कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१२

ताल विस्फोटपछि सिक्किममा बाढीपहिरोको कहर : ५ जनाको मृत्यु, ४३ बेपत्ता

भारतीय सेनाका २३ सहित ४३ जना बेपत्ता
पर्वत पोर्तेल

झापा — उत्तर सिक्किमको ल्होनाक ताल विस्फोटपछि बुधबार बिहान साढे १ बजे टिस्टा नदीमा आएको बाढीका कारण सिक्किममा ५ जनाको मृत्यु भएको छ । भारतीय सेनाका २३ सेना र २० सर्वसाधारण बेपत्ता छन् । बेपत्ताको खोजी तीव्र पारिएको सिक्किम सरकारले जनाएको छ । भौतिक क्षतिको कुनै लेखाजोखा छैन । 

ताल विस्फोटपछि सिक्किममा बाढीपहिरोको कहर : ५ जनाको मृत्यु, ४३ बेपत्ता

सिक्किम सरकारले बुधबार जारी गरेको विज्ञप्तिअनुसार बाढीले सिङ्तामनजिकै बर्दाङमा पार्किङ गरी राखिएको सेनाको ट्रक र त्यसमा सवार २३ जना सैनिक बेपत्ता भएका छन् । अन्य दर्जन बढी सवारीसाधनसमेत बाढीले बगाएको छ ।

बाढीबाट घरमै थुनिएका र फसेकाहरूको उद्धार तीव्र पारिएको छ । उद्धारमा सिक्किम प्रहरी र भारतीय सेनासहित आधा दर्जन निकाय खटिएका छन् । बुधबार ३० जनाभन्दा बढी सर्वसाधारणलाई उद्धार गरिएको छ । बाढीका कारण भएको क्षतिको सरकारले आकलन गर्न सकेको छैन । उत्तर क्षेत्र लाचेन उपत्यकामा मात्रै बाढीले करोडौँको भौतिक क्षतिसँगै मानवीय क्षति गरेको अनुमान सरकारको छ ।

बाढीका कारण सडक सञ्जाल, सञ्चार, खानेपानीलगायतका पूर्वाधारमा क्षति पुगेको छ । सयौं घर बाढीमा डुबेका छन् । सिक्किमको मंगान, गान्तोक, पाक्योङ र नाम्ची जिल्लाका दर्जनभन्दा बढी पुल र बाँध बाढीले बगाएको छ । बाढीले पाक्योङ जिल्लाको गोलितार, सिङ्ताममा ४ जनाको मृत्यु भएको र बाघे खोलामा ७ जना बेपत्ता भएका छन् । माझीटारमा तीन जना बेपत्ता भएका छन् । १७ जना घाइतेहरूको सिङ्ताम जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) ले प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धारमा सिंगो सरकार जुटेको जनाएका छन् । उनले जनताको जिउधनको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै राजमार्ग, विद्युत्, टेलिफोन, खानेपानी जस्ता पूर्वाधारमा ठूलो क्षति पुगेकाले चाँडोभन्दा चाँडो सञ्चालन गराउन सरकार लागिपरेको जनाए ।

बाढीले राष्ट्रिय राजमार्ग–१० मा ठूलो क्षति पुगेको छ । जसका कारण केही समय बंगाल र सिक्किमबीचको सडक सञ्जाल विच्छेद हुने देखिन्छ । अझै वर्षा जारी रहेकाले सिक्किम प्रशासनले उच्च सतर्कता जारी गर्दै सुरक्षित रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । बाढी प्रभावितहरूलाई स्कुल, कलेजहरूमा आश्रय दिएर राखिएको छ ।

टिस्टाआसपास बसोबास गर्ने सर्वसाधारण सबैभन्दा वढी जोखिममा छन् । भारतको मौसम विभागले बाढीका कारण थुनिएको टिस्टा विस्फोट भए पश्चिम बंगालमा धेरै क्षति पुग्न सक्ने चेतावनी दिएको छ । बाढीले पश्चिम बंगालको गजोल्डोबा, दोमोहनी, मेखलीगञ्ज र घिसजस्ता तल्लो तटीय क्षेत्र प्रभावित हुनसक्ने जनाइएको छ ।

प्रकाशित : आश्विन १७, २०८० १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?