कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

सिक्किम बाढीमा मृत्यु हुने १८ जना पुगे

पर्वत पोर्तेल

झापा — भारतको सिक्किममा आएको बाढीबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । उत्तर सिक्किमको ल्होनाक हिमताल विस्फोट भई टिस्टा नदीमा अचानक आएको बाढीले बगाउँदा १८ जनाको मृत्यु भएको सिक्किम सरकारले जनाएको छ ।

सिक्किम बाढीमा मृत्यु हुने १८ जना पुगे

बाढीमा परी २६ जना घाइते भएका छन् । सिङ्ताम नजिकैको बुरडाङ क्षेत्रबाट बेपत्ता २२ जना सेनाका जवानको खोजी तीव्र पारिएको छ । सेनाका एक जनालाई भने बुधबार साँझ जीवितै उद्धार गरिएको थियो । ९८ जना सर्वसाधारणको पनि खोजी भइरहेको सिक्किम प्रहरीले जनाएको छ । बेपत्ता सैनिकको खोजीमा टिस्टा नदीको तल्लो तटीय क्षेत्रमा गोताखोर खटाइएको छ । गत बुधबार बिहान करिब साढे १ बजे टिस्टा उर्लिएर आएको थियो । ताल विस्फोटपछि उत्तरी सिक्किमको चुङ्थाङ भत्काएर बाढी टिस्टामा मिसिएको थियो । जसका कारण टिस्टा आसपासका डिक्चु, सिंगताम, राङ्पोलगायतका साना–ठूला सहर बाढीको चपेटामा परेका थिए ।

बाढीले राजमार्ग, विद्युत्, खानेपानीलगायतका पूर्वाधारमा पूर्ण रूपमा क्षति पुर्‍याएको छ । सिक्किमको बाढीले बंगालका चार जिल्ला प्रभावित भएका छन् । भारतीय समाचार एजेन्सीका अनुसार टिस्टा ब्यारेजबाट ८ हजार घनमिटर प्रतिसेकेन्ड पानी छोडेपछि कालिम्पोङ, दार्जिलिङ, जलपाइगुडी र कुचबिहार जिल्ला डुबानमा परेका हुन् । भारतीय सेनाको सहयोगमा बाढी प्रभावितको उद्धार र बेपत्ताको खोजी भइरहेको सिक्किम प्रहरीले जनाएको छ ।

सिक्किम सरकारका मुख्यसचिव भीबी पाठकले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार, मौसम सफा भएपछि शुक्रबारदेखि लाचेन र लाचुङ क्षेत्रमा फसेका पर्यटकको उद्धार गरिनेछ । उनले चुङ्थाङ बाँध क्षेत्रमा भएको क्षतिको विवरण आउन बाँकी रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाए । बाढीले बगाएका ४१ सवारीसाधनलाई निकाल्ने प्रयास भइरहेको छ । बाढीका कारण सिक्किमका २० हजार बढी नागरिक प्रभावित भएको सिक्किम सरकारको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । सिक्किम घुम्न गएका ३ हजार बढी पर्यटक राज्यका विभिन्न क्षेत्रमा फसेका छन् । उनीहरूको उद्धारमा शुक्रबारदेखि खटिने स्थानीय प्रहरीले जनाएको छ । चुङ्थाङमा रहेको टिस्टा स्टेज–३ बाँधमा कार्यरत १५ जना बढी श्रमिक निर्माणाधीन सुरुङमै अलपत्र परेको बताइएको छ । सिक्किम सरकारका अनुसार मंगन, गान्तोक, पाक्योङ र नामची जिल्लामा बाढीले सबभन्दा बढी क्षति पुर्‍याएको छ ।

प्रकाशित : आश्विन १९, २०८० ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?