कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

भोकमरीपीडित जनतालाई परमाणु दौडमा लगाउँदै उत्तर कोरियाली शासक

किम जोङ इलदेखि उनका छोरा किम जोङ उन शासनसम्म उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गरिरहेको छ र विश्व शक्तिहरूलाई धम्क्याइरहेको छ तर विपन्नताले उत्पीडित जनतालाई भोकमरीले लखेटिरहेको छ
जगदीश्वर पाण्डे

काठमाडौँ — उत्तर कोरियाली जनता कसरी भोकमरी र गरिबीको चपेटामा छन् भन्ने लामो समाचार रिपोर्ट बेलायती समाचार संस्था बीबीसीले गत मंगलबार बाहिर ल्यायो । लामो समयदेखि गोप्य रूपमा उत्तर कोरियाका तीन जनासँग सम्पर्कमा रहेर उनीहरूले भोगिरहेको कथाव्यथा बीबीसीले उतारेको छ ।

भोकमरीपीडित जनतालाई परमाणु दौडमा लगाउँदै उत्तर कोरियाली शासक

पछिल्लो तीन वर्ष कोभिड–१९ का कारण किम जोङ उनको सरकारले सीमा क्षेत्रमा आवतजावतलाई नै प्रतिबन्ध लगाएपछि कसरी समस्या भइरहेको छ भन्ने पनि प्रस्ट रूपमा बाहिर ल्याएको छ । उत्तर कोरियामा गरिबी, भोकमरी, औषधिको अभाव र सीमा पार गरेर औषधि ल्याउनसमेत कठिन रहेको उक्त रिपोर्टमा भनिएको छ । उक्त रिपोर्टमा म्योङ सुक, चान हो र जी येओनले भोगेका दुःखबाट कहिलेको उत्तर कोरियाका अवस्था कस्तो छ भन्ने झलक दिन्छ ।

अब यहाँ प्रश्न उठ्छ, उत्तर कोरियाको शासन व्यवस्थालाई निकृष्ट देखाउने रिपोर्ट पश्चिमा मिडियाहरूले गलत लेख्नु स्वाभाविक नै हो । पश्चिमा मिडिया मात्र होइन, स्वयं उत्तर कोरियाको राजधानी प्याङयोङ पुगेका नेपालीले समेत त्यहाँ रहेको भोकमरी र गरिबीको बारेमा आफ्नो भोगाइ बाहिर ल्याएका छन् ।

चीनका लागि आवासीय राजदूत तथा उत्तर कोरियाका लागि गैरआवासीय राजदूत रहेका राजेश्वर आचार्य सन् २००० नोभेम्बर २१–२५ का ५ दिन ओहोदाको प्रमाणपत्र बुझाउन बेइजिङबाट प्योङयाङ गएका थिए । पूर्वराजदूत आचार्यले त्यसबेला उत्तर कोरियामा भोगेका, अवलोकन गरेका र विभिन्न घटनाहरूलाई आफ्नो पुस्तक ‘कूटनीतिक डायरी’ मा समेटेका छन् । ‘मैले उनीहरूको अर्थतन्त्रको अवस्था के छ भनेर जान्न उनीहरूको बजार हेर्न खोजेको थिएँ तर उनीहरूले बजारमा लगेनन् । त्यहाँ विदेशीहरूले खरिद गर्न मिल्ने वस्तु के छ भनेर सोधेको हुँदा उनले एउटा डिपार्टमेन्ट स्टोर पनि देखाए । तर त्यहाँ क्रेताको उपस्थिति शून्य थियो भने सामानहरू पनि ठिकठिकै थिए,’ उनले पुस्तकमा लेखेका छन्, ‘त्यहाँ मैले उत्तर कोरियाका लागि भारतीय राजदूत र चिनियाँ राजदूतसँग पनि भेटवार्ता गरें । भेटघाट र कुराकानीबाट उत्तर कोरियामा कति धेरै गरिबी र भोकमरी छ भन्ने कुरा थाहा भयो । भोकमरीबाट बच्नका लागि सर्वसाधारणले मकैको ढोडको नुडल्स, पात र बोक्रा पनि खाई गुजारा गर्दा रहेछन् । त्यहाँ अनावृष्टि र अतिवृष्टिका कारण बारम्बार खाद्यान्न संकट हुँदो रहेछ र संयुक्त राष्ट्रसंघलगायत अन्य दातृ राष्ट्रबाट प्राप्त खाद्यान्नबाट खाद्य संकट टार्ने काम हुँदोरहेछ ।’

