कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

स्यान्टु र प्रिन्सले पेरिस ओलम्पिकको उद्घाटनको भोलिपल्टै खेल्ने

ध्रुव तुलाधर

काठमाडौँ — पेरिस ओलम्पिकको शुक्रबार हुने उद्घाटन समारोहमा नेपालको झन्डा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन् ।

स्यान्टु र प्रिन्सले पेरिस ओलम्पिकको उद्घाटनको भोलिपल्टै खेल्ने

नेपाली टेबलटेनिसले पहिलो पटक ओलम्पिक खेल्न लागेको हो । त्यसमा पनि स्यान्टु दक्षिण एसियाली छनोट प्रतियोगिता जित्दै ओलम्पिक पुगेका हुन् । जुडोकी मनिताले महादेशीय कोटाबाट ओलम्पिकमा स्थान बनाएका हुन् ।

आफ्नो खेलका दुवै राष्ट्रिय च्याम्पियन नै हुन् । दुवैले १३ औं दक्षिण एसियाली खेलकुदमा पदक जितेका थिए । पेरिस सहरमा यो १०० वर्षपछि हुन लागेको ओलम्पिक हो । यसअघि १९२४ मा आठौं संस्करण भएको आयोजना भएको थियो । फ्रान्सले भने तेस्रो पटक ओलम्पिक आयोजना गरिरहेको छ । सन् १९०० मा दोस्रो संस्करण पनि फ्रान्समै भएको थियो ।

झन्डै ११ हजार हाराहारीमा खेलाडी यस ओलम्पिकमा प्रतिस्पर्धी बन्दै छन् । २०६ राष्ट्रका यी खेलाडीले ३२ खेलको ३२९ इभेन्टमा प्रतिस्पर्धा गर्दै छ । ब्रेक डान्सिङ खेलले यसै ओलम्पिकमार्फत डेब्यू गर्दै छ ।

कोभिड–१९ महामारीका कारण २०२० को ओलम्पिक एक वर्षपछि २०२१ मा जापानको टोकियोमा गरिएकाले यो तीन वर्षको अन्तरालमै आयोजना हुन लागिरहेको छ ।

‘गेम्स वाइड ओपन’ स्लोगान हुन लागेको ओलम्पिकको उद्घाटन नै इतिहासमा पहिलो पटक स्टेडियमबाहिर हुँदै छ । फ्रान्सको प्रख्यात ‘सेन नदी’ लाई केन्द्रविन्दुमा राखेर ओलम्पिकको उद्घाटन गरिने कार्यक्रम छ । खेलाडीले मार्चपास सेन नदीमा डुंगा चढेर गर्नेछन् ।

नेपालबाट ६ खेलमा ७ खेलाडीले भाग लिएका छन् । स्यान्टु र मनिताबाहेक एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल रहेका छन् । टेबलटेनिससँगै ब्याडमिन्टनको पहिलो ओलम्पिक सहभागिता हो ।

प्रशिक्षकको जिम्मेवारीमा एथलेटिक्सकी कान्तिकुमारी महतो महतो, टेबलटेनिसका राजेन्द्र कपाली, जुडोकी देवु थापा, पौडीकी नयना शाक्य र सुटिङका प्रदीप खाती रहेका छन् । ब्याडमिन्टनबाट भने प्रशिक्षकको सहभागिता रहेको छैन । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ सेफ द मिसन रहेको नेपाली पेरिस ओलम्पिक टोली २७ सदस्यीय रहेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

उद्घाटन समारोहमा सन्तोषीबाहेक सबै खेलाडीको सहभागिता रहनेछ । म्याराथन धाविका सन्तोषीको खेल ओलम्पिकको अन्तिम दिन रहेकाले उनी जुलाई ३० मा मात्र पेरिस जानेछिन् ।

पेरिस ओलम्पिकमा दक्षिण एसियाली राष्ट्रमा भारतबाहेक अन्य राष्ट्रका खेलाडीको सहभागिता न्युन छ । जसमा नेपालले ७, पाकिस्तानले ७, श्रीलंकाले ६, बंगलादेशले ५, माल्दिभ्सले ५ र अफगानिस्तानले ४ र भुटानले ३ खेलाडीको सहभागिता गराउँदै छ ।

