३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

बिहारका पूर्वउपमुख्यमन्त्री सुशीलकुमार मोदीको निधन

बिहारको राजनीतिमा करिब ५० वर्ष सक्रिय मोदी भाजपाका प्रभावशाली नेता थिए

काठमाडौँ — भारतीय जनता पार्टीका नेता एवं बिहारका पूर्वउपमुख्यमन्त्री सुशीलकुमार मोदीको निधन भएको छ । उपचारका क्रममा सोमबार दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन भएको हो । उनी ७२ वर्षका थिए । 

बिहारका पूर्वउपमुख्यमन्त्री सुशीलकुमार मोदीको निधन

लोकसभा चुनावको मिति घोषणा भएको केही दिनपछि उनले आफू बिरामी रहेको जानकारी दिएका थिए । उनले एक्समा लेखेका थिए, 'म पछिल्लो ६ महिनादेखि क्यान्सरसँग जुधिरहेको छु । अब मलाई लाग्छ, यसबारे सबैलाई मैले जानकारी दिनुपर्छ । म लोकसभा चुनावमा खासै केही गर्न सक्दिनँ ।'

सुशीलकुमार मोदी बिहारको राजनीतिमा करिब ५ दशक सक्रिय रहे । दुई कार्यकाल(२००५-२०१३ र २०१७-२०२०)मा उनी ११ वर्षभन्दा धेरै समय बिहारको उपमुख्यमन्त्री रहे । उनकै नेतृत्वमा भाजपाले जनता दल यूनाइनेट(जदयू) सँग सहकार्य गरेको थियो । नीतीश कुमार मुख्यमन्त्री हुँदा मोदी उपमुख्यमन्त्री बनेका थिए । बिहारमा भाजपाका संस्थापक कैलाशपति मिश्रापछि मोदी सबैभन्दा प्रभावशाली नेताका रूपमा थिए ।

सुशीलकुमार मोदी जेपी आन्दोलनबाट उदाएका नेता हुन् । पटना विश्वविद्यालयबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । सन् १९७३ मा उनी पटना विश्वविद्यालय विद्यार्थी संगठनको महासचिव बने । त्यतिबेला उक्त संगठनको अध्यक्ष भने लालुप्रसाद यादव थिए । मोदी पहिलो पटक सन् १९९० मा पटना सेन्ट्रल विधानसभाबाट सांसद बनेका थिए । त्यस्तै सन् १९९६ देखि बिहार विधानसभामा विपक्षी नेताका रूपमा भूमिका निभाएका उनी २००४ मा भने भागलपुरबाट लोकसभा सदस्य निर्वाचित भएका थिए ।

त्यसको एक वर्षपछि उनले लोकसभा सदस्यबाट राजीनामा दिएर उपमुख्यमन्त्री बनेका थिए । सन् २०२० मा भाजपाले उनलाई राज्यसभा सांसदसमेत बनायो । यसै वर्षको फेब्रुअरीमा राज्यसभामा उनको कार्यकाल सकिएको थियो । राज्यसभामा बिदाइ भाषणका क्रममा मोदीले आफूलाई मुलुकका चारै सदनमा भूमिका दिइएकोमा पार्टीलाई धन्यवाद दिएका थिए ।

उनले भनेका थिए, 'देशमा भाजपाका कमै कार्यकर्ता होलान् जसलाई पार्टीले यति धेरै अवसर दिएको होस् । मलाई देशका चारै सदनको अनुभव बटुल्ने अवसर प्राप्त भयो । मलाई तीनपल्ट विधायक, एकपल्ट लोकसभा, ६ वर्षसम्म बिहार विधानसभामा विपक्षी नेता र ६ वर्षसम्म विधान परिषद्‍मा विपक्षी नेताका रूपमा भूमिका प्राप्त भयो।'

सुशीलकुमार मोदीकी श्रीमती प्राध्यापक जेसी जर्ज हुन् । क्याम्पस पढ्ने बेलामै प्रेममा रहेका उनीहरूले सन् १९८७ मा विवाह गरेका थिए । उक्त अन्तरधार्मिक विवाहमा दिग्गज नेताहरू अटल बिहारी वाजपेयी, नानाजी देशमुख र कर्पूरी ठाकुरलगायत सहभागी थिए । उनीहरूका दुई छोरा रहेका छन् ।

प्रकाशित : जेष्ठ १, २०८१ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?