३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

ओली र लामिछानेको सर्त : 'संसद्‌मा जवाफ दिन पाउनुपर्छ'

एमाले र रास्वपाको सर्तले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब
बिहीबार संसदमा कांग्रेसको अवरोधबीच सत्तापक्षका सांसदले प्रतिवाद गर्ने तयारी
गंगा बीसी

काठमाडौँ — एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिनुपर्ने सर्त अघि सारेका छन् । कांग्रेसले पोखरा र बुटवलको सहकारीको रकम हिनामिनामा लामिछाने संलग्न भएको पुष्टि भएको र उनीमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग गर्दै संसद् अवरुद्ध गरिरहेका बेला एमाले र रास्वपाले आफूमाथि लागेको आरोपबारे बोल्न दिनुपर्ने सर्त अघि सारेका हुन् ।

ओली र लामिछानेको सर्त : 'संसद्‌मा जवाफ दिन पाउनुपर्छ'

एमाले र रास्वपाको सर्तले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब परेको छ । कांग्रेसको मागलाई कुनै न कुनै रुपमा सम्बोधन गरी सरकारका नीति तथा कार्यक्रम संसद्‌बाट पारित गरी जेठ १५ मा बजेट ल्याउने दबाब सरकारलाई छ । त्यसका लागि संकटग्रस्त सहकारीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने मध्यमार्गी प्रस्ताव आए पनि एमाले र रास्वपाको विरोधका कारण अघि बढ्न सकेको छैन ।

एमाले र रास्वपाले संसद्‌मा लामिछानेले आफूमाथि लागेको आरोपमाथि बोल्न पाउने अवस्थामा मात्र संकटग्रस्त सहकारीमाथि छानबिन गर्न संसदीय छानबिन गठन गर्नेबारे सोच्न सकिने बताएको छ । प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा र उपप्रधान तथा गृहमन्त्री लामछिानेबीच अवरुद्ध संसद्‌बारे छलफल भयो । छलफलमा एमाले अध्यक्ष ओलीले लामिछानेले संसद्‌मा बोल्न पाउनु पर्ने उल्लेख गर्दै त्यसपछि मात्र अन्य विषयमा छलफल गर्न सकिने बताएका थिए ।

छलफलमा लामिछानेले पनि ओलीको भनाइलाई समर्थन गरेका थिए । कांग्रेस नेताहरुसँग दाहालले संकटग्रस्त सहकारीको छानबिन गर्न संसदीय समिति गठन गर्न सकिने बताएका थिए ।

एमाले र रास्वपाले लामिछानेले आफूमाथि लागेको आरोपबारे संसद्‌मा बोल्न पाउनु पर्ने पहिलो सर्तका कारण दाहालको मध्यमार्गी प्रस्ताव अघि बढ्न सकेको छैन । सत्ता समीकरणका प्रमुख दल एमाले र रास्वपाले कांग्रेसले संसद्‌मा लामिछानेलाई बोल्न नलिने अडानबाट पछि नहटेसम्म अरु प्रस्तावबारे छलफल गर्न नसकिने अडान राखेपछि दाहाल दबाबमा परेका छन् ।

‘एमाले र रास्वपाले गृहमन्त्री लामिछानेले संसद्‌मा बोल्न पाउने अवस्था नभएसम्म अन्य प्रस्तावमा जान सकिँदैन भन्ने अडान राखेँ,’ माओवादी निकट स्रोतले भन्यो, ‘समग्र सहकारीको छानबिन गर्न संसदीय समिति गठन गर्ने मध्यमार्गी प्रस्ताव अघि बढ्न सकेको छैन ।’

तीन नेताको भेटवार्तापछि लामिछानेले आफूमाथि निरन्तर आरोप लागेकाले संसद्‌मा जवाफ दिने आफ्नो अधिकार भएको बताए । ‘निरन्तररुपमा प्रश्नहरु उठे, आरोप लाग्यो । संसद्‌मा गालीगलौज चल्यो । सडकमा पनि चलिसक्यो,’ उनले भने, ‘लोकतान्त्रमा जवाफ दिन पाउने अधिकार पनि हो । त्यसपछि अरु कुरा अघि बढिहाल्छ । जवाफ चित्त बुझेन उहाँहरुको विरोध गर्ने अधिकारको सम्मान गरिहाल्छौं । लोकतन्त्रमा त्यति अभ्यास गर्न नेपाली कांग्रेस पार्टी चुक्नु हुँदैन जस्तो लाग्छ ।’

एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले कांग्रेसले आरोप लगाएका गृहमन्त्री लामिछानेले संसद्‌मा बोल्न पाउने अधिकार सदुपयोग गर्न दिनुपर्ने उल्लेख गर्दै त्यसपछि मात्र अन्य विकल्पमा छलफल गर्न सकिने बताए । ‘कांग्रेसले आरोप लगाएको व्यक्ति गृहमन्त्रीको कुरा सुन्ने सामर्थ्य राख्न राख्नुपर्छ । आलोकतान्त्रिक, असंसदीय तरिकाले अरुको बोल्न पाउने अधिकारलाई रोक्न मिल्दैन,’ उनले एमालेको सर्त सुनाए, ‘संसद्‌मा गृहमन्त्रीले आफूमाथि उठेका प्रश्नको जवाफ दिन नपाई अरु प्रस्तावमा छलफल हुन सक्दैन ।’

