कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

टेबलटेनिसका स्यान्टु ओलम्पिकमा

छनोटबाट ओलम्पिक खेल्ने तेस्रो खेलाडी तथा टेबलटेनिसका पहिलो बनेका छन् स्यान्टु, यसअघि तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले मात्र छनोटबाट ओलम्पिक खेलेका थिए 
हिमेश

काठमाडौँ — टेबलटेनिसका नेपाली खेलाडी स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बनेका छन् । नेपाली टेबलटेनिस खेल इतिहासमा भने उनी पहिलो ओलम्पिएन भएका छन् । अब उनले फ्रान्सको पेरिसमा हुने ओलम्पिकका लागि नेपालको प्रतिनिधित्व गर्दै खेल्नेछन् । यसअघि यो उपलब्धि तेक्वान्दोबाट संगीना वैद्य र दीपक विष्टले मात्र हासिल गरेका थिए ।

टेबलटेनिसका स्यान्टु ओलम्पिकमा

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षक केन्द्रमा भएको दक्षिण एसियाली ओलम्पिक छनोटको फाइनलमा बुधबार स्यान्टुसँगै नेपालका संयोग कपाली भिडेका थिए । दुवै जनाले बुधबार नै सेमिफाइनल जित्दै देशका लागि तेस्रो ओलम्पियन बन्ने पक्का गरेका थिए । दक्षिण एसियामा बलियो मानिएको भारत यसअघि नै छनोट भइसकेकाले पनि यसपटक अरू देशको भाग्य चम्केको हो ।

फाइनल खेल निकै रोमाञ्चक रह्यो । यस क्रममा धेरै उतारचढाव आए । कहिले स्यान्टु बलियो देखिन्थे त कहिले संयोग । तर, बाजी मारे चारपल्टका नेपाल च्याम्पियन तथा नम्बर एक खेलाडी स्यान्टुले । खेल उनले ११–७, ८–११, ११–७, ११–६, ८–११, ८–११ र ११–९ को प्रतिस्पर्धात्मक ४–३ को सेटले जिते । जितलगत्तै स्यान्टु कोर्टमै ढले । उनका प्रतिद्वन्द्वी संयोगले भने ब्याट माथि फाले र आफ्नो हार स्विकारे ।

‘जितपछि मैले आफूलाई रोक्न सकिनँ । खुसीले रोएँ । यो त मेरा लागि सपना पूरा भएजस्तै हो । कोही पनि खेलाडीको उद्देश्य भनेकै ओलम्पिक खेल्ने हुन्छ, किनभने यो नै विश्व खेलकुदको सबैभन्दा ठूलो महोत्सव हो । अब म त्यही ओलम्पिक खेल्दै छु, त्यसैले म स्वाभाविक रूपमा निकै खुसी छु ।’

प्राविधिक रूपमा दुवै खेलाडी आफैंमा परिष्कृत रहे पनि स्यान्टु अपेक्षाकृत अनुभवी थिए । उनी त्यसको भरपुर फाइदा लिन सफल रहे । पहिलो सेटमा स्यान्टु सजिलै विजयी रहे । उनी ८–७ ले अगाडि रहेपछि त्यही स्थितिबाट लगातार तीन अंक जिते । दोस्रो सेटमा संयोग फर्के । त्यसमा उनी एक समय ७–८ ले पछाडि थिए । तर त्यसपछि लगातार चार अंक बटुले । स्यान्टुले तेस्रो सेट अपेक्षाकृत सजिलै जिते । त्यसमा उनी ७–४ ले अगाडि रहेपछि त्यसबाट फाइदा लिन सफल रहे । चौथो सेट स्यान्टुका लागि अझ सजिलो रह्यो । उनले ८–३ को अग्रता लिएपछि त्यसलाई आफ्नो पक्षमा पारे ।

पाँचौं र छैटौं सेटमा संयोग समान स्कोरले विजयी रहे । पूरा खेलको सर्वाधिक सनसनीपूर्ण मोड अन्तिम सेटमै देखियो । निर्णायक सेटमा स्यान्टु केही बढी आक्रामक देखिए, सुरुमै ७–४ को अग्रता लिए । त्यही बेला संयोगले ‘टाइमआउट’ लिए र स्थितिलाई १०–८ सम्म पुर्‍याए । स्यान्टुले पनि त्यस मोडमा चलाखीपूर्ण ‘टाइमआउट’ लिए र प्रतिस्पर्धा उनकै पक्षमा मोडियो । ‘आफ्नै देशका खेलाडी फाइनलमा प्रतिद्वन्द्वी पाउँदा म सुरुमै केही आत्तिएको भने थिएँ,’ स्यान्टुले पछि सुनाए ।

‘नेपाली टेबलटेनिसका लागि यो निकै ठूलो उपलब्धि हो,’ प्रशिक्षक मोहन वासुकलाले प्रतिक्रिया दिए, ‘अब नेपाली खेलकुद इतिहासमै टेबलटेनिस र स्यान्टुको नाम कहिल्यै मेटिने छैन । अब यही उपलब्धिमा टिकेर नेपाली टेबलटेनिस अगाडि बढ्नुपर्छ र अझ राम्रो गर्नुपर्नेछ ।’ अब स्यान्टुले ओलम्पिकका लागि थप विशेष प्रशिक्षणबाट गुज्रिने छन् । उनी यही छनोट खेल्नका लागि अस्ट्रेलियाबाट नेपाल आएका थिए । अस्ट्रेलियामा अध्ययनरत स्यान्टुले त्यहीं रहेर तयारी गरिरहेका थिए ।

उनलाई नेपाली टेबलटेनिसले पाएको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडी मानिन्छ । उनले ओलम्पिकमा छनोट भएर त्यसलाई पुष्टि पनि गरेका छन् । ‘मलाई दक्षिण एसियाली स्तरसम्ममा राम्रो गर्ने विश्वास थियो । तर, ओलम्पिक नै खेल्ने विश्वास थिएन । जतिबेला दक्षिण एसियाली छनोट हुने भयो, मैले सपना बुन्न थालें,’ उनले भने, ‘अस्ट्रेलियामा रहेर पनि म नियमित अभ्यास गरिरहेको थिएँ, अहिले त्यसकै फल प्राप्त भएको छ ।’

सेमिफाइनलमा स्यान्टुले श्रीलंकाका चमिरा गिनिगेलाई ११–७, ११–९, ६–११, ८–११, ११–३, ११–८ ले पराजित गरेका थिए । संयोगले पनि श्रीलंकाकै जयसंका डी सिल्भालाई १३–११, ११–७, १२–१०, ११–७ ले हराएका थिए । महिलातर्फ भने फाइनलमा माल्दिभ्सकी फतिमाथ अलीले श्रीलंकाकी बिमन्दी बन्दरालाई ११–८, ८–११, १३–११, ११–७, ११–५ ले पराजित गरिन् । योसँगै फतिमाथ माल्दिभ्सको समग्र खेल इतिहासमै ओलम्पिकमा छनोट हुने पहिलो खेलाडी बनेकी छन् ।

प्रकाशित : जेष्ठ ३, २०८१ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×