अमेरिका र क्यानडामा हिमआँधीका कारण कम्तीमा २० करोड मानिस प्रभावित भएका छन् । अधिकारीहरूका अनुसार १९ जनाको मृत्यु भएको छ । चिसो बढेसँगै १२ राज्यमा संकटकालीन कदमहरू चालिएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।
कोरोना भाइरस नियन्त्रणका लागि जारी प्रतिबन्धहरू हटाइएको दुई सातामा चीनमा पुनः महामारी फैलिएको छ ।कोरोनाविरुद्ध ‘शून्य सहनशीलता नीति’ अख्तियार गर्दै आएको चीनले डिसेम्बर ८ देखि सावधानीका विकल्पसहित लचकता अपनाउन थालेको थियो ।
अफगानिस्तानको तालिवान फौजले पाकिस्तानको सीमावर्ती सहर चमनमा आइतबार गरेको आक्रमणमा ७ जना पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार बम तथा गोली प्रहारबाट १७ जना घाइते भएका छन् ।
विरोध प्रदर्शन चर्कंदै गएपछि इरानले धार्मिक प्रहरी खारेज गरेको छ । इरानका महान्यायाधिवक्तालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले धार्मिक प्रहरीको खारेजी गरिएको र हिजाबसम्बन्धी कानुनमा पुनरावलोकनको तयारी गरिएको जनाएको छ । ‘कानुनमा हेरफेर गर्नुपर्ने विषयमा संसद् र न्यायपालिका दुवैले यसबारे आवश्यक काम गरिरहेका छन्,’ महान्यायाधिवक्ता मोहम्मद जफर मोन्टाजेरीले भने ।
चीनमा कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएका कडा प्रतिबन्धको विरोधमा देशव्यापी प्रदर्शनहरू भएका छन् । सांघाई सहरमा सयौं मानिसहरूले राष्ट्रपति सी चिनफिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडियोहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । त्यहाँका सडकहरूमा सर्वसाधारणले प्रहरीका गाडीमा अवरोध पुर्याएका बीबीसीले उल्लेख गरेको छ ।
रुसले पछिल्लो समय युक्रेनका ऊर्जा केन्द्रहरूमाथिको आक्रमण तीव्र पारेपछि कम्तीमा ६० लाख मानिसहरू चिसोमा कठ्यांग्रिन बाध्य भएका छन् । ‘आजका दिनसम्म राजधानी किझ र अधिकांश क्षेत्रहरूमा अन्धकार छ,’ युत्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भनेका छन् ।
धार्मिक प्रहरीद्वारा पक्राउ परेकी इरानी युवतीले हिरासतमा ज्यान गुमाएपछि सुरु भएको विरोध प्रदर्शन पुनः चर्केको छ । कुर्दिस्तानस्थित आफ्नो घरबाट इरानको राजधानी तेहरान जाने क्रममा २२ वर्षीया महसा अमिनीलाई हिजाबसम्बन्धी कानुन उल्लंघनको आरोपमा ‘गस्त–इ–इरसाद’ प्रहरीले सेप्टेम्बर १३ मा पक्राउ गरेको थियो । पक्राउ परेको तीन दिनपछि उनले हिरासतमा ज्यान गुमाएकी थिइन् ।