कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

हेजबुल्लाहले प्रयोग गर्ने ‘पेजर’ विस्फोट, ९ जनाको मृत्यु, २८०० सय घाइते

आश्विन २, २०८१
हेजबुल्लाहले प्रयोग गर्ने ‘पेजर’ विस्फोट, ९ जनाको मृत्यु, २८०० सय घाइते

Highlights

  • विस्फोटका लागि इजरायल जिम्मेवार रहेको भन्दै हिजबुल्लाहद्वारा बदला लिने चेतावनी

बेरुत — लेबनानमा लडाकु समूह हेजबुल्लाहका सदस्यहरूले सञ्चारका लागि प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा २ हजार ८ सयजना घाइते छन् । समाचारसंस्था एएफपीका अनुसार ज्यान गुमाउनेमा हेजबुल्लाह सांसद अलि अमरका छोरा र अर्का एक नेताकी १० वर्षीया छोरी छन् । 

बीबीसीका अनुसार लेबनानका विभिन्न स्थानमा एकैसाथ ती उपकरणहरू पड्किएका थिए । एउटा विस्फोटनमा बेरुतमा कार्यरत इरानी राजदूत पनि घाइते भएका छन् । लेबनानका लागि इरानी राजदूतकी पत्नी मोज्ताबा अमानीले आफ्ना पति सामान्य घाइते भएका र उनको उपचार भइरहेको बताएकी छन् ।

हेजबुल्लाहले ‘आफ्ना विभिन्न इकाई र संस्थाका कर्मचारीसँग रहेका पेजर विस्फोटका कारण ८ जना लडाकुको मृत्यु भएको पुष्टी गरेको छ । घाइते भएकमाध्ये अधिकांशको कम्मर, अनुहार, आँखा र हातमा चोट लागेको बताइएको छ । हिज्बुल्लाहलाई इरानले समर्थन र सहयोग गर्दै आएको छ ।

हिजबुल्लाहले विस्फोटका लागि इजरायल जिम्मेवार रहेको बताउँदै घटनाको बदला लिने चेतावनी दिएको छ । पेजर विस्फोटनको घटनाबारे इजरायली सेनाले भने प्रतिक्रिया दिन अस्वीकार गरेको छ । तर सीएनएनले उक्त आक्रमण इजरायली गुप्तचर निकाय र सेनाले संयुक्त रुपमा गरेका जनाएको छ ।

पेजर विस्फोट हुनुभन्दा केही घण्टाअघि इजरायलले विस्थापित भएका आफ्ना बासिन्दालाई देशको उत्तरी भागमा सुरक्षित रूपमा फिर्ता गर्नका लागि हिजबुल्लाहको आक्रमण रोक्नुपर्ने बताएको थियो । हेजबुल्लाहले मोबाइल फोन ‘ह्याक’ हुने र त्यसमा गरिएको कुराकानी ‘ट्रर्‍याक’ हुने जोखिम रहेको भन्दै पेजर प्रयोग गर्दै आएको छ ।

विस्फोट भएका पेजरहरू केही समयअघि मात्र हेजुबल्लाहलाई आपूर्ति गरिएको थियो । विस्फोट हुनुअघि ती पेजरहरू निकै तातेका थिए । पेजरमा प्रयोग हुने लिथिअम ब्याट्री धेरै तात्दा आगलागी हुन सक्छ । तर पेजर ह्याक गरेर त्यसलाई धेरै तातो बनाइए पनि ती विस्फोट नहुने विज्ञहरू बताउँछन् ।

नाम उल्लेख गर्न नचाहने एकजना विस्फोटक पदार्थ विज्ञले पेजर निर्माण गर्ने बेलामा नै १० ग्राम वा २० ग्राम सैन्य प्रयोजनको अतिविस्फोटक पदार्थ ती साधनमा राखिएको हुन सक्ने आशंका व्यक्त गरेका वाल स्ट्रिट जर्नलले जनाएको छ ।

लेबननका प्रधानमन्त्रीले आक्रमणका लागि इजरायल जिम्मेवार रहेको जनाउँदै उक्त घटना लेबनानको सम्प्रभुतामाथिको प्रहार भएको जनाएका छन् । त्यस्तै, इरानी विदेशमन्त्रीले ‘इजरायली आतंकवाद’ को कडा शब्दमा निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ताले अहिले विकसित घटनाक्रम निकै चिन्ताजनक भएको बताएका छन् ।

करिब एक वर्षअघि गाजामा युद्ध सुरु भएयता इजरायल–लेबनन सीमामा दिनहुँजसो गोली हानाहान हुँदै आएको छ । गतवर्षको सेप्टेम्बर ७ मा प्यालेस्टिनी समूह हमासले उत्तरी इजरायल आक्रमण गरेको थियो । त्यसयता इजरायलले गाजामा गरेको आक्रमणमा करिब ४१ हजार प्यालेस्टिीनको ज्यान गइसकेको छ ।

हेजबुल्लाहले इरानको समर्थनप्राप्त प्यालेस्टिनी समूह हमासलाई आफूले सहयोग गरिरहेको बताउँदै आएको छ । दुवै समूहलाई इजरायल, अमेरिका, यूके लगायतका कतिपय देशले आतंककारी समूहको सूचीमा राखेका छन् ।

प्रकाशित : आश्विन २, २०८१ १६:०२
x
×