कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२
परिक्रमा

समस्या समाधानको थलो बन्ला ७९औं महासभा ?

आश्विन २, २०८१
समस्या समाधानको थलो बन्ला ७९औं महासभा ?

Highlights

  • महासचिवको भूमिका प्रशासकका रूपमा सीमित हुनु, बहुपक्षीय फोरम र क्षेत्रीय संगठन राष्ट्रसंघभन्दा बढी सक्रिय रहनु, सुरक्षा परिषद्का ५ सदस्य देश मिल्न नसक्नुजस्ता कारणले राष्ट्रसंघ कमजोर बन्दै

न्युयोर्क, अमेरिका — ‘हामी समस्या परेको विश्वको सामना गरिरहेका छौं । तर राम्रो खबर के हो भने हामी त्यसबारे केही गर्न सक्छौं,’ संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले ७९ औं महासभाको उद्घाटन सत्रमा भदौ २५ मा सम्बोधन गर्दै भने, ‘सहकार्यमा आधारित रही कूटनीतिक संवाद र बडापत्रमार्फत स्थापनाको पहिलो दिन (सन् १९४५) देखि नै संयुक्त राष्ट्रसंघ बहुपक्षीय समस्या समाधानहरूका लागि स्थान रहँदै आएको छ । यस पटक महासभालाई समस्या समाधानको थलो बनाउनुपर्छ ।’ 

महासचिव गुटेरेसको भनाइबाट अहिले संसार कुन अवस्थामा छ र यो वर्षको महासभा कत्तिको महत्त्वपूर्ण छ भन्ने स्पष्ट हुन्छ । विश्वमा अहिले दुई ठूला युद्ध चलिरहेका छन् भने अन्य आन्तरिक द्वन्द्व छँदै छन् । दिगो विकासका लक्ष्यहरू–२०३० लाई प्राप्त गर्न असम्भवजस्तै देखिएको छ भने बढ्दो गरिबी र भोकमरीका कारण समस्या थपिँदै आएको छ ।

जलवायु परिवर्तनका कारण संसारका अतिकम विकसित मुलुकहरू मात्र होइनन्, विकसित मुलुकहरू नै समस्यामा पर्न थालेका छन् । जुन मानव जातिका लागि नै संकटको विषय बनेको छ । सूचना र प्रविधिको विकासका लागि यसले समस्या पनि सिर्जना गरेका छन् । साइबर सेक्युरिटी र आर्टिफिसियल इन्टेलिजेन्सलाई सही रूपमा प्रयोग गर्नु चुनौती बनेको छ ।

यी पृष्ठभूमिको बीचमा महासचिव गुटेरेसले ७९ औं महासभाको उद्घाटन सत्रमै यस पटक महासभा भइरहँदा विश्वले समस्याग्रत अवस्थाको सामना गरिरहेको उल्लेख गरेका हुन् । अहिलेको विश्वको परिस्थितिलाई दृष्टिगत गर्दै यस पटकको महासभाको नारा ‘कसैलाई पछाडि नछाड्ने : वर्तमान र भावी पुस्तालाई शान्ति, दिगो विकास र मानव प्रतिष्ठाको उन्नतिका लागि एकजुट भएर काम गर्ने’ राखिएको छ । यसैलाई मुख्य केन्द्रमा राखेर नेपालसहित यूएनका सदस्य मुलुकहरूले महासभाको उच्चस्तरीय छलफलमा आ–आफ्नो धारणा राख्ने छन् ।

१८ दिनसम्म चल्ने महासभा असोज १२ सम्म चल्नेछ । यस पटक महासभाका अध्यक्षका रूपमा क्यामरुनका पूर्वप्रधानमन्त्री फिलेमोन याङ छन् । अफ्रिकाका अनुभवी राजनीतिज्ञ याङले नै महासभालाई सञ्चालन गरिरहेका छन् ।

महासभाको उद्घाटन भदौ २५ मा भए पनि उच्चस्तरीय छलफल भने असोज ८ देखि पाँच दिनसम्म चल्नेछ । उच्चस्तरीय छलफलमा महासचिव गुटेरेसले फेरि एक पटक सम्बोधन गर्नेछन् । महासभामा १९३ मुलुक तथा दुई पर्यवेक्षक मुलुकहरू होली सी (भ्याटिकन सिटी) र प्यालेस्टाइन छन् । तर ७९ औं महासभामा इतिहासमै पहिलो पटक प्यालेस्टाइनले पनि अन्य १९३ देशकै सदस्यको हैसियतमा सिट प्यालिङमा बस्न पाउने र विभिन्न तहमा संशोधनसमेत हाल्न पाउनेछ । सन् २०२४ को मे १० मा भएको राष्ट्रसंघको आपत्कालीन विशेष सत्रले प्यालेस्टाइनलाई उक्त अधिकार दिएको हो । तर प्यालेस्टाइनले सदस्यको हैसियत भने पाएको होइन ।

