कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सन्दीपलाई सफाइ

लिखित आदेश नगरिएको भन्दै सरकारी वकिलको असन्तुष्टि, क्यानद्वारा निलम्बन फुकुवा, विश्वकप खेलाउन पहल सुरु

काठमाडौँ — उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याउँदै उच्चका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले बुधबार सन्दीपलाई सफाइ दिएको हो । 

सन्दीपलाई सफाइ

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले ‘प्रमाण नपुगेको’ भन्दै जिल्ला अदालत काठमाडौंको फैसला उल्टिएको बताए । भने, ‘न्यायाधीद्वयको इजलासले सन्दीपविरुद्ध प्रमाण नपुग्ने भन्दै जिल्ला अदालतको आदेश उल्ट्याएको छ । सन्दीप निर्दोष रहेको फैसला गरेको छ ।’ जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गत पुस २५ मा जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ५ लाख जरिवाना सुनाएको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले ‘सन्दीपले गौशाला–२६ (पीडित) को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको’ ठहर गरेको थियो । फैसलाविरुद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए ।

गौशाला–२६ को पक्षमा जिल्ला अदालत काठमाडौंमा मुद्दा लडेका सहायक जिल्ला न्यायाधिवक्ता सुर परियारले फैसला के आधारमा उल्टियो भन्ने लिखित आदेश नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘उच्च अदालतले कुन आधार र कारणले जिल्लाको फैसला उल्टी भयो भन्ने आदेश लिखित रूपमा सार्वजनिक गर्नुपर्थ्यो,’ उनले भने, ‘यो सार्वजनिक चासोको मुद्दा हो । तर, जिल्ला अदालतको ९३ पृष्ठको बृहत् फैसला उल्टाउने निर्णय उच्च अदालतले राय किताब पढेर सुनायो । फैसला लिन जाँदा दिइएन ।’

त्यस्तै महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले फैसला सार्वजनिक नभएको हुनाले के तथ्य र आधारमा फैसला उल्टियो बुझ्न बाँकी रहेको भन्दै फैसला आएपछि सर्वोच्चमा दोहोर्‍याई पाउँ भनी निवेदन प्रक्रिया अघि बढ्ने बताए । १० वर्षभन्दा कम सजाय हुने मुद्दामा उच्च अदालतले फैसला गरेको छ भने त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्न अनुमति पाउँ भनी निवेदन दिनुपर्ने कानुनी व्यवस्था छ ।

उच्च अदालतको फैसलालगत्तै नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपको निलम्बन फुकुवा गरेको छ । क्यानको फुकुवापछि सन्दीपलाई आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुन लागिरहेको ट्वान्टी–२० विश्वकप खेल्न बाटो खुल्न सक्ने सम्भावना छ । निलम्बन फुकुवा गरिसकेको क्यानको अनुरोधमा आईसीसी सहमत भएमा उनले विश्वकप खेल्न पाउनेछन् । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्यानले सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी चार महिनाअघि निलम्बन गरेको थियो ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले उच्चको फैसलापछि बुधबार नै विज्ञप्ति जारी गर्दै सन्दीपमाथिको निलम्बन फुकुवा गरेको जानकारी गराएका छन् । ‘सम्मानित उच्च अदालत पाटनको जेठ २ को फैसलाबमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

यससँगै ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि सन्दीपलाई अमेरिका झिकाउने प्रयास सुरु भइसकेको नेपाली टोलीका व्यवस्थापक प्रदीप मजगैंयाले बताए । ‘हामीले यसबारेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई जानकारी गराइसकेका छौं । भोलिसम्म धेरै कुरा निश्चित हुनेछ,’ वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेका मजगैंयाले कान्तिपुरसँग भने, ‘हामीले वैकल्पिक खेलाडीको सूची आईसीसीमा बुझाएका थिएनौं । त्यसैले नेपाली टोलीमा परिवर्तन गर्न सकिने ठाउँहरू छन् ।’

नेपाली टोली मे १९ मा सेन्ट भिन्सेन्टबाट थप अभ्यासका लागि अमेरिकाको ह्युस्टन पुग्नेछ भने मे २५ मा डालास पुगेर आईसीसीको मातहतमा रहनेछ । उनले सन्दीप टिमका लागि आवश्यक खेलाडी भएको जनाउँदै क्यान र नेपाली टोलीको व्यवस्थापनका पक्षबाट उसलाई ल्याउने प्रयास भइरहेको बताए । नेपाली क्रिकेट टिम यतिबेला विश्वकप खेलअघिको अभ्यासक्रममा त्यहाँ छ । नेपालले आगामी जुन ४ मा डालासमा हुने नेदरल्यान्ड्सविरुद्ध आफ्नो पहिलो विश्वकप खेल खेल्दै छ ।

प्रकाशित : जेष्ठ ३, २०८१ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×