कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी

आश्विन १, २०८१
दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी

काठमाडौँ — भारतको दिल्ली राज्यको नयाँ मुख्यमन्त्री आतिशी बन्ने भएकी छिन् । मुख्यमन्त्री अरविन्द केजरीवालको राजीनामापछि आतिशी नयाँ मुख्यमन्त्री बन्ने भएकी हुन् । 

आम आदमी पार्टीको मंगलबार बसेको विधायक दलको बैठकले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । आम आदमी पार्टीका सांसद गोपाल रायले विधायक दलको बैठकले सर्वसम्मत रूपमा आतिशीलाई मुख्यमन्त्रीका रूपमा अघि सारिएको बताए ।

मुख्यमन्त्री केजरीवाल जेलमा रहेका बेला आतिशीले सरकारको मुख्य 'पोर्टफोलियो' सम्हालेकी थिइन् । शिक्षासमेत मुख्य विभाग सम्हालेकी आतिशीलाई केजरीवालको विश्वासपात्रका रूपमा हेरिन्छ । केजरीवालले केही बेरमा दिल्लीका उपराज्यपाल भीके सक्सेनासमक्ष राजीनामा बुझाउने बताइएको छ ।

अरविन्द केजरीवाल सेप्टेम्बर १३ मा सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए । उनले सेप्टेम्बर १५ मा पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए । केजरीवालले फेब्रुअरीमा महाराष्ट्र राज्यसँगै चुनाव गराउनुपर्नेसमेत माग गरेका छन् । केजरीवाल कथित मदिरा भ्रष्टाचार प्रकरणमा जेल परेका थिए ।

प्रकाशित : आश्विन १, २०८१ १३:०२
x
×