जापानी विदेशमन्त्री नेपाल आउँदै

काठमाडौँ — जापानका विदेशमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छिन् । जापानको विदेश मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री योको कामीकावाको भ्रमण घोषणा गरेको हो ।

जापानी विदेशमन्त्री नेपाल आउँदै

जापानी विदेशमन्त्री श्रीलंका हुँदै नेपाल आउने भएकी हुन् । उनी वैशाख १४ गते नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । 'परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र नेपालको भ्रमण गर्नेहुनेछ,' जापानी विदेश मन्त्रालयले घोषणा गरेको छ । विदेशमन्त्री कामिकावा वैशाख २२ गते नेपाल आइपुग्ने भ्रमणतालिका रहेको छ । नेपालको परराष्ट्र मन्त्रालयले भने यसबारेमा अहिलेसम्म सार्वजनिक रूपमा जानकारी दिएको छैन ।

६ राष्ट्रको भ्रमणमा निस्कुनअघि विदेशमन्त्री कामिकावाले एक पत्रकार सम्मेलनमा ‘ग्लोबल साउथ’ र सात राष्ट्रहरूको समूहलगायत समान विचारधारा भएका देशहरूबीच सम्बन्ध विस्तारमा सेतुको रूपमा काम गर्ने बताएकी थिइन् । नेपाल भ्रमणका क्रममा जापानी विदेशमन्त्री कामिकावाले सन् २०२६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठ समारोह आयोजनाबारे पनि कुराकानी गर्ने सम्भावना रहेको छ ।

यसअघि जापानका तत्कालीन विदेशमन्त्री तारो कोनोले २०७५ पुस २५ मा नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरो नेपाल भ्रमणमा आएका थिए ।

नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुवै देशबाट उच्चस्तरीय भ्रमण हुने गरेका छन् । सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जापान भ्रमण गरेका थिए । त्यतिबेला जापानमा केइजो ओबुची प्रधानमन्त्री थिए । त्यसको दुई वर्षपछि जापानी प्रधानमन्त्री मोरी नेपाल भ्रमणमा आएका थिए । उनको भ्रमण नै जापानी प्रधानमन्त्रीको पहिलो औपचारिक नेपाल भ्रमण थियो । त्यसपछि जापानका विदेशमन्त्रीहरू कोइचिरो गेम्बा र तारो कोनो नेपाल भ्रमणमा आएका थिए ।

नेपालका तर्फबाट भने तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सन् २०१८ मा ५ दिने औपचारिक भ्रमणमा जापान गएका थिए । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी सम्राट नारुहितोको गद्दी आरोहणका क्रममा सन् २०१९ मा जापान भ्रमणमा गएकी थिइन् । त्यतिबेला उनलाई तत्कालीन प्रधानमन्त्री आबेले समेत भेटेका थिए ।

प्रकाशित : वैशाख १६, २०८१ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?