माओवादी सचिव एवं संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने बैठक नै अवरुद्ध गरेपछि वातावरण बिग्रिएको बताए । उनले बुधबार बस्ने संसद्‌को बैठक सुचारु गर्नेबारे सहमतिको बिन्दु नभेटिएको बताए ।

‘संसद सुचारु गर्ने सहमतिको बिन्दुमा पुगिएको छैन,’ उनले भने, ‘आफूमाथि प्रश्न उठेपछि गृहमन्त्रीलाई बोल्नै नदिनु, राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने बैठक अवरुद्ध गर्नु लोकतान्त्रिक तरिका भएन । यसले वातावरण सहज बनाएको छैन ।’

बुधबारको बैठकमा कांग्रेसको अवरोधको एमाले, माओवादी र रास्वपा सांसदले प्रतिवाद गर्ने तयारी भएको छ । एमाले अध्यक्ष ओलीले बुधबार संसदीय दलको बैठकमा बौल्दै बिहीबार संसद्‌को बैठकमा आफ्ना सांसदले कांग्रेसको प्रतिवाद गर्ने बताएका छन् । यसबारे ओली, दाहाल र लामिछानेबीच छलफल भएको निकट स्रोतको भनाइ छ ।

एमाले संसदीय दलको बुधबार बसेको बैठकले गृहमन्त्री लामिछानेलाई बोल्न पाउनु पर्ने पहिलो सर्त अघि सारेको दलका मुख्य सचेतक बर्तौलाले बताए । बैठकलाई सम्बोधन गर्दै ओली कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भए ।

बैठकमा अध्यक्ष ओलीले सांसदहरूले आफ्ना धारणा राख्न पाउनुपर्ने उल्लेख गर्दै कांग्रेसको अवरोधबीच संसद्‌मा सांसदले बोल्नेगरी संसद् बैठक चल्ने संकेत गरे । कांग्रेसले अवरोध गर्दैमा संसद्का कामकारबाही ठप्प हुन नहुने ओलीको भनाइ थियो ।

‘मर्यादित संसदीय अभ्यासका लागि हामी समर्पित छौं, हामी लड्छौं । हामी चुप लागेर बसेका छौं भनेर हाम्रो बोली छैन भन्ने कांग्रेसले नबुझे हुन्छ । संसद् अविलम्ब भोलिबाट सुचारु हुनुपर्दछ,’ ओलीले संसदीय दलको बैठकमा भने, ‘देश र जनताको, माननीय सांसदहरूले देशको लागि अहिले चिन्तित हुनुपर्ने बेलामा सांसदहरूको, संसद्को यो समय कांग्रेसको लहडबाजीमा बर्बाद गरिनु हुँदैन ।’

संसदीय दलको बैठकमा ओलीले लामिछानेको बचाउ गरे । ‘कांग्रेसको कुण्ठा, आक्रोश ? सरकार खुस्कियो होला त अनि रविलाई चिथोर्ने ? रविको कमीकमजोरी छ भने निकाय छन् नि कारबाही गर्ने । कसैले केही कारबाही थालेको छैन आफैं सबकुछ गर्ने कांग्रेस ?’ ओलीको भनाइ थियो, ‘कांग्रेसको आग्रहपूर्ण, द्वेषपूर्ण, कुण्ठाग्रस्त सनकका पछाडि कुनै समिति बनाइरहनु जरुरी छैन । संसद् रोक्नुपर्ने आवश्यकता पनि छैन । कांग्रेसले रोकेर अब मान्ने कुरा पनि हुँदैन । कांग्रेसको घरबाट ल्याएको संसद् हो यो ? उसलाई जसो मन लाग्छ त्यसै गर्ने ।’

कांग्रेसले संसद् अवरुद्ध गर्दै जाने र अरु सांसदहरूलाई बोल्न नपाउने अवस्थाको अन्त्य बिहीबारको बैठकबाट सुरु हुने ओलीले बताए । कांग्रेसले संसदमा बलजफ्ती गरेको ओलीको भनाइ छ । संसद्मा गृहमन्त्री लामिछानेलाई बोल्न दिनुपर्ने ओलीले बताए । 'आरोपित गरिएको व्यक्ति बोल्न र सफाइ दिन पाउनुपर्छ । पहिलो कुरा नै त्यही हो । बोल्न पाउनुपर्छ । अब अर्को दिनबाट हामी पनि बोल्न खोज्छौं । कांग्रेस बोल्न पाउने, हामी बोल्न नपाउने ? कांग्रेस बोल्दा हामी सुन्नुपर्ने, हामी बोल्दा कांग्रेस कराउने । कहाँ हुन्छ त्यो ? कांग्रेसलाई बोल्न दिइँदैन अब । पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ । होइन भने हामी बोल्छौं,’ ओलीको भनाइ थियो ।

प्रकाशित : जेष्ठ २, २०८१ २२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?