कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

डाक्टरहरूको आन्दोलनपछि कोलकाता प्रहरी प्रमुख हटाइए

आश्विन १, २०८१
डाक्टरहरूको आन्दोलनपछि कोलकाता प्रहरी प्रमुख हटाइए

कोलकाता — पश्चिम बंगाल सरकारले कोलकाताका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका दुई शीर्ष अधिकारीलाई पदबाट हटाएको छ । कोलकाताको आरजी कर मेडिकल कलेजकी प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि पश्चिम बंगालका डाक्टरहरूले विरोधमा प्रदर्शन गर्दै आएका छन् । 

डाक्टरहरूसँगको बैठकपछि कोलकाता प्रहरी प्रमुख, मेडिकल कलेजका निर्देशक र स्वास्थ्य सेवाका निर्देशक हटाउने सहमति भएको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बताइन् ।

३१ वर्षीया प्रशिक्षार्थी डाक्टरको शव उनी काम गर्ने सरकारी अस्पतालमा अगस्ट ९ मा भेटिएको थियो । त्यसयता राज्यका हजारौं जुनियर डाक्टरहरू हडतालमा छन् । घटनापछि भारतभर आक्रोश फैलिनुका साथै स्वास्थ्यकर्मीहरूको सुरक्षाका विषयमा चासो उत्पन्न भएको थियो ।

आन्दोलनरत डाक्टरहरूले पीडितलाई न्याय, वरिष्ठ प्रहरी अधिकारीहरूलाई बर्खास्त गर्ने र स्वास्थ्यकर्मीहरूको सुरक्षामा वृद्धिलगायतका पाँच मुख्य माग अघि सारेका छन् ।

‘हामी स्वास्थ्य सेवाका निर्देशक र मेडिकल कलेजका निर्देशकलाई हटाउन सहमत भयौं,’ मुख्यमन्त्री बनर्जीले चिकित्सकहरूसँगको बैठकपछि भनिन्, ‘डाक्टरहरूको मागअनुसार कोलकाताका प्रहरी आयुक्त विनीत गोयललाई पनि हटाइने छ ।’

बनर्जीले चिकित्सकहरूको हडतालले स्वास्थ्य सेवा प्रभावित भएको जनाउँदै उनीहरूलाई काममा फर्कन आग्रह गरिन् । तर विरोधको नेतृत्व गरिरहेको पश्चिम बंगाल जुनियर डाक्टर्स फ्रन्ट समूहका प्रवक्ता अनिकेत महतोले घटनाको अनुसन्धान पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रकाशित : आश्विन १, २०८१ २०:५०
x
×