कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि फेरि 'आक्रमण प्रयास'

भाद्र ३१, २०८१
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि फेरि 'आक्रमण प्रयास'

काठमाडौँ — अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पुन: एक पटक 'आक्रमण प्रयास' भएको छ । अमेरिकी गुप्तचर संस्था एफबीआईका अनुसार फ्लोरिडाको गल्फ कोर्समा ट्रम्पमाथि आक्रमण प्रयास भएको हो । रिपब्लिकन पार्टीका नेताहरूका अनुसार ट्रम्प पूर्ण रूपमा सुरक्षित रहेको बताएका छन् ।

अधिकारीहरूका अनुसार गल्फ कोर्सको झाडीबाट एक जनाले एके-४७ राइफल ताक्दै गरेको देखेपछि अमेरिकी सिक्रेट सर्भिसका एजेन्टहरूले सन्दिग्ध व्यक्तिमाथि गोली हानेका थिए । ती सन्दिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । र्‍यान वेस्ले राउथ नाम गरेका थी व्यक्ति युक्रेनी समर्थक रहेको र सामाजिक सञ्जालमा 'षड्यन्त्रकारी' पोस्टसमेत गरेको पाइएको छ ।

एफबीआईका अनुसार ती व्यक्ति लुकेको ठाउँबाट पूर्वराष्ट्रपति ट्रम्प २७५ देखि ४५५ मिटरको दूरीमा थिए । प्रत्यक्षदर्शीहरूका अनुसार सिक्रेट सर्भिसका एजेन्टले केही राउन्ड फायरिङ गरेपछि सन्दिग्ध व्यक्ति झाडीबाट बाहिर निस्केर कारमा चढेका थिए । पछि सुरक्षाकर्मीले कारलाई मार्टिन काउन्टीमा रोकेर उनलाई हिरासतमा लिएका हुन् । घटनापछि ट्रम्पले भनेका छन्, 'मेरो गतिलाई कसैले रोक्न सक्ने छैन । म कहिल्यै हार मान्दिनँ ।'

अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकामा राजनीतिक वा अन्य कुनै हिंसालाई स्थान नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, 'मैले पहिले पनि धेरै पटक भनेको छु- अमेरिकामा राजनीतिक वा अन्य कुनै प्रकारका हिंसालाई स्थान छैन । 'त्यस्तै उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी प्रत्याशी कमला ह्यारिसले समेत अमेरिकामा हिंसालाई कुनै स्थान नभएको बताएकी छिन् ।

यसअघि गत जुलाई १४ मा पेन्सिलभेनियामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट उनको कानमा सामान्य चोट लागेको थियो । उक्त घटनालाई ट्रम्पको हत्या प्रयासका रूपमा हेरिएको थियो ।

प्रकाशित : भाद्र ३१, २०८१ ०९:३९
x
×