कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

किताब जात्रा साउन १८ र १९ मा

काठमाडौँ — किताब यात्रा फाउन्डेसनले गर्दै आएको ‘किताब जात्रा’को छैटौं संस्करण काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा साउन १८ र १९ गते हुने भएको छ । फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल निर्देशक ऋषिराम अधिकारीले दुई वर्षपछि पुनः भौतिक रूपमै कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

किताब जात्रा साउन १८ र १९ मा

उनका अनुसार जात्रामा साहित्यका अतिरिक्त कला, सामाजिक तथा आर्थिक क्षेत्रसँग सम्बन्धित समसामयिक विषयवस्तुमा विमर्श गरिनेछ । जात्रामा यस वर्ष भाषा, साहित्य, फिल्म, समाज, बैंकिङलगायत क्षेत्रका व्यक्तित्वहरू समावेश १५ सेसन रहनेछन् । साथै ‘संगम श्रुति’ ब्यान्डको सांगीतिक प्रस्तुति पनि रहने उनले बताए ।

त्यस्तै, जात्रामा काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफी, रक्तदानजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधिसमेत हुने किताब यात्रा प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रम संयोजक विकेश भट्टराईले जानकारी दिए । यस्ता कार्यक्रमले पठनसंस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउन मद्दत पुर्‍याउने उनको दाबी छ ।

जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ । सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिँदै आएको छ । पुरस्कार गत वर्ष साहित्यकार ध्रुवचन्द्र गौतमलाई प्रदान गरिएको थियो ।

जात्राका अवसरमा ‘किताब यात्रा’ले आफ्नो प्लाटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ समेत प्रदान गर्नेछ । गत वर्ष लेखक गिरीश गिरीको ‘सत्यमोहन’ले उक्त अवार्ड जितेको थियो । त्यस्तै, एक जनालाई प्राइम सीएको सहकार्यमा खुला आवेदनका आधारमा सीए अध्ययनका लागि ‘प्रेम प्रसाद मेमोरियल स्कलरसिप’ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : श्रावण ६, २०८१ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×