कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सञ्जीव थापाको ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक

काठमाडौँ — नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापाद्वारा लिखित ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक भएको छ ।शनिवार नेपाली कांग्रेसका नेताद्वय विमलेन्द्र निधि र मीनेन्द्र रिजाल, दिव्य शताब्दी पुरुष गौरीलाल शंकरदास र सोसाइटीका पूर्वमहामन्त्री देवरत्न धाख्वाले संयुक्तरुपमा उनको पुस्तक ‘रेडक्रस अभियान एक, सेवा अनेक’ लोकार्पण गरेका हुन् ।

सञ्जीव थापाको ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक

तीन कार्यकाल रेडक्रसको अध्यक्ष भएर काम गरेका उनले त्यस अवधिमा गरेका कामको फेहरिस्त र अनुभव संगाल्दै विभिन्न ११ अध्यायमा तीन सय २६ पृष्ठको सो पुस्तक लेखेका छन् । आफ्नो कार्यकालमा भएका उपलब्धि तथा चुनौतीसहित नेपालमा रेडक्रस अभियानको इतिहासलाई जीवन्तरुपमा सरल भाषामा उजागर गर्ने प्रयास गरेको उनले बताए ।

पुस्तकभित्र रेडक्रसको तीन अङ्ग रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी), रेडक्रस एवं रेडक्रिसेन्ट सोसाइटीहरुको महासंघ (आइएफआरसी) र राष्ट्रिय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीहरुको कामका बारेमा जानकारी दिइएको छ ।

साथै नेपाल रेडक्रसको स्थापनाका सन्दर्भ र हालसम्म आइपुग्दा यसले खेप्नुपरेका अरोहअवरोधलाई पुस्तकमा सटिक ढङ्गबाट विश्लेषण गरिएको छ । अन्तर्राष्ट्रिय रेडक्रस एवं नेपाल रेडक्रसको अभ्युदय, रेडक्रसका मेरो प्रवेश र विभिन्न हैसियतमा रहँदा भएका प्रयास, अध्यक्षताको तीन कार्यकालमा गरिएका प्रयास, सञ्चालित कार्यक्रम र तिनको उपलब्धि, नेपाल रेडक्रसको स्वर्ण जयन्ती, रेडक्रसद्वारा सम्पादित काम र उपलब्धि, रेडक्रस र सरकाबीचमा सम्बन्ध, रेडक्रसले आगामी दिनमा चाल्नुपर्ने कदम, सेवादान र गोदाम घर निर्माण, समाजसेवा बद्लिँदो प्रवृत्ति र रेडक्रस कानुन शीर्षकभित्रका अध्यायमा थापाले आफ्ना अनुभवलाई पुस्तकमा लिपिबद्ध गरेका छन् ।

सो अवसरमा नेता निधिले मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता र विश्वव्यापकताजस्ता रेडक्रसको सिद्धान्तअनुसार नेपाल रेडक्रसलाई सञ्चालन गर्नुपर्ने बताए । उनले भने, 'नेपाल रेडक्रसलाई राजनीतिक विवादको क्रिडास्थल र यसका कामलाई हस्तक्षेप गरिनुहुन्नँ । राजनीति आस्था र विचारले रेडक्रस हेरिनु हुँदैन । विपद्का समयमा मानवीय सेवा र सङ्कटासन्न समुदायको हित गर्ने यसको मूल ध्येयलाई कही कतैबाट विवादको विषय बनाइनुहुन्न ।'

अर्का नेता रिजालले मानवता र मानव सेवा गर्ने रेडक्रसको स्थापित उच्च राष्ट्रिय र अन्तर्राष्ट्रिय छविलाई खुस्काउने काम कहीँकतै कुनाबाट गर्न नमिल्ने बताए ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले रेडक्रस जस्तो पवित्र संस्थालाई दलीय दलदलमा फसाउन खोज्ने र दलीयकरण गर्न खोज्ने दुवै प्रवृत्तिविरुद्धमा सङ्गठित आवाज उठाउन आवश्यक रहेको टिप्पणी गरे ।

प्रकाशित : वैशाख २९, २०८१ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×