कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

इजरायल र हमास युद्धविराम लम्ब्याउन सकारात्मक

हमासले रिहा गर्ने हरेक १० बन्धकको बदलामा एक दिन युद्धविराम लम्ब्याउने इजरायलका प्रधानमन्त्रीको स्पष्टोक्ति

काठमाडौँ — हमासले चार दिनका लागि गरिएको अस्थायी युद्धविराम सकिनै लाग्दा यसलाई लम्ब्याउन आफू तयार रहेको बताएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने हमासले थप बन्धकहरूलाई रिहा गर्ने भए युद्धविरामलाई लम्ब्याउन सकिने प्रतिक्रिया दिएका छन् ।

इजरायल र हमास युद्धविराम लम्ब्याउन सकारात्मक

इजरायल-हमास सम्झौता अन्तर्गत शुक्रबारबाट सुरु भएको युद्धविरामको आज अन्तिम दिन हो । इजरायली अधिकारीहरूका अनुसार हमास र अन्य लडाकु समूहका बन्दुकधारीहरूले दक्षिणी इजरायलमा घातक हमला गर्दा करिब १ हजार २०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २ सय ४० जनालाई बन्धक बनाएको अक्टोबर ७ यता गाजा पट्टीमा यो सबैभन्दा लामो युद्ध हो।

इजरायलले हमासले रिहा गर्ने हरेक १० बन्धकका लागि एक दिन युद्धविराम लम्ब्याउने यसअघि नै बताइसकेको छ । गाजा क्षेत्र नियन्त्रण गर्ने हमासले इजरायलको यस प्रस्तावबारे आफ्नो धारणा सार्वजनिक गरेको थिएन ।

हालसम्म हमासले सम्झौता अन्तर्गत ३९ इजरायली बन्धकहरुलाई रिहा गरिसकेको छ भने इजरायलले ११७ प्यालेस्टिनी बन्दीहरुलाई रिहा गरेको छ । गाजाका अन्य १९ बन्धकहरू- १७ थाई, एक फिलिपिनो र एक रुसी-इजरायली दोहोरो नागरिकलाई पनि हमासले शुक्रबार यता रिहा गरिसकेको छ। नेपालका विपिन जोशी भने अझै पनि हमासकै नियन्त्रणमा छन् ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले सम्झौताको तेस्रो दिन हमासले बन्धकहरूलाई रिहा गरेको पुष्टि गरेको केही घण्टापछि हमासले लामो युद्धविरामका लागि तयार रहेको बताएको हो । युद्धविराम लम्ब्याउने हमासको विचारमा इजरायल खुला रहेको संकेत स्वरूप नेतन्याहूले एक भिडियो वक्तव्य जारी गरेर थप १० बन्धकहरूको रिहाइको बदलामा एक दिनका लागि युद्धविराम लम्ब्याउने सर्त अगाडि राखेका हुन् ।

प्रकाशित : मंसिर ११, २०८० १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×