कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

टर्कीमा इर्दोगानको शासन तेस्रो दशकमा

बढ्दो आर्थिक संकट प्रमुख चुनौती
वैदेशिक नीतिमा पश्चिमा र अमेरिकाको नजर
एजेन्सीहरू

अंकारा — हालैको निर्वाचनबाट टर्कीको राष्ट्रपतिमा पुनः निर्वाचित भएका रेसेप तैय्यप इर्दोगानको शासनकाल तेस्रो दशकमा प्रवेश गरेको छ । सन् २००३ मा पहिलो पटक प्रधानमन्त्री भएर शासन सुरु गरेका इर्दोगान लगातार सरकार प्रमुख छन् । देशभित्रै विपक्षीको चर्को आलोचना खेपिरहेका उनी पुनः निर्वाचित हुनुले टर्कीको राजनीति, अर्थतन्त्र र वैदेशिक नीतिमा कस्तो अर्थ राख्ला ? अहिले चासोको विषय बनेको छ ।

टर्कीमा इर्दोगानको शासन तेस्रो दशकमा

गत मे २८ मा भएको दोस्रो चरणको निर्वाचनमा साँघुरो मत प्रतिशतले इर्दोगान राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले कुल खसेको मतमा ५२ प्रतिशत प्राप्त गर्दा ६ विपक्षी दलको गठबन्धनबाट साझा उम्मेदवार बनेका केमाल किलिचदारोग्लुले ४८ प्रतिशत मत पाए । यसअघि भएको मे १४ को पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवार ५० प्रतिशत मत नपाएपछि दोस्रो चरणको निर्वाचन भएको थियो ।

विश्लेषकहरूले यस पटकको निर्वाचन इर्दोगानका लागि कठिन भएको जनाएका थिए । उनीमाथि एकलौटी आर्थिक नीतिका कारण देशमा मूल्यवृद्धि बढिरहेको आरोप थियो । गत फेब्रुअरीमा गएको भूकम्पमा टर्कीमा ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । त्यस क्रममा नागरिकको उद्धार, राहत र व्यवस्थापनमा इर्दोगान सरकारले ढिलाइ गरेको आरोप थियो । अघिल्ला कार्यकालमा शिक्षा, स्वास्थ्य र संरचनामा उल्लेखनीय विकास गर्दै देशको अर्थतन्त्रलाई सुदृढ बनाएका इर्दोगान पछिल्लो समय भने ‘निरंकुश’ बन्दै गएको विपक्षीले आरोप लगाएका छन् । त्यसैले आगामी दिनमा उनलाई समस्याग्रस्त टर्कीको अर्थतन्त्र सुधार्ने मुख्य चुनौती हुनेछ ।

एक दशकयता इर्दोगानको शासनशैली निरंकुश र एक व्यक्तिकेन्द्रित रहेको आरोप छ । त्यही कारण अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र खुला सम्मेलनमा प्रतिबन्ध टर्कीमा देखिएको छ । यद्यपि, उनले अधिकार र स्वतन्त्रता फेरि बहाल गर्ने कुनै प्रतिबद्धताबिनै चुनाव जितेका छन् । धार्मिक क्षेत्रमा पनि ‘राजनीतिक रङ’ मिसाइरहेका इर्दोगानले त्यहीअनुसार चुनावी अभियान सञ्चालन गरेका थिए । त्यसैले टर्की अझै धार्मिक कट्टरपन्थी पथमा लम्किने आशंका विश्लेषकहरूको छ ।

टर्कीलाई मध्यपूर्व एसिया र युरोपको ‘पुल’ मानिन्छ । पछिल्लो समय रुस–युक्रेन युद्धमा टर्कीको झुकाव रुसतर्फ बढिरहेको छ । त्यसैले पश्चिमा देश र टर्कीबीचको तनाव बढिरहेको छ । त्यसो त मध्य पूर्वका देशसँग पनि टर्कीको सुमधुर सम्बन्ध छैन । तीन दशकयता धेरै देशसँग टर्कीको सम्बन्ध बिग्रने र सुमधुर हुने क्रम चलिरहेको छ ।

चुनावी अभियानमा पनि इर्दोगानले सामान्य रूपमा पश्चिमा देश र विशेष रूपमा अमेरिकाको आलोचना गरेका थिए । टर्कीलाई प्रभावित गर्ने क्षेत्रमा अमेरिकाको गतिविधि देखिएको उनको आरोप थियो । एक वर्षयता उनले सिरियासँग सम्बन्धित कुर्दिस पीकेके संगठनलाई अमेरिकाको सहयोग र ग्रीसको आइल्यान्डमा अमेरिकी सशस्त्र सवारीसाधन परिचालनको आलोचना गर्दै आएका छन् । बरु उनले रुसलाई प्रतिबन्ध लगाउने विषयमा नेटोसँगको सहकार्यलाई अस्वीकार गरे । रुससँग विशेष सम्बन्ध बढाए ।

अन्तर्राष्ट्रियस्तरमा टर्की नेटोको सदस्य हो, तर उसले हालसम्म युरोपमा प्रवेश पाइसकेको छैन । टर्कीको युरोपेली संघमा सहभागी चाहे पनि पूरा हुन सकेको छैन । त्यही कारण नर्वे नेटोमा सहभागी हुने क्रममा टर्कीले विरोध गरेको थियो । तर अन्तिमा उसले स्वीकृति दिएको थियो । अमेरिकाको दबाब बाबजुद स्वीडेनलाई नेटो प्रवेशमा अझै पनि टर्कीले रोक्दै आएको छ । गत बिहीबार मात्रै नेटोले स्वीडेनलाई सदस्यता दिन टर्कीले रोक्न नहुने प्रतिक्रिया दिएको छ ।

टर्कीको राजनीति होस् वा वैदेशिक नीति अन्ततः अर्थतन्त्रको अवस्थामा नै निर्भर हुने विश्लेषकहरूको भनाइ छ । यदि चुनावको परिणामपछि पनि दक्ष र शिक्षित नागरिक पलायन हुन्छन् भने टर्कीलाई बढ्दो आर्थिक संकट सामना गर्न झनै कठिन हुनेछ । यसले इर्दोगान आफ्ना नीतिहरूमा पुनर्विचार गर्न बाध्य हुने अनुमान गरिएको छ । उनी आफ्नो विदेश नीतिमा पनि फेरबदल गर्नुपर्ने अवस्थामा पुग्नेछन् ।

हाल टर्की वित्तीय सहायताका लागि साउदी अरब र रुसतर्फ ढल्किएको छ । यदि अपेक्षाअनुसार संकट नटरेमा उसलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र अन्य अन्तर्राष्ट्रिय संगठनको सहयोग आवश्यक पर्नेछ, जसका लागि अमेरिकासँगको सम्बन्ध बलियो बनाउनुपर्ने बाध्यता हुनेछ । इर्दोगानले राजनीति, अर्थनीति र वैदेशिक नीतिमा फेरबदलको कुनै पनि वाचाबिनै चुनाव जितेका छन् । यदि टर्की अहिले जुन आर्थिक संकटको सामना गरिरहेका छन्, यदि त्यसमा कुनै कमी नआएमा उनी आफ्ना नीति फेरबदल गर्न बाध्य हुनेछन् ।

प्रकाशित : जेष्ठ १९, २०८० ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?