महासचिव गुटेरेसले समस्याग्रत भन्दै इंगित गर्न खोजेको दुई ठूला युद्धहरू हुन्, रुस–युक्रेन र इजरायल–प्यालेस्टाइन द्वन्द्व । रुस–युक्रेन युद्ध चलेको दुई वर्ष बितिसकेको छ । सन् २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेसँगै सुरु भएको युद्ध अहिलेसम्म जारी छ । उक्त युद्ध कहिले सकिन्छ भन्ने अझै टुंगो छैन । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको जुलाई ३१ सम्मको तथ्यांकअनुसार उक्त युद्धमा परेर हालसम्म ११ हजार ५२० जनाको मृत्यु भइसकेको छ भने २३ हजार ६ सय ४० घाइते भएका छन् । यही युद्धमा रुसी सेनामा भर्ती भई लडाइँमा मर्ने नेपालीको संख्या ४३ पुगिसकेको छ भने ७ नेपाली युक्रेनी सेनाको कब्जामा छन् ।

सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आतंककारी हमला गरेपछि हालसम्म १४ सय ७८ इजरायलीको ज्यान गएको छ भने प्यालेस्टाइनको गाजालगायत अन्य क्षेत्रमा ४२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यसमध्ये नेपालका १० जना युवाले पनि हमासको आक्रमणमा ज्यान गुमाएका थिए भने एक जना युवा विपिन जोशी अझै हमासको कब्जामा छन् ।

विभिन्न १७ क्षेत्रमा राष्ट्रसंघले दिगो विकासका लक्ष्यहरू–२०३० (एसडीजी) को लक्ष्य राखेर अघि सारेको थियो । सन् २०१६ देखि अघि बढाइएका लक्ष्यहरू आधा समय कटिसक्दा धेरैले आधा लक्ष्यसमेत भेटाउन नसकेको यूएनकै अध्ययन प्रतिवेदनहरूले देखाएका छन् । कोभिड–१९ महामारी र अन्य विभिन्न समस्याले गर्दा लक्ष्य प्राप्त हुन नसकेको उल्लेख छ । त्यसले एसडीजी सही बाटोमा नभएको प्रस्ट हुन्छ ।

संसार नै जलवायु परिवर्तनको मारमा छ । जलवायुसम्बन्धी मुद्दामा सन् २०१५ को पेरिस सम्झौता भएको थियो । सम्झौतामा १९६ मुलुकले हस्ताक्षर गरेका थिए भने सन् २०१६ को नोभेम्बर ४ देखि लागू भएको हो । यो सम्झौता अन्तर्राष्ट्रिय कानुनकै रूपमा बाध्यकारी सन्धि हो । सम्झौताको लक्ष्य औद्योगिक समयको भन्दा पहिलेकै अवस्थाको तापमान राख्ने तथा १.५ डिग्री सेल्सियसमा सीमित राख्नेछ । तर सदस्य राष्ट्रहरूले तापक्रमलाई कम गर्न व्यावहारिक रूपमा काम नगर्दा जलवायु संकट उत्पन्न हुन थालेको छ ।

महासचिव गुटेरेसले दिगो विकास लक्ष्यहरूलाई फेरि लयमा ल्याउन तथा गरिबी र असमानता अन्त्य गर्न यो महासभा महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् । ‘विशेष गरी महिला र युवासहित सबैका लागि आर्थिक प्रगति र रोजगारी सिर्जना गर्ने उपायहरू खोज्न आवश्यक छ । राजनीतिक विभाजनलाई हटाउने र यति धेरै मृत्यु र पीडा निम्त्याउने द्वन्द्व अन्त्य गर्नुपर्छ,’ उनले भनेका छन् । मानव जातिको एक मात्र घरलाई नष्ट गर्ने जलवायु प्रकोप अन्त्य गर्नुपर्ने पनि उनले उल्लेख गरे । विकासोन्मुख देशहरूले आफ्ना जनताको भविष्यमा लगानी गर्न आवश्यक पर्ने आर्थिक स्रोतलाई जुटाएर समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

गुटेरेसले चरणबद्ध रूपमा समस्या समाधान गरी एकअर्कामा विश्वास र विश्वासलाई फेरि निर्माण गर्न सक्ने तथा सहयोग र एकताबाट के हासिल गर्न सक्ने भन्ने कुरालाई ध्यान दिनुपर्ने प्रस्ट पारेका छन् । भविष्यप्रति मानव प्रतिबद्धतालाई पुनः प्रतिबद्ध गर्न उनले आग्रह गरेका छन् ।

महासभामा भाग लिन नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २२ सदस्यीय नेपाली प्रतिनिधि मण्डल असोज ५ मा न्युयोर्क आइपुग्दै छ । नेपालले उक्त अवसरमा घरेलु, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिवेशको सम्बन्धमा आफ्नो धारणा राख्ने कार्यक्रम छ ।