खेलाडी सहभागिताको हिसाबमा शीर्ष तीन देशमा अमेरिकाले ५९२, आयोजक फ्रान्सले ५७३ र अस्ट्रेलियाले ४६० खेलाडी उतार्दै छन् । नेपालका दुई छिमेकी चीनले ३८८ र भारतले ११३ खेलाडी पेरिस ओलम्पिकमा उतार्ने भएका छन् ।

उद्घाटनको भोलिपल्टै टेबलटेनिस र ब्याडमिन्टनको खेल सुरु हुने भएकाले नेपाली खेलाडीको प्रतिस्पर्धा रहेको छ । फुटबल खेल भने बुधबारबाटै सुरु भइसकेको छ ।

टेबलटेनिसको प्रारम्भिक ‘ड्र’ अनुसार मेन्स सिंगलमा स्यान्टुले सेनेगलका इब्राहिमा डायवलाई पहिलो प्रतिद्वन्द्वी पाएका छन् । फ्रान्समै जन्मेका डायवले जुनियरस्तरमा फ्रान्सबाटै खेलेका थिए । उनी सेनेगली पिता र मालियन आमाका सन्तान हुन् । ३१ वर्षे उनले १३ औं अफ्रिकन गेम्स २०२३ मा कांस्य पदक जितेका थिए ।

त्यो खेल जित्ने खेलाडी नै राउन्ड अफ ६४ को चरणमा प्रवेश गर्नेछन् । त्यहाँ विजयी भए स्यान्टुको भेट ३२ वर्षे हङकङका वाङ चुन टिङसँग हुनेछ । सन् २०१७ को पुरुष विश्वकप टेबलटेनिसमा कांस्य पदक जितेका अनुभवी खेलाडी टिङ वर्ल्ड च्याम्पियनसिप र आईटीटीएफ वर्ल्ड टुरमा डबल्सतर्फ उपाधि विजेता हुन् । हाल ३८ औं वरीयता पाएका उनी सन् २०१७ मा छैटौं विश्व वरीयतासम्म पुगेका थिए ।

ब्याडमिन्टन मेन्स सिंगलमा ३६ देशका ४१ प्रतिस्पर्धी छन् । प्रिन्स समूह ‘पी मा छन् । उद्घाटनको भोलिपल्ट शनिबार पेरिसस्थित पोर्टे डे ला चापेल एरिनामा प्रिन्सले विश्व नम्बर दुई वरीयता तथा दुईपल्टका विश्व च्याम्पियन डेनमार्कका भिक्टोर एक्सेल्सनसँग पहिलो खेल खेल्नेछन् ।

त्यसपछि जुनियरतर्फ विश्व नम्बर एक भइसकेका प्रिन्सको भेट तीनपल्ट ओलम्पिक खेलिसकेका इजरायलका मिसा जिल्बरमन र आयरल्यान्डका नहत गुएन हुनेछ । सन् २०१२, २०१६ र २०२० को ओलम्पिक खेलेका मिसा युरोपियन च्याम्पियनसिपका पदकधारी हुन् । आइरिस गुएन पनि युरोपियन यू–१७ च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि यस समूहका शीर्षस्थानमा रहने खेलाडी सिधै क्वाटरफाइनल पुग्नेछ ।

सुटिङकी सुस्मिताको खेल भने जुलाई २८ मा रहेको छ । उनले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् ।

जुडोकी मनिताले जुलाई २९ मा खेल्नेछिन् । उनको खेलको प्रारम्भिक ‘ड्र’ भने आएको छैन । मनिताले महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

पौडीकी डुवानाको महिला २०० मिटर फ्रिस्टाइल प्रतिस्पर्धा गर्नेछिन् । उनको खेल जुलाई २८ मा छ । यस इभेन्टमा २७ देशका ३१ प्रतिस्पर्धी छन् । हङकङमा अध्ययनसँगै प्रशिक्षण गरिरहेकी डुवाना उतैबाट पेरिस गएकी हुन् ।