उत्तर कोरियामा भोकमरी र आर्थिक संकटको विषयमा अहिले मात्र होइन, लामो समयदेखि चर्चा हुँदै आएको छ । साथै, केही अन्तर्राष्ट्रिय रूपमा अनुसन्धान गर्ने संस्था तथा लेखकहरूले पनि उत्तर कोरियाको अवस्थाबारे लामो समयदेखि उल्लेख गर्दै आएका छन् । सन् २०१६ को ‘ग्लोबल हंगर इन्डेस’ मा उत्तर कोरियाले २८.६ अंक पाएको थियो, जसलाई अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थाले गम्भीर भन्दै व्याख्या गरेको छ । साथै, सन् २०१३ मा कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनले उत्तर कोरियामा करिब २ करोड ४० लाख जनसंख्या चरम गरिबीमा रहेको उल्लेख गरेको थियो । उनीहरूलाई खाना पकाउन इन्धन र विद्युत्को अभाव रहेको भनिएको थियो ।

सन् १९६० को दशकसम्म तत्कालीन सोभियत युनियनसँग सहयोग प्राप्त गर्ने उत्तर कोरिया त्यसपछि चीनसँग नजिक हुन पुग्यो । तर उत्तर कोरियाको ‘जुचे नीति’ ले त्यहाँका जनतालाई थप संकटमा पार्‍यो । जुचे नीति भनेको उत्तर कोरियाको एकल नेताले शासन गर्ने राजनीतिक विचारधारा, बलियो सेना र आर्थिक आत्मनिर्भरताको खोजीमार्फत राष्ट्रिय स्वायत्तता प्राप्त गर्ने लक्ष्य हो । यसले नागरिकको स्वतन्त्रताको कदममा काम गर्दैन । त्यसका बाबजुत उत्तर कोरियाले त्यसबेला दुई ठूला कम्युनिस्ट शक्तिहरू बेइजिङ र मस्कोसँग आर्थिक र सैन्य सहयोग लिएको थियो ।

उत्तर कोरियामा सन् १९९४ देखि १९९८ सम्ममा पनि चरम गरिबी रहेको मानिन्छ । त्यसबेला आफ्नो अर्थतन्त्रलाई बलियो बनाउन दुई कोरिया (उत्तर र दक्षिण) को एकीकरणको कुरा पनि गरेको थियो । जसले गर्दा अन्य मुलुकसँग आर्थिक सहायता दिँदै किम जोङ उनका बाबु किम जोङ इलले आन्तरिक रूपमा उत्तर कोरियालाई आणविक शक्तिका रूपमा विकास गरिरहेका थिए । देङ सियाओपिङको नेतृत्वमा चीनले सन् १९७९ मा अर्थतन्त्रको पुनःसंरचना गरेको थियो । सोभियत युनियनले सन् १९८५ मा अर्थतन्त्रको पुनःसंरचना गरेको थियो । तर आफ्नो दुई सहयोगीहरूले अर्थतन्त्रको पुनःसंरचना गर्दा उत्तर कोरिया उही अवस्थामा रह्यो र आर्थिक संकटमा परिरह्यो । शीतयुद्धपछि पूर्व र पश्चिमी जर्मनी एक भए, यसले दुई कोरिया पनि एक हुने चर्चा चल्यो । सन् २००० को जुनमा अन्तर कोरियन समिट उत्तर कोरियाको राजधानी प्याङयोङमा भयो । दुवै कोरियाले स्वतन्त्र रूपमा कोरिया एकीकरणमा सहमति जनाएका थिए । तर सन् २००८ मा उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियाका पर्यटकको गोली हानेर हत्या गरेपछि सम्बन्ध चिसियो ।


उत्तर कोरियाले सन् २००६ को अक्टोबर ९ मा पहिलो पटक मिसाइल परीक्षण गर्‍यो । साथै, लगातार रूपमा लामो दूरीको मिसाइल हतियार तथा हातहतियार बढाउन लागिरह्यो । मिसाइल देखाएर अरूलाई डराउने रणनीति प्याङयोङको रह्यो । उत्तर कोरिया संसारको सबैभन्दा बढी सैनिक हुने मुलुकहरूको सूचीमा पनि पर्छ । त्यहाँ करिब १३ लाख सैनिक छन् ।


