भारत-क्यानडाबीच बढ्दो तनाव‚ एकअर्काका कूटनीतिज्ञलाई देश छाड्न आदेश


नयाँदिल्ली — क्यानडाको संसद् प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यहाँका सिख नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि दुई देशबीचको सम्बन्धमा तिक्तता बढेको छ ।


क्यानडाले निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि, ‘भारत विरोधी गतिविधि’ गरेको भन्दै भारतीय सरकारले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो । सोमबार नै क्यानडाको विदेश मन्त्रालयले निज्जर हत्याको विषयमा अनुसन्धान चल्दै गर्दा भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई पाँच दिनभित्रै देश छाड्नुपर्ने सूचना जारी गरेको थियो ।
क्यानडाको संसद्मा ट्रुडोले भनेका थिए‚ ‘हाम्रो देशको जमीनमा क्यानडेली नागरिकको हत्याको पछाडि विदेशी सरकारको संलग्नता हुनु हाम्रा लागि अस्वीकार्य छ । यो हाम्रो सम्प्रभूताको उल्लंघनसमेत हो ।’ उनले हालै सम्पन्न जी-२० सम्मेलनमा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो विषय अवगत गराएको बताएका थिए । उनले यो विषयको उचित अनुसन्धानका लागि भारतमाथि दबाब सिर्जना गर्नेसमेत बताएका छन् ।
यसको जवाफ स्वरूप भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराएको छ । नयाँदिल्लीले निष्कासन गरेका क्यानाडाली कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिइएको छ ।
भारतीय विदेश मन्त्रालयले क्यानडाको उक्त आरोप ‘तथ्यहीन’ र राजनीतिक रुपमा अभिप्रेरित भएको भन्दै क्यानडाले लामो समयदेखि ‘खालिस्तानी आतंकवादी एवं अतिवादी’ समूहलाई आश्रय दिँदै आएको आरोप लगाएको छ । मन्त्रालयले प्रधानमन्त्री मोदीले क्यानडेली प्रधानमन्त्रीले भारतमाथि लगाएको आरोपलाई पूर्णरूपले अस्वीकार गरेको समेत उल्लेख गरेको छ ।
‘क्यानडामा भइरहेको भारतविरोधी गतिविधिलाई रोक्नका लागि शीघ्र एवं प्रभावकारी कानुनी कदम चाल्न क्यानडेली सरकारलाई हामी आग्रह गर्दछौं‚’ भारतस्थित विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विधिको शासनप्रति दृढ प्रतिबद्धतासहितको लोकतान्त्रिक राजनीतिक पद्धति अपनाएको बताउँदै भारतमाथि क्यानडाले लगाएको आरोप आधारहीन भएको टिप्पणी विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले गरेका छन् ।
क्यानडाका प्रधानमन्त्री ट्रुडोले संसद्को आकस्मिक बैठकमा हरदीपसिंह निज्जरको हत्यामा नयाँदिल्ली संलग्न रहेको आरोप लगाएका हुन् । गत जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियामा रहेको एक गुरुद्वारा बाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो ।
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडामा भारत विरोधी गतिविधि बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै क्यानडाको भूमिलाई भारतविरुद्ध उपयोग हुन नदिन आफ्ना समकक्षीलाई अनुरोध गरेका थिए । भारतले भने निज्जरलाई आतंकवादी एवं पृथकतावादी संगठन प्रमुख रहेको आरोप लगाउँदै आएको छ ।
गत वर्ष भारत र क्यानडाबीच भएको एक व्यापार सम्झौतासमेत क्यानडाले रद्ध गरिदिएको छ । सिख स्वतन्त्रता समर्थकको समूहले क्यानडामा प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री मोदीविरुद्ध आक्रोश पोखिरहेका छन् ।