कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अमेरिकी चुनावमा स्विफ्टको 'ईन्ट्री'

भाद्र २८, २०८१
अमेरिकी चुनावमा स्विफ्टको 'ईन्ट्री'

Highlights

  • अमेरिकी राष्ट्रपतीय चुनावमा ४ करोड १० लाख जेनजीको मत ह्वाइटहाउस प्रवेशका लागि निर्णायक

काठमाडौँ — पछिल्लो समय अंग्रेजी शब्दकोषमा थपिएका नयाँमध्येका दुई शब्द हुन्– ‘स्विफ्टोनोमिक्स’ र ‘स्विफ्टी’ । यी दुवै शब्दको उत्पत्ति नै अमेरिकी गायिका टेलर स्विफ्टका कारण भएको हो । 

स्विफ्टका कारण उत्पन्न आर्थिक गतिविधि वा प्रभावलाई जनाउने शब्द हो– ‘स्विफ्टोनोमिक्स’ । सन् २०२३ मा उनले विश्वव्यापी सांगीतिक यात्रा सुरू गरिन्, ‘एराज टुर’ । यसका कारण प्रत्यक्ष रूपमा दुई अर्ब अमेरिकी डलरभन्दा बढीको कारोबार भयो । कोभिड महामारीले थलिएका होटल तथा पर्यटन लगायतका व्यवसायले पुनर्जीवन पाए ।

स्विफ्टको कार्यक्रम भएका प्रमुख सहरहरूको आम्दानी टुरकै कारण निकै बढ्यो । अमेरिकामै मात्र होइन, उनी जता गइन्, उतै आर्थिक चहलपहल देखियाे । स्विफ्टले विश्वभरका ५४ प्रमुख सहरमा कार्यक्रम गरिन् । अमेरिका, मेक्सिको, ब्राजिल, बेलायत, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, इटाली, स्पेन, स्विडेन, पोर्चुगल, पोल्यान्ड, अस्ट्रिया, अस्ट्रेलिया, जापान, सिंगापुर सबैतिर उस्तै प्रभाव ।

सुन्दर र हिस्सी परेकी स्विफ्ट युवा पुस्तामा निकै लोकप्रिय छन्, चाहे त्यो अमेरिकामा होस् वा विश्वका अन्य देशमा । त्यसरी उनलाई रुचाउने र उनीबाट प्रभावित हुने फ्यानलाई भन्न थालियो, ‘स्विफ्टी’ । आफ्नै फेसन शैली पछ्याउने स्विफ्टको व्यक्तिगत जीवनबारे ‘स्विफ्टी’ लाई चासो नहुने कुरै भएन । त्यसैले त उनको कार्यक्रम हेर्नका लागि कतिपय ‘स्विफ्टी’हरू उनलाई अमेरिकाबाट पछ्याउँदै युरोप पुगेका समाचारहरू पनि सार्वजनिक भए ।

संगीतको माध्यमबाट उनले जत्तिको अर्थोपार्जन गर्ने विश्वमै कोही छैन । फोर्ब्स म्यागेजिनका अनुसार ३४ वर्षीय स्विफ्टसँग एक अर्ब ३० करोड अमेरिकी डलरको सम्पत्ती छ । सधैंजसाे चर्चामा रहिरहने स्विफ्टले बुधबार मात्रै अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक दलकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेकी छन् ।

हुन त स्विफ्ट सन् २०२० को चुनावमा पनि रिपब्लिकन दलका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा उभिएकी थिइन् । तर उनको पछिल्लो निर्णयले अमेरिकी राजनीतिमा नयाँ तरंग ल्याइदिएको छ । त्यसको कारण हो, निकै प्रतिस्पर्धात्मक हुने आकलन गरिएको चुनावमा स्विफ्टको 'ईन्ट्री' । उनको समर्थन ह्यारिसका लागि चुनाव जित्न निकै महत्वपूर्ण हुने ठानिएको छ ।

ह्यारिस र ट्रम्पबीच बुधबार पहिलोपटक राष्ट्रपतीय चुनावी बहस भएको थियो । बहस सकिएको केहीबेरमै स्विफ्टले ह्यारिसलाई समर्थन गरेकी हुन् । ‘मलाई लाग्छ कि उहाँ आत्मनियन्त्रित प्रतिभाशाली नेतृ हुनुहुन्छ । यदि हामीले अराजकभन्दा शान्तिपूर्ण नेतृत्व पायौं भने यस मुलुकमा धेरै कुरा हासिल गर्न सक्छौं भन्ने मलाई विश्वास छ,’ सामाजिक सञ्जाल इन्स्टाग्राममा स्विफ्टले लेखेकी छन् ।

