कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

अधिकारीका दुई किताब विमोचन

काठमाडौँ — कवि, कथाकार, निबन्धकार तथा विश्लेषक हरि अधिकारीको फरक–फरक विधाका दुई किताबको शनिबार लोकार्पण गरिएको छ ।

अधिकारीका दुई किताब विमोचन

अधिकारीले ५० वर्षभन्दा लामो कविता–लेखन यात्रामा रचना गरेका समग्र कवितालाई एउटै संग्रहमा समावेश गरी यसै वर्ष प्रकाशनमा आएको ‘कवितासँग पाँच दशक’ र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त २० विशिष्ट व्यक्तित्वसँग गरिएको अन्तर्वार्ताका आधारमा तयार पारिएको अन्तर्वार्ताहरूको संग्रह ‘संवादमा समयविम्ब’ को प्रमुख अतिथि वरिष्ठ चिकित्सक डा. गौरीशंकर लाल दासले विमोचन गरे ।

पूर्वन्यायाधिश गौरीबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा विमोचित ‘संवादमा समयविम्ब’ नामक किताबमा २० जना विशिष्ट व्यक्तिको अनुभव, अनुभूति, अवलोकन र अन्तर्दृष्टि समेटिएका छन् । किताबले समग्रमा समसