कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मालेका मेयर मुइज्जुमाल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित

भारतसँग बलियो सम्बन्ध भएका बहालवाला राष्ट्रपति सोलिह पराजित
एजेन्सी

माले — माल्दिभ्समा शनिबार भएको राष्ट्रपतिको चुनावमा प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का उम्मेदवार मोहम्मद मुइज्जुले जित हासिल गरेका छन् । उनले वर्तमान राष्ट्रपति माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का उम्मेदवार इब्राहिम मोहम्मद सोलिहलाई पराजित गरेका हुन् । मुइज्जुले चुनावमा ५४ प्रतिशत मत पाएका छन् ।

मालेका मेयर मुइज्जुमाल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित

राजधानी मालेका मेयर रहेका मुइज्जु चीनप्रति सहानुभूति लिने नेता मानिन्छन् । उनको मुख्य चुनावी नारा पनि माल्दिभ्सबाट ‘भारत हटाउ’ थियो । आगामी नोभेम्बर १७ मा मुइज्जुले पद बहाली गर्नेछन् । त्यसअघि सोलिह कामचलाउ सरकारका रूपमा रहनेछन् । सोलिहले आफ्नो हार स्वीकार गर्दै नवनिर्वाचित मुइज्जुलाई बधाईसमेत दिएका छन् ।

६१ वर्षीय सोलिह सन् २०१८ देखि सत्तामा थिए । उनले भारतसँगको सम्बन्धलाई बलियो बनाएका थिए, जुन देशसँग मालेको बलियो सांस्कृतिक तथा आर्थिक सहकार्य पनि थियो । उनले सधैं ‘भारत प्रथम’ नीतिलाई अघि बढाएका थिए । माल्दिभ्स लामो समयदेखि भारतको प्रभाव क्षेत्रमा रहँदै आएको छ । भारतलाई पनि यो टापुको देशबाट हिन्द सागरमा निगरानी गर्न सहज भएको थियो ।

राष्ट्रपतिमा नवनिर्वाचित ४५ वर्षीय मुइज्जु भने प्रगतिशील गठबन्धनबाट थिए, जुन गठबन्धनले चीनसँग सम्बन्धको पक्षधरता लिँदै आएको छ । चीनले पनि यो महत्त्वपूर्ण स्थानमा तीव्रताका साथ सैन्य आधार खडा गर्न प्रयास गरिरहेको छ । भारत भने आफ्नो प्रतिस्पर्धी चीनलाई रोक्न चाहिरहेको छ । बेइजिङ भने खाडी मुलुकबाट यस क्षेत्र हुँदै आउने ऊर्जा आपूर्तिको सुरक्षाको योजनामा छ ।

पछिल्लो दशकमा दिल्लीले माल्दिभ्सलाई सैन्यसम्बन्धी दुई हेलिकोप्टर र सानो विमान दिएको थियो । सन् २०२१ मा माल्दिभ्सको सुरक्षा निकायले उक्त विमान सञ्चालन र मर्मतका लागि ७५ जना भारतीय सैनिक आफ्नो देशमा रहेको जानकारी दिएको थियो । लगत्तै विपक्षी दलले ‘भारत हटाउ’ अभियान सुरु गरेका थिए, जसले भारतीय सैनिक फिर्ताको माग गरेको थियो । सोलिहअघि पीपीएम पार्टीका अब्दुल्ला यामिन सन् २०१३ देखि २०१८ सम्म राष्ट्रपति थिए । उनको कार्यकालमा माल्दिभ्स चीनसँग नजिकिएको थियो भने चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) योजनामा सहभागी भएको थियो । यामिन अहिले भ्रष्टाचारको आरोपमा ११ वर्षे जेल सजाय भुक्तान गरिरहेका छन्, जसका कारण उनी यस पटक चुनावमा सहभागी हुन पाएनन् ।

बेलायतको लिड्स विश्वविद्यालयबाट पीएचडी गरेका मुइज्जु सन् २०१२ मा आवासमन्त्रीमा नियुक्त हुँदै राजनीतिमा छिरेका थिए । यामिन राष्ट्रपति भएपछि पनि उनको मन्त्री पदले निरन्तरता पाएको थियो । त्यतिबेला उनले २० करोड अमेरिकी डलर लागतको पुल निर्माणका लागि सम्झौता गरेका थिए, जसले अर्को टापुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई राजधानी मालेसँग जोड्छ । २.१ किलोमिटर लामो र चार लेनको उक्त पुलमा चीनले लगानी गरेको थियो । सन् २०१८ मा यामिन राष्ट्रपति हुँदा उक्त पुलको उद्घाटन गरिएको थियो । सन् २०२१ मा मुइज्जु मालेको मेयरमा चुनिएका थिए ।

राष्ट्रपतिमा निर्वाचित भए पनि मुइज्जुलाई भारतको प्रभाव कम गर्न कठिनाइ हुने विश्लेषकहरूको भनाइ छ । सार्वजनिक रूपमा चीन पक्षधरता लिँदै आएका उनलाई माल्दिभ्सको अर्थतन्त्र, व्यापार र पूर्वाधार निर्माणमा संलग्न रहेको भारतलाई रोक्न सहज हुनेछैन । यस्तै, माल्दिभ्सका विभिन्न संरचना निर्माणका लागि चीनबाट लिएको ऋण पनि उनका लागि चुनौती हुनेछ । माल्दिभ्समा आफ्नो प्रभाव कायम गर्न भारत र चीनले प्रतिस्पर्धा गर्दै आएका छन् । सन् २०१६ मा माल्दिभ्सले ४ करोड अमेरिकी डलरमा ५० वर्षका लागि एउटा टापु चीनलाई भाडामा दिएको थियो । यस्तै, भारतले पनि पछिल्लो वर्षमा दुई अर्ब डलर ऋण तथा सहायता माल्दिभ्सलाई उपलब्ध गराएको थियो । मुइज्जुको जितले माल्दिभ्स अझ चीनतर्फ ढल्किने विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित : आश्विन १५, २०८० ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×