स्विफ्टले बिरालोलाई समातेको तस्बिर पोस्ट गर्दै ‘चाइल्डलेस क्याट लेडी’ (निसन्तान बिरालोवाला महिला) लेखेकी छन् । उनको यो पोस्ट डोनाल्ड ट्रम्पका उपराष्ट्रपति उम्मेदवार जेडी भान्सलक्षित हो । भान्सले २०२१ को एक अर्न्तवार्तामा अमेरिका केही बच्चाबिहीन दुःखी महिलाले चलाइरहेका र तिनीहरूले देशलाई नै दुःखी बनाउन चाहिरहेको’ बताएका थिए ।

पूर्वराष्ट्रपति ट्रम्पले एआई (कृत्रिम बौद्धिकता) को प्रयोगले बनाइएका तस्बिरहरू पोस्ट गरेका कारण पनि आफू ह्यारिसको समर्थनमा उभिएको उल्लेख गरेकी छन् । गत अगस्ट १९ मा ट्रम्पले सामाजिक सञ्जाल ‘एक्स’ मा स्विफ्ट र उनका प्रशंसकले आफूलाई समर्थन गरेको सन्देश दिने तस्बिरहरू पोस्ट गरेका थिए ।

एआई प्रयोग गरेर बनाइएका तस्बिरको क्याप्सनमा ट्रम्पले लेखेका थिए, ‘म स्विकार्छु ।’ ट्रम्पको ‘एक्स ह्यान्डल’ बाट त्यस्ता तस्बिर सार्वजनिक भएपछि स्विफ्टीजले उनलाई गलत सूचना फैलाएको आरोप लगाएका थिए ।

पूर्वराष्ट्रपति ट्रम्पले पोस्ट गरेकामध्ये एक तस्बिरमा स्विफ्टीले लगाएका टिसर्टमा लेखिएको छ, ‘ट्रम्पका लागि स्विफ्टीहरू ।’ ती तस्बिरमा ‘आईएसआईएसले टेलर स्विफ्टको कन्सर्ट असफल बनाइदिएपछि स्विफ्टीहरू ट्रम्पको पक्षमा लागेका’ लेखिएको थियो । सम्भावित सुरक्षा खतराका कारण अस्ट्रियाको भियनामा गत अगस्टमा हुने भनिएका स्विफ्टका तीनवटा कन्सर्ट रद्द गरिएका थिए ।

त्यस्तै, अर्को तस्बिरमा ‘टेलरले तपाईंले डोनाल्ड ट्रम्पलाई भोट गरेको हेर्न चाहन्छिन्,’ लेखिएको थियो । ह्यारिसलाई समर्थन गरेपछि भने ट्रम्पले आफू टेलर स्विफ्टको प्रशंसक नभएको प्रतिक्रिया दिएका छन् ।

स्विफ्टले डोनाल्ड ट्रम्प राष्ट्रपति रहँदा उनको कडा आलोचना गरेकी थिइन् । प्रहरीको गोलीले जर्ज फ्लोयडको हत्या भएपछिको राष्ट्रव्यापी विरोध प्रदर्शनका क्रममा उनले ट्रम्पको कडा आलोचना गरेकी थिइन् । सन् २०२० को चुनावमा स्विफ्टले डेमोक्रेटिक दलका जो बाइडेनलाई समर्थन गरेकी थिइन् ।

‘राष्ट्रपति कार्यकालमा श्वेत सर्वोच्चता र नश्लवादको आगो सल्काएपछि तपाईंसँग हिंसाको धम्की दिनुअघि नैतिक श्रेष्ठता देखाउने हिम्मत छ ?’ उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘तपाईंलाई हामीले नोभेम्बरमा हुने मतदानमा पराजित गर्नेछौं ।’ नभन्दै २०२० को निर्वाचनमा ट्रम्प डेमोक्रेटिक उम्मेदवार जो बाइडेनसँग पराजित भए ।

स्विफ्टको पोस्टलाई एक करोड ६ लाखभन्दा धेरैले ‘लाइक’ गरिसकेका छन् । १५ लाखले त उनको पोस्ट सेयर गरिसकेका छन् । इन्स्टाग्राममा उनका २८ करोड ४० लाख फलोअर्स छन् ।

स्विफ्ट ६ वर्षअघिसम्म भने राजनीतिक मामिलामा मौन नै देखिन्थिन् । पहिलोपटक उनले सन् २०१८ मा टेनेसीमा रिपब्लिकन दलका उम्मेदवार मार्सा ब्ल्याकबर्नको आलोचना गर्दै डेमोक्रेटिकका फिल ब्रेडेसेनको पक्षमा उभिएकी थिइन् । तर चुनावमा भने ब्ल्याकबर्न विजयी भएका थिए । २०१८ मा उनले आफ्ना समर्थकलाई मतदानका लागि आग्रहसमेत गरेकी थिइन् ।

