कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

म्यानमारमा आँधीले ३३ काे मृत्यु, २ लाखभन्दा बढी विस्थापित

भाद्र २९, २०८१
म्यानमारमा आँधीले ३३ काे मृत्यु, २ लाखभन्दा बढी विस्थापित

काठमाडौँ — म्यानमारमा यागी आँधीका कारण आएको भीषण बाढीका कारण कम्तीमा ३३ जनाको ज्यान गएको छ भने २ लाख ३० हजार मानिस विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । 

बीबीसीका अनुसार देशको सत्तारुढ सैनिक सरकार (जुन्टा)ले प्रभाव कम गर्न विदेशी सहायताका लागि अनुरोध गरेको छ । राजधानी नेइपिड सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ । राज्यद्वारा सञ्चालित दैनिक न्यू लाइट अफ म्यान्मारले घरबारविहीन पीडितहरूका लागि केही अस्थायी राहत शिविरहरू स्थापना गरिएको जनाएको छ ।

यस वर्षको एसियाकै सबैभन्दा शक्तिशाली आँधी यागीले भियतनाम, चीनको हाइनान टापु र फिलिपिन्समा पनि निकै ठूलो प्रभाव पारेको छ । जुन्टा सरकार प्रमुख मिन आङ हालिङ र अन्य अधिकारीहरूले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन् । उनले विनासकारी बाढीको सामना गर्न विदेशी सहायताका लागि अनुरोध गरेका छन् ।

रेडियो फ्री एसियाका रिपोर्टहरूमा भने बाढीका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा १ सय ६० भएको उल्लेख गरिएको छ । टाउन्गुका एक उद्धारकर्मीले बीबीसीसँग सिताउङ नदीको पूर्वी किनारमा बाढीका कारण ३ सयभन्दा बढी मानिस फसेको बताएका छन् ।

‘हामीसँग उद्धार गर्न पर्याप्त डुंगा नै छैनन्,’ ती उद्धारकर्मीले भनेका छन् । वैज्ञानिकहरूले जलवायु परिवर्तनसँगै चक्रवात र आँधीहरू बलियो हुँदै गएको बताएका छन् । महासागरको पानी न्यानो भएपछि आँधीबेहरीले ऊर्जा बढी लिने र हावाको गति पनि उच्च हुने उनीहरूको भनाइ छ । त्यस्तै, न्यानो वायुमण्डलले पनि अधिक आर्द्रता राख्ने भएकाले पनि तीव्र वर्षा हुने गर्छ ।

संयुक्त राष्ट्रसंघका अनुसार म्यानमारको अधिकांश जनसंख्या तीनवर्षे गृहयुद्धका कारण विस्थापित भएको छ । हिंसाका कारण हजारौंको ज्यान जानुका साथै २६ लाख मानिस विस्थापित भएको राष्ट्रसंघको तथ्यांक छ । मानवीय मामिला समन्वयका लागि राष्ट्रसंघीय कार्यालय (ओसीएचए) का अनुसार करिब १ करोड ८६ लाख मानिस मानवीय आवश्यकताको पर्खाइमा छन् ।

अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) ले म्यानमारका धेरै परिवारको सफा पानी र सरसफाइमा सीमित पहुँच रहेको र आधारभूत औषधि र स्वास्थ्य सेवाबिना नै बाँच्न बाध्य भइरहेको जनाएको छ । ‘उनीहरू सशस्त्र द्वन्द्व र हिंसाको डरमा बाँचिरहेका छन् । जीविकोपार्जनका अवरोधले अनगिन्ती मानिसलाई आफूलाई निर्वाह हुने माध्यमविहीन बनाइदिएको छ,’ आईसीआरसीका अध्यक्ष मिर्जाना स्पोलजारिकले बुधबार भनेका थिए ।

प्रकाशित : भाद्र २९, २०८१ १४:२२
×