‘विगत एक दशकमा, उत्तर कोरियाले आफ्नो ब्यालिस्टिक मिसाइलको दायरालाई निरन्तर विस्तार गरेको छ, सायद अर्को महादेशमा रहेको अमेरिकालाई आणविक हमलाको धम्की पनि दिएको छ । यो डर छ कि उत्तर कोरियाले, शासन–समापनको संकटको स्थितिमा, नियन्त्रण पुनः प्राप्त गर्न पर्याप्त आर्थिक र औद्योगिक सहायता सुरक्षित गर्न परमाणु युद्धको धम्की दिन सक्छ,’ लेखक ओवेन रस्टले द कलेक्टरमा लेखेका छन्, ‘दुर्भाग्यवश, यसले निकट भविष्यका लागि कोरियाको शान्तिपूर्ण पुनः एकीकरणको कुनै पनि राजनीतिक प्रयासलाई असम्भव बनाउँछ ।’ परमाणु निर्माण कार्यलाई नरोकेका कारणले गर्दा संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई नाकाबन्दी लगाइरहेको छ । उत्तर कोरियाले २००६, २००९, २०१३, २०१६ र २०१७ मा आणविक परीक्षण गरेपछि यूएनको सुरक्षा परिषद्को प्रस्ताव पारित गर्दै आर्थिक तथा प्रतिबन्धहरू हतियारमा नाकाबन्दी लगाएको हो । जुन अहिले पनि जारी छ । जसले गर्दा पनि उत्तर कोरियाको अर्थतन्त्र कमजोर भएको छ । परिषद्कै निर्णयअनुसार नेपालमा रहेका उत्तर कोरियाका कामदार तथा व्यापारीहरूलाई नेपाल सरकारले पनि फिर्ता पठाएको थियो । नेपाल यूएनको सदस्य मुलुक भएको कारणले गर्दा निर्णयलाई पालना गरेको हो ।

सन् २०१७ मा डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएलगतै उत्तर कोरियाका शासन किम जोङ उनलाई ‘रेक म्यान’ भन्दै ट्वीट गरे । ट्रम्पले किम जोङ उनले आणविक हतियार निर्माण कार्यलाई रोक्न आग्रह गर्दै त्यसो नगरे आक्रमण गर्ने पनि चेतावनी दिए । सन् २०१८ को जुन १२ मा उनीहरूबीच सिंगापुरमा भेटवार्ता भएको थियो । त्यसपछि सन् २०१९ को जुलाई १ मा दक्षिण कोरिया र उत्तर कोरियाबीचको क्षेत्र ‘डिमेलिटराइज जोन’ मा पुगेर ट्रम्प र किम जोङ उनले हात पनि मिलाए । तर त्यसपछि पनि प्याङयोङले मिसाइल निर्माण गर्न रोकेको छैन । जापानलाई लक्षित गरेर त्यसयता उत्तर कोरियाले पटक–पटक मिसाइल परीक्षण गरेको छ । पहिलो मिसाइल परीक्षण गरेको किम जोङ इलदेखि उनका छोरा किम जोङ उनसम्म आउँदा उत्तर कोरियाले लगातार रूपमा मिसाइल परीक्षण गरिरहेको छन् र संसार ठूला शक्तिहरूलाई धम्क्याइरहेका छन् ।

उत्तर कोरियाको मिसाइल प्रविधिका बारेमा पूर्वराजदूत आचार्यले पुस्तकमा लेखेका छन्, ‘उनीहरू (उत्तर कोरियाली) मिसाइल प्रविधि विकास गर्न पनि सक्षम भएका छन् । भोकमरी र गरिबी भए पनि उत्तर कोरियाको शक्ति भनेको परमाणु शक्ति नै हो । पाकिस्तानलाई परमाणु प्रविधि हस्तान्तरण गरेको उत्तर कोरियाले नै हो भन्ने गरिन्छ । सिरियालाई परमाणुयुक्त देश बनाउन उत्तर कोरियाले गुप्त सहयोग गरिरहेको आरोप पनि कतिपय जानकारहरूले लगाउने गर्छन् । उनीहरूले रक्षा र प्रविधिको विकासमा ठूलो लगानी गरेका छन् । उनीहरू सधैं युद्धकै अवस्थामा सचेत एवं सजग भई बसेका देखिन्छन् ।’

उत्तर कोरिया स्थापनापछिको पहिलो नेता किम इल सुङका नाति हुन्, किम जोङ उन । सन् १९९४ मा बाबु किम इल सुङको मृत्यु भएपछि किम जोङ इलले उत्तर कोरियाको नेतृत्व गरे । इलले ‘मेलिटरी फर्स्ट’ नीति ल्याए, जसले जनताको अवस्थाभन्दा पनि कसरी सैन्य रूपमा शक्तिशाली बन्ने बाटो लियो । देशको अर्थतन्त्रलाई डामाडोल बनायो । किम जोङ इलको सन् २०११ को डिसेम्बरमा मृत्यु भएको थियो । त्यसपछि किम जोङ उन युवा अवस्थामै पार्टी र देशकै सर्वोच्च नेता भए । वर्कर्स पार्टी अफ कोरियाका नेता किम जोङ उनले नेतृत्व सम्हाल्दा सन् २०१२ मा ३० वर्षका मात्र थिए । उनी अहिले ३९ वर्षका भए ।

