी अड्चन त्यही शृंखलाको पछिल्लो कडी बनेको विश्लेषकहरूको धारणा छ ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : भाद्र २२, २०८१ ०८:३५
×