पौडीका अर्का खेलाडी एक्लेक्जेन्डरले पुरुष १०० मिटर फ्रिस्टाइलमा सहभागिता जनाउने छन् । उनको प्रतिस्पर्धा जुलाई ३० छ । यस इभेन्टमा ६५ देशका ७९ पौडीवाजले प्रतिस्पर्धा गर्नेछन् । अमेरिकामा रहेका एलेक्जेन्डर त्यहीं तयारी गरेर पेरिस ओलम्पिक पुगेका हुन् ।

धाविका सन्तोषीले भने महिला म्याराथनमा सहभागिता जनाउने छिन् । यो ओलम्पिक समापनको दिन अगस्ट ११ मा हुनेछ । विश्वका ९५ महिला धाविकाले भाग लिने छन् । नेपालले तेस्रो पटक ओलम्पिकको महिला म्याराथनमा भाग लिन लागेको हो । यसअघि सन् १९९६ को एटलान्टा र १९८८ को सोल ओलम्पिकमा भाग लिएको थियो ।

ओलम्पिक इतिहासमै पहिलो पटक महिला म्याराथनलाई अन्तिम दिन राखिएको छ । यसअघिका पुरुष म्याराथनमात्र ओलम्पिकको समापन दिन राखिन्थ्यो । लैंगिक समानताप्रति उच्च सम्मान जनाउन महिला म्याराथनलाई मुख्य आकर्षण गरिएको आयोजक फ्रान्सको दाबी छ ।

इतिहासमा नेपाल

नेपालले सन् १९६४ को टोकियोदेखि ओलम्पिक खेलकुदमा भाग लिन थालेको हो । १९६८ को मेक्सिको सिटी ओलम्पिकमा नेपालको सहभागिता रहेन । २०२० को टोकियो ओलम्पिकसम्म नेपालले एथलेटिक्स, पौडी, बक्सिङ, सुटिङ, जुडो, भारोत्तोलन, आर्चरी र तेक्वान्दोमा गरी ८६ खेलाडीलाई ओलम्पिक सहभागिता गराएको छ । एथलेटिक्समा भने सुरुदेखि नै खेलाडी सहभागिता छ ।

व्यक्तिगत एथलेटिक्सका धावक वैकुण्ठ मानन्धरले लगातार चार, एथलेटिक्सकै हरिबहादुर रोकाय र टीका बोगटी, पौडीका गौरिका सिंह र प्रसिद्धजंग शाह तथा बक्सिङ दलबहादुर रानामगर र उमेश मास्केको समान दुई पटक ओलम्पिक रहेको छ ।

छनोट चरण पार गरेर तेक्वान्दोका संगीना वैद्य (ग्रिस २००४) र दीपक विष्ट (बेइजिङ २००८) ले ओलम्पिक खेलेका थिए । यसपालि त्यसमा थपिए टेबलटेनिसका स्यान्टु ।

पदकका रूपमा सन् १९८८ को सोल ओलम्पिकमा विधान लामाले तेक्वान्दोको प्रदर्शनी खेलमा कांस्य जितेका थिए । नेपालले सबैभन्दा धेरै १८ खेलाडी सोल ओलम्पिकमै सहभागी गराएको थियो । त्यसअघि १९८० मस्कोमा १२ र १९८४ को लस एन्जल्स ओलम्पिकमा ११ खेलाडी सहभागी गराएको नेपालले अरू संस्करणमा भने एकल अंक खेलाडीमै खुम्चिएको छ ।

पेरिसमा खेल्ने खेलाडी

एथलेटिक्स : सन्तोषी श्रेष्ठ

पौडी : एलेक्जेन्डर शाह र डुवाना लामा

ब्याडमिन्टन : प्रिन्स दाहाल

टेबलटेनिस : स्यान्टु श्रेष्ठ

सुटिङ : सुस्मिता नेपाल

जुडो : मनिता श्रेष्ठ प्रधान

तस्बिर सौजन्य : लोकेन्द्र बस्नेत/राखेप

प्रकाशित : श्रावण १०, २०८१ २२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×