कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

युक्रेनले किन खोजिरहेछ ‘स्ट्रोम स्याडो’ क्षेप्यास्त्र हान्ने अनुमति ?

भाद्र २९, २०८१
युक्रेनले किन खोजिरहेछ ‘स्ट्रोम स्याडो’ क्षेप्यास्त्र हान्ने अनुमति ?

Highlights

  • अमेरिकी राष्ट्रपति जाे बाइडेन र बेलायती प्रधानमन्त्री केअर स्टार्मरबीचको भेटवार्ता, युक्रेनले पाएन ‘स्ट्रोम स्याडो’ क्षेप्यास्त्र प्रहार गर्ने अनुमति

काठमाडौँ — बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएको छोटो समयमै दोस्रोपटक वासिङ्टन पुगेका केअर स्टार्मरले अमोरिकी राष्ट्रपति जो बाडडेनलाई भेटेका छन् । दुई नेताबीचको भेटवार्तमा आन्तरिकभन्दा पनि रुस–युक्रेन युद्धले प्राथमिकता पाएको छ । रुसले युक्रेनमाथि आक्रमणका गरेको २ वर्ष ७ महिना नाघिसकेको छ । तर यस अवधिमा न रुसले युक्रेनमाथि नियन्त्रण कायम गर्न सकेको छ, न त युक्रेनले रुसलाई गलाउन नै । 

पछिल्लो समय अमेरिका निर्मित फाइटर जेट ‘एफ–१६’ पाएपछि केही हौसिएका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी प्रशासनसँग लामो दूरीका क्षेप्यास्त्र प्रहारका लागि अनुमति मागिरहेका छन् । ‘स्ट्रोम स्याडो’ क्षेप्यास्त्र सीमापारिका रुसी निसानामा आक्रमण गर्न आवश्यक भएको उनको भनाइ छ ।

बाइडेन र स्टार्मरबीचको भेटपछि युक्रेनले ‘स्ट्रोम स्याडो’ क्षेप्यास्त्र प्रहार गर्ने अनुमति पाउने आशमा थिए जेलेन्स्की । तर, तत्कालका लागि उनको आशा निराशामा परिणत भएको छ । ‘स्ट्रोम स्याडो’ क्षेप्यास्त्रले करिब २ सय ५० किमिको दूरी टाढासम्म प्रहार गर्न सक्छ । यसको अर्थ ‘स्ट्रोम स्याडो’ क्षेप्यास्त्रको सहयोगले युक्रेनले रुसको मुख्य भूमिमा रहेका सैन्य अखडामाथि धावा बोल्न सक्छ । बेलायत र फ्रान्सले इटालीको सहयोगमा निर्मित क्षेप्यास्त्रमा अमेरिकी सामग्री प्रयोग गर्ने गरिएको छ । बीबीसीका अनुसार क्षेप्यास्त्रको हालको निर्माण खर्च १० लाख अमेरिकी डलर छ ।

बाइडेनसँगको वार्तापछि स्टार्मरले युक्रेनलाई रुसभित्र निशानाहरू प्रहार गर्न लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिने विषयमा कुनै निर्णय नभएको बताएका छन् । रुसमा ‘स्ट्रोम स्याडो’ क्षेप्यास्त्र प्रहार गर्न युक्रेनलाई अनुमति दिन राष्ट्रपति बाइडेनलाई मनाउनुभयो त ? भन्ने प्रश्नमा स्टार्मरले घुमाउरो जवाफ दिएका छन् ।

‘तपाईले अपेक्षा गरेअनुसार युक्रेन लगायत मध्यपूर्व, इन्डो–प्यासिफिक लगायतका मोर्चामा लामो र फलदायी छलफल भयो,’ उनले भने । यद्यपि, उनले आगामी केही साता र महिनाहरूमा युक्रेन र मध्यपूर्व दुवैतर्फ कैयौं महत्त्पूर्ण घटना हुन सक्ने सम्भावना रहेको बताएका छन् । यो अवधिमा विभिन्न रणनीतिक निर्णय गर्नुपर्ने अवस्था आउने स्टार्मरको भनाइ छ ।

नेटोसँग सम्भावित युद्धका विषयमा पुटिनको धम्कीबाट डराएको विषयमा स्टार्मरले ‘युद्ध अन्त्य गर्ने सबैभन्दा छोटो तरिका नै पुटिनले गर्ने कार्यमा भर पर्ने’ बताए । अर्को साता हुने संयुक्त राष्ट्रसंघीय महासभामा यी मुद्दाबारे छलफल गर्ने अर्को अवसर भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार दुवै नेताले ‘इरान र उत्तर कोरियाले रुसलाई घातक हतियार उपलब्ध गराएकामा गहिरो चिन्ता’ व्यक्त गरेका छन् । तर ‘स्ट्रोम स्याडो’ क्षेप्यास्त्र प्रयोग गर्न युक्रेनलाई अनुमति दिएको विषयमा भने स्टार्मर र ह्वाइटहाउस दुवैले प्रस्ट पारेनन् । अमेरिकी राष्ट्रपति जाे बाइडेन र बेलायती प्रधानमन्त्री केअर स्टार्मरलगायतका नेता । तस्बिर : एपी