चीनको पूर्वी उत्तर क्षेत्रमा रहेको कोरियालाई सन् १९१० मा जापानले उपनिवेश बनाएको थियो । त्यस बेलाका जापानका शासकहरूले चीन र कोरियामा शासन गरेर जनतालाई दुःख दिए । सन् १९४५ मा जापानका दुई सहर हिरोसिमा र नागासाकीमा अमेरिकाले बम झारेसँगै दोस्रो विश्वयुद्धले पनि बिट मार्‍यो । रोचक के रह्यो भने त्यसबेलासम्म कोरियाको उत्तरी क्षेत्रमा सोभियत युनियनको प्रभाव थियो भने दक्षिण क्षेत्रमा अमेरिकाको अधिपत्य थियो । कम्युनिस्ट विचारधारा भएको क्षेत्र उत्तर कोरिया भने प्रजातान्त्रिक विचारधारा रहेको स्थानलाई दक्षिण कोरिया भनियो । सोभियत युनियन र अमेरिका दुई कोरियालाई विभाजन गर्न तयार भए । सन् १९४५ को अगस्ट १० मा दुई जना युवा अमेरिकी सैनिक अधिकारीहरूले अमेरिकाको नियन्त्रणमा रहेको क्षेत्र र सोभियन युनियनको नेतृत्वमा रहेको क्षेत्रबीचमा ३८ समानान्तर खम्बाहरू खडा गरिदिए, जसले उत्तर कोरिया र दक्षिण कोरिया जन्मायो ।

सन् १९५० देखि १९५३ सम्म दुई कोरियाबीचमा युद्ध भयो । उत्तर कोरियाको सोभियत युनियन, सिरिया, इरान, भेनेजुयला, क्युवालगायत मुलुकले साथ दिए । उनीहरूले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा उत्तर कोरियालाई साथ दिइरहेका हुन् । सोही कारणले गर्दा अमेरिकासहित पश्चिमा मुलुकको साथ हुँदासमेत दक्षिण कोरियाले उत्तर कोरियामाथि जित हात पार्न सकेन । यो युद्धपछि पहिले कोरिएका १८ समानान्तर लाइनलाई नै आधार मानेर दुई देशबीचमा ‘डिमेलिटराइज जोन’ पनि खडा गरियो । त्यसयता दुई मुलुकको एकीकरणका बारेमा बेलाबेला चर्चा भए पनि हुन सकेको छैन । भूराजनीतिक शीतयुद्धकालमा उत्तर र दक्षिण कोरियाबीचको लडाइँमा सोभियत युनियन र अमेरिका लडेका थिए भने पछिल्लो समय चीन र अमेरिका लडिरहेका छन् । चीनका लागि छिमेकी उत्तर कोरिया असाध्यै महत्त्वपूर्ण क्षेत्र हो । दक्षिण कोरियाको अमेरिकी प्रभाव सियोलबाट प्याङयोङसम्म पर्न चिनियाँ रणनीति छ ।

भूराजनीतिक जानकार चन्द्रदेव भट्ट उक्त क्षेत्रको भूराजनीतिक कारणले गर्दा पनि दुई कोरियाली मुलुक एक हुन नसक्ने मान्छन् । ‘उत्तर र दक्षिण कोरियाबीच एकीकरण भयो भने कोरिया बलियो देश हुन्छ । त्यसको प्रत्यक्ष असर चीनलाई पर्छ, त्यसपछि जापान र अमेरिकालाई पर्छ,’ उनले टिप्पणी गरे । उक्त क्षेत्रको भूराजनीतिक कारणले गर्दा पनि उत्तर कोरियालीको शासन प्रणाली परिवर्तन नहुने उनले प्रस्ट पारे । ‘उत्तर कोरियाका जनता विकास र समृृद्धि चाहन्छन् । तर राज्य भने हतियार, परमाणु र सैन्य शक्तिमा लगानी गरिरहेको छ,’ उनले भने, ‘उत्तर कोरिया एक्लिएको मुलुक भएको छ । संसारका राज्यहरूले उसलाई फरक रूपमा हेर्छन् । त्यहाँको शासकमा जनताभन्दा सत्ता र जमिन बढी ध्यान छ । जसको बीचमा जनता परेका छन् ।’

प्रकाशित : असार ४, २०८० ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×