न्युयोर्कका लागि नेपाली स्थायी नियोगको नेतृत्व गरेका पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य अहिले विश्वमा धेरै अन्तर्राष्ट्रिय मुद्दा भएको र त्यसलाई नेपालले महासभाका दौरान ध्यान दिनुपर्ने मान्छन् । अहिले यूएनले बहुपक्षीयताका महत्त्वपूर्ण विषयहरूमा निर्णय गर्नै छाडेको उनको भनाइ छ । ‘पछिल्लो समय यूएनमा जाने, भेटवार्ता गर्ने र फर्केर आउने मात्र काम भइरहेको देख्छु,’ उनले भने, ‘अहिले बहुपक्षीयतामा हुनुपर्ने कामहरू रोकिएका छन् । यूएनको भूमिका कमजोर हुन थालेको छ ।’

युद्धको समाधान खोज्ने, आर्टिफिसियल इन्टेलिजेन्सलाई सही रूपमा प्रयोगको नीति ल्याउने, जलवायु पविर्तनको समस्या समाधान गर्ने, दिगो विकासका लक्ष्यहरूको एजेन्डालाई लक्ष्यअनुसार अघि बढाउनेलगायत क्षेत्रमा काम हुन नसकेको उनी मान्छन् । ‘त्यसका लागि नेपालले यूएनमा स्पष्ट रूपमा कुरा राख्नुपर्छ । समस्या समाधानका लागि बहुपक्षीयतालाई अघि बढाउन जोड दिन आवश्यक हुन्छ,’ उनले भने । आचार्यले नेपालजस्तो मुलुकका लागि बहुपक्षीयता निकै महत्त्वपूर्ण रहेको र यसको भविष्यका लागि सक्रिय भूमिका खेल्नुपर्ने प्रस्ट पारे । ‘बहुपक्षीयताको भविष्य कस्तो हुनुपर्छ भन्नेमा नेपालले पनि भन्नुपर्छ । नेपाल एक्लै रहेर केही पनि गर्न सक्दैन । यूएनजस्तो बहुपक्षीय कूटनीति गर्ने स्थान नेपालका लागि महत्त्वपूर्ण रहन्छ,’ आचार्यले भने ।

यूएन पछिल्लो समय निष्क्रिय हुनुमा सबैभन्दा ठूलो समस्या सुरक्षा परिषद्का भिटो पावर प्रयोग गर्ने ५ देशहरू हुन् । अमेरिका, बेलायत, चीन, रुस र फ्रान्स सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । विश्वका कुनै पनि एजेन्डामा यीमध्ये एक मुलुकले नमानेमा त्यो प्रस्ताव अघि बढ्न सक्दैन । अहिले रुस–युक्रेन र इजरायल–प्यालेस्टाइन युद्ध पनि यही सुरक्षा परिषद्को बन्धक बनेको छ । अर्कोतर्फ महासचिवको भूमिका एउटा प्रशासकका रूपमा मात्र सीमित हुन पुगेको छ । ठूला र बलिया मुलुकहरूले यूएनमा आएर गर्नुपर्ने बहुपक्षीय कूटनीतिलाई आ–आफ्नो क्षेत्रीय र निकट मित्रहरूसँग बसेर गर्न थालेका छन् । उनीहरूले यूएनलाई बाइपास गर्न थालेको देखिन्छ ।

उदाहरणका लागि ब्रिक्स, सांघाई कोअपरेसन, क्वाड, अकुश, जी–२०, जी–७ लगायतका बहुपक्षीय फोरमहरूमा सदस्य मुलुकहरू यूएनमा भन्दा बढी सक्रिय हुन थालेका छन् । साथै, अफ्रिकी महादेशले हालसम्म सुरक्षा परिषद्को स्थायी सदस्य नपाएको आवाज उठाउँदै आएको छ । विगत दुई दशकभन्दा बढी समयदेखि सुरक्षा परिषद्को पुनःसंरचना हुनुपर्ने कुरा उठ्दै आएको छ । भूराजनीतिक जानकार चन्द्रदेव भट्ट दोस्रो विश्वयुद्धपछिको समयलाई मध्यनजर गरेर तयार भएको सुरक्षा परिषद्को स्थायी सदस्यमा अब परिवर्तन हुनुपर्ने मान्छन् । अफ्रिकी महादेश, भारत र ल्याटिन अमेरिकी देशहरूले पनि परिषद्को स्थायी सदस्य माग गरिरहेकाले ढिलो–चाँडो यसको पुनःसंरचना हुनुपर्ने उनको भनाइ छ ।

पूर्वसचिव आचार्य यूएनमा महासचिवको अधिकार कमजोर भएको र सुरक्षा परिषद्का ५ सदस्य बढी शक्तिशाली भएकाले समस्या भएको मान्छन् । उनले अब यूएनमा एउटा फ्युचर काउन्सिल हुनुपर्ने र त्यसलाई भविष्यमा हुन सक्ने समस्याको अध्ययन, अनुसन्धान र समाधानका लागि प्रयोग गर्नुपर्ने बताए ।

प्रकाशित : आश्विन २, २०८१ १०:३५
x
×