किअर स्टार्मरसँगको भेटअघि भने राष्ट्रपति बाइडेनले भनेका थिए, ‘म भ्लादिमिर पुटिनका बारेमा धेरै सोच्दिनँ ।’ दुई नेताबीचको भेटअघि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले पनि वासिङ्टनले युक्रेनले रुसी भूभागमा अमेरिकामा निर्मित हतियार प्रयोगका विषयमा राखेको सीमामा कुनै परिवर्तनको योजना नभएको बताएका थिए ।

पश्चिमा देशमा निर्मित क्षेप्यास्त्रहरू रुसमा प्रहार गर्न युक्रेनलाई अनुमति दिने विषयमा लामो समयदेखि मतभेद जारी छ । त्यस्तो निर्णय लिएको खण्डमा रुस थप आक्रमक हुने र अमेरिका तथा युरोपेली देशहरू पनि सोझै लडाइँमा तानिन सक्ने अवस्था आउने अनुमान गरिएको थियो । तर रुसले इरानबाट थप सहयोग लिन खोजेपछि र उत्तर कोरियासँग पनि थप सम्बन्ध बढाउन खोजेपछि पश्चिमा देशको त्यस्तो नीतिमा केही परिवर्तन आउन लागेको संकेत देखिएको छ ।

रुसी सुरक्षा परिषद्का सचिव सर्गेई सोइगुले उत्तर कोरियाली नेता किम जोङ–उनसँग भेटवार्ता गरेका छन् । प्योङयाङको भ्रमणमा रहेका सोइगु र किमबीच दुई देशबीचको रणनीतिक सम्बन्धलाई थप मजबुत बनाउने सहमति भएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । ‘दुई नेताबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिबारे विचारको व्यापक आदानप्रदान भएको र पारस्परिक सुरक्षा हितको रक्षाका लागि सहयोग गर्ने सहमति भएको छ,’ केसीएनएले जनाएको छ ।

किमले मस्कोबाट आर्थिक र अन्य सैन्य सहयोगको लिइरहेका र त्यसको बदलामा रकेट तथा क्षेप्यास्त्रहरू आपूर्ति गरेर युक्रेनमा आक्रमण गर्न रुसलाई मद्दत गरिरहेको अमेरिका, युक्रेन र कतिपय पश्चिमा देशले दाबी गर्दै आएका छन् । मस्को र प्योङयाङले उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

युक्रेनलाई पश्चिमा देशहरूले यसअघि नै ‘स्ट्रोम स्याडो’ क्षेप्यास्त्र उपलब्ध गराइसकेका छन् । त्यसका साथै पश्चिमा देशहरूले युक्रेनलाई ट्यांक, उन्नत क्षेप्यास्त्र प्रणाली र ‘एफ–१६’ लडाकू विमान उपलब्ध गराइसकेका छन् । पछिल्ला आक्रमणमा युक्रेनी सेनाले अमेरिका निर्मित ‘एफ–१६’ जेटको प्रयोग गरेको छ । लामो समयको प्रतीक्षापछि युक्रेनले अगस्ट १ मा १० वटा एफ–१६ प्राप्त गरेको थियो । रुसी आक्रमणलाई निस्तेज पार्न युक्रेनले कम्तीमा १ सय ३० वटा त्यस्ता जेट आवश्यक पर्ने बताउँदै आएको छ ।

सन् २०२२ मा रुसले आक्रमण सुरु गर्नासाथ युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पश्चिमा राष्ट्रहरूसँग एफ–१६ सुपरसोनिक लडाकु विमान मागेका थिए । त्यसलगत्तै बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स र नर्वेले अमेरिकासँग खरिद गरेका केही एफ–१६ विमान दिने तत्परता देखाएका थिए । तर युक्रेनलाई उन्नत र शक्तिशाली अस्त्र उपलब्ध गराउँदा रुस आक्रोशित हुने आशंकामा अमेरिकी राष्ट्रपति बाइडेन पछि हटेका थिए ।

सन् १९७८ बाट प्रयोगमा आएको एफ–१६ ले बम, रकेट तथा क्षेप्यास्त्र बोक्न सक्छ । यसले आकाशबाट आकाशमै र आकाशबाट जमिनमा क्षेप्यास्त्र प्रहार गर्न सक्छ । आवाजको गतिभन्दा दोब्बर र ३२ सय किमिको उचाइसम्म उड्न सक्ने एफ–१६ ले क्षेप्यास्त्र प्रहार गर्न र शत्रुको लडाकु विमानलाई अवरोध गर्न सक्ने बताइन्छ ।

शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसविरुद्ध लामो दूरीका क्षेप्यास्त्र प्रहारको अनुमति नदिन पश्चिमी राष्ट्रहरूलाई चेतावनी दिएका थिए । पुटिनले राष्ट्रपति बाइडन र प्रधानमन्त्री स्टार्मरबीचको छलफलअघि त्यस्तो चेतावनी दिएका थिए । अमेरिका भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री केअर स्टार्मर । तस्बिर : एपी