२०१९ मा उनले लैंगिक अल्पसंख्यकको अधिकारको विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्प र टेनेसीका रिपब्लिकन सिनेटर लमार अलेक्जेन्डरको आलोचना गरेकी थिइन् । २०१९ को अगस्टमा स्विफ्टले गार्जियनसँगको अन्तर्वार्तामा २०१६ को राष्ट्रपतीय चुनावमा आफू मौन रहेकोमा पछुतो लागेको बताएकी थिइन् । त्यतिबेला खुलेको भए आफू हिलारी क्लिन्टनको पक्षमा उभिने उनको भनाइ थियो ।

२०२० को चुनावमा उनले ट्रम्पको उम्मेदवारीलाई ‘तानाशाही’ को संज्ञा दिएकी थिइन् । ‘म यस वर्षको राष्ट्रपति चुनावमा जो बाइडेन र कमला ह्यारिसलाई गर्वका साथ भोट दिनेछु,’ उनले भनेकी थिइन्, ‘मलाई विश्वास छ, उनीहरूको नेतृत्वमा अमेरिकाले आफ्नो गति लिनेछ र यो अत्यन्तै आवश्यक छ ।’ २०२३ सेप्टेम्बरमा उनले लेखेको पोस्टका कारण ३५ हजार जनाभन्दा बढीले मतदाता नामावालीमा नाम दर्ता गराएका थिए ।

न्युजविकले गरेको एक सर्वेक्षण अनुसार अमेरिका १८ प्रतिशत मतदाताले स्विफ्टले समर्थन गरेको उम्मेदवारलाई मत दिने जनाएका छन् । १७ प्रतिशतले स्विफ्टले समर्थन गरेको उम्मेदवारलाई मत दिने सम्भावना नभएको बताएका छन् । ५५ प्रतिशतले भने त्यसबारे निर्णय लिइनसकेको बताएका छन् ।

४५ प्रतिशतले आफूहरू स्विफ्टको फ्यान भएको र ५४ प्रतिशतले स्विफ्टको फ्यान नभएको बताएका छन् । ६ प्रतिशतले मात्र स्विफ्टलाई नचिन्ने बताएका छन् । सर्वेक्षणका सहभागीमध्ये ३५ वर्षमुनिका एक तिहाइले स्विफ्टले भनेकै उम्मेदवारलाई मत दिने बताएका न्युजविकले जनाएको छ ।

अमेरिकाको यसवर्षको राष्ट्रपतीय चुनावमा १६ करोड १४ लाख २० हजार कूल मतदातामध्ये करिब ८० लाखले पहिलोपटक मतदान गर्दैछन् । जेनजी (१९९७ यता जन्मिएका) मतदातको संख्या मात्रै ४ करोड १० लाख छ । यस आधारमा उम्मेदवारको ह्वाइटहाउस यात्राका लागि जेनजीको मत निर्णायक हुने देखिन्छ । युवा वर्गमा छुट्टै क्रेज भएका कारण स्विफ्टले यो पुस्ताका मतदालाई प्रभावित पार्ने निश्चित छ ।

ह्यारिसलाई यसअघि गायक जोन लेजेन्ड र ओलिभिया रोड्रिगो, अभिनेता जर्ज क्लुनी र निर्देशक स्पाइक लीलगायतका सेलिब्रेटीहरूले समर्थन गरिसकेका छन् । त्यस्तै, पूर्व रेस्लर हल्क होगन, टिभी स्टार एम्बर रोज र अर्बपति इलन मस्कले ट्रम्पलाई समर्थन गरेका छन् ।

अमेरिकी राष्ट्रपतीय चुनावमा लामो समयदेखि सेलिब्रेटीहरू महत्वपूर्ण हिस्साका रूपमा रहिआएका छन् । यो क्रम एक शताब्दीयता जारी छ । सन् १९२० मा पहिलोपटक केही सेलिब्रेटीहरू खुलेरै उम्मेदवारको पक्षमा लागेका थिए । रिपब्लिकन दलका उम्मेदवार वारेन जी हार्डिङलाई लिलियान रसेल लगायतका फिल्मस्टारले समर्थन जनाएका थिए ।

सन् १९६० मा र्‍याट प्याकका सदस्यहरू सामी डेभिस जुनियर र डिन मार्टिन डेमोक्रेटिक दलका जोन एफ केनेडीको पक्षमा उभिए । ओप्रा विन्फ्रे, जर्ज क्लुनी, विलियम, ब्राड पिट र सामुयल एल ज्याक्सनले २००८ को चुनावमा बाराक ओबामालाई समर्थन गरे । त्यो क्रम २०१६ मा भने निकै बढ्यो । हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प दुवैलाई ठूलो संख्याका सेलिब्रेटीले समर्थन जनाए ।