रुसी सरकारी टेलिभिजनमा प्रसारित रिपोर्टमा पुटिनले रुसविरुद्ध ती क्षेप्यास्त्र प्रयोग गरिए द्वन्द्वको आधारभूत पक्षमा परिवर्तन आउने र रुससँग उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) ले युद्ध गरेको अर्थ लाग्ने बताएका थिए ।

युक्रेनले पश्चिमा देशमा निर्मित लामो दूरीका अस्त्र प्रयोग गर्न पाउनु भनेको ‘रुस–युक्रेन युद्ध’मा नेटोका सदस्य अमेरिका र युरोपेली देशहरू सहभागी भएको अर्थ लाग्ने छ । ‘त्यस्तो परिस्थितिमा आफूसामु सिर्जित जोखिमलाई ध्यान दिएर हामी तदनुरूप निर्णय लिने छौं,’ रुसी राष्ट्रपति पुटिनले भनेका थिए ।

युक्रेनी सेनासँग अत्याधुनिक, उच्च क्षमता र लामो दूरीका अस्त्र प्रयोग गर्न सक्ने सामर्थ्य नरहेको पुटिनको दाबी छ । ‘त्यो युक्रेनसँग नभएका भूउपग्रहहरूबाट प्राप्त हुने निगरानीका डेटाबाट मात्रै सम्भव हुन्छ । युरोपेली संघ, अमेरिका र नेटोका भूउपग्रहबाट मात्रै ती उपलब्ध हुन्छन् ।’

त्यसको प्रक्रियामा बेलायती प्रधानमन्त्री स्टार्मरले ‘रुसले युक्रेनमाथि लडाइँ सुरू गरेको र त्यो गैरकानुनी भएको’ बताएका थिए । रुसले द्वन्द्व निम्त्याएको र अहिले पनि गैरकानुनी काम गरिरहेको उनको भनाइ छ ।

बेलायतका पूर्व रक्षा राज्यमन्त्री सर बेन वालेसले नेटोले पुटिनको धम्कीको बाबजुद युक्रेनलाई रुसमा लामो दूरीका क्षेप्यास्त्रहरू प्रहार गर्न दिनुपर्ने बताएका छन् । युक्रेन वार्ताका लागि पूर्वअमेरिकी विशेष प्रतिनिधि कर्ट भोल्करले पश्चिमी गतिविधि रोक्नका लागि पुटिनको उक्त टिप्पणी गरेको बताएका छन् । ‘पुटिनले हामीलाई काम गर्नबाट रोक्नका लागि भनेका हुन्,’ उनले झने ।

बेलायतले यसअघि युक्रेनले ‘आत्मरक्षाका लागि’ आफूले प्रदान गरेका हतियारहरू प्रयोग गर्ने स्पष्ट अधिकार रहेको बताएको थियो । तर यसले युक्रेनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाबाहिरको क्षेत्रमा लामो दूरीका ‘स्टर्म स्याडो’ क्षेप्यास्त्रहरूको प्रयोगलाई भने समावेश गर्दैन ।

शुक्रबार रुसले जासुसी गरेको आरोपमा ६ जना बेलायती कूटनीतिज्ञहरूलाई निष्कासन गरेको थियो । रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले एक विज्ञप्ति जारी गर्दै रुसलाई ‘रणनीतिक रूपमा पराजित गर्नका लागि’ बेलायतको संलग्नता देखाउने कागजातहरू प्राप्त गरेको जनाएको थियो । बेलायतले भने ती आरोप ‘पूर्ण रूपमा निराधार’ रहेको बताएको छ ।

बीबीसीसँगको अन्तर्वार्तामा बेलायती रक्षा विश्लेषक जस्टिन क्रम्पले पुटिनले लेबर नेतृत्वको नयाँ लेबर सरकार र निवर्तमान बाइडेन प्रशासनको परीक्षण गरिरहेको बताएका छन् । ‘रूसले पहिले नै युक्रेनका विरोधीलाई हतियारहरू आपूर्ति गरिसकेको छ र नेटो सदस्यहरूको हितविपरीत विध्वंस, जासुसी, तोडफोड‍ र सूचना/साइबर अपरेसनमा संलग्न छ,’ उनको दाबी छ ।

शुक्रबार नै अमेरिकाले रुसी मिडिया च्यानल आरटीलाई ‘रुसको गुप्तचर उपकरणको वास्तविक हात’ भएको आरोप लगाउँदै नयाँ प्रतिबन्धको घोषणा गरेको थियो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले आरटी रुस समर्थित मिडिया आउटलेटहरूको नेटवर्कको हिस्सा भएको र यसले अमेरिकी लोकतन्त्रलाई कमजोर पार्ने प्रयास गरिरहेको दाबी गरेका थिए । त्यसको जवाफमा आरटीकी प्रमुख सम्पादक मार्गारिटा सिमोनयानले उनीहरू उत्कृष्ट शिक्षक भएको र आरटीका धेरै कर्मचारीहरूले अमेरिकी लगानीमा अमेरिकामा अध्ययन गरेको बताएकी छन् ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : भाद्र २९, २०८१ २१:१५
×