लेब्राउन जेम्स, अमी सुमर, केटी पेरी, मेरिल स्ट्रिप, जेमी ली कुर्टिस, लेडी गागा, एलेन डीजेनरेस, ड्रिउ ब्यारीमोर, जर्ज क्लुनी, ख्लोए कार्दिसियन, केरी वासिङटन, भायोला डेभिस, ब्रिटनी स्पेयर्स, जोन लेजेन्ड, रिचार्ड गेर, सल्मा हायक, लेना डनहाम, जेनिफर लोपेज, वियोन्से र स्नुप डग लगायतका कलाकारले क्लिन्टनलाई समर्थन गरेका थिए ।

एजियालिया ब्यांक्स, सराह पलिन, क्रिस्टि एली, टम ब्राडी, चार्ली सीन, डेनिस रोडम्यान, किड रक, माइक टाइसन, डोनी वाल्हबर्ग, ग्यारी बसी, हल्क होगन, टिम अलेन र चुक नोरिस भने डोनाल्ड ट्रम्पको पक्षमा उभिएका थिए ।

क्लिन्टन क्याम्पका डीजेनरेस, स्पेयर्स, जेम्स, लोपेज र वियोन्सेका मात्र ट्वीटर (हाल एक्स) मा १९५.६ मिलियन फलोअर थिए । ट्रम्पलाई समर्थन गर्नेमध्ये सीन, टाइसन, पलिन, होगान र एलीका २१ मिलियन फलोअर थिए ।

चुनावी दौडमा सेलिब्रेटीको समर्थन जुटाउन किन महत्वपूर्ण छ त ? कुरा प्रष्टै छ, सेलिब्रेटीहरूले मतदाताको ध्यान खिच्छन् र प्रभावित पार्न सक्छन । आम मानिसहरूले उनीहरूको निर्णयप्रति सकारात्मक रुपमा सोच्ने सम्भावना बढी हुन्छ । चाखलाग्दो कुरा के छ भने, मानिसहरूले सेलिब्रेटीलाई राजनीतिज्ञभन्दा बढी विश्वसनीय र भरपर्दो मान्छन् ।

विभिन्न अध्ययनहरूले भने युवाहरूले राजनीतिक जानकारीका लागि भने सेलिब्रेटी भन्दा बढी परिवार र साथीहरूमा भर पर्छन् । तर राजनीतिज्ञ, वैज्ञानिक वा शिक्षाविद्भन्दा बढी सेलिब्रेटीहरूले मानिसहरूको सोच्ने तरिकामा प्रभाव पार्नेमा भने उनीहरू विश्वस्त देखिन्छन् ।

उदाहरणका लागि, अफ्रिकी–अमेरिकी र कोकएसियन–अमेरिकी मतदाताहरू परिवार र साथीहरूमा भर पर्ने सम्भावना बढी हुन्छ । तर एसियाली–अमेरिकी, पोलिनेसियन र हिस्पानिक मतदाताहरूले राजनीतिज्ञ वा स्वार्थ समूहहरूलाई विश्वास गर्ने सम्भावना बढी हुन्छ । साथै, पुरुषहरूले महिलाभन्दा बढी सेलिब्रेटीले प्रभावित पार्ने ठान्दछन् ।

सेलिब्रेटीहरूले युवाहरूलाई थप जानकारी खोज्न र चुनावी प्रक्रियामा भाग लिन उत्प्रेरित गर्नेमा कुनै शंका छैन । पहिलो पटकका मतदाता वा राजनीतिप्रति जानकारी कम भएकाहरूले सेलिब्रेटीद्वारा अनुमोदित उम्मेदवारलाई भोट दिने सम्भावना बढी हुन्छ ।

यसको अर्थ, चर्चित र प्रभावशाली सेलिब्रेटीको अनुमोदनले कुनै पनि उम्मेदवारको चुनावी अभियान निकै प्रभावकारी हुनेमा दुईमत छैन । ओप्रा विन्फ्रेले २००८ बाराक ओबामालाई गरेको समर्थनले समग्र मतदाता सहभागिता बढाएको र ओबामाले अनुमानित १० लाख थप मत पाएको मेरिल्यान्ड विश्वविद्यालयका क्रेग गार्थवेट र टिम मुरले गरेको अध्ययनले देखाएको थियो ।

ओबामाले त सहजै चुनाव जितेका थिए । तर आगामी चुनावमा विजयी भएर ह्यारिसले अमेरिकाकै पहिलाे महिला राष्ट्रपतिको किर्तिमान कायम गर्न सक्लिन् त ? यसको निर्क्याैल भने नोभे‍म्बर ५ को चुनावबाट नै हुने छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : भाद्र २८, २०८१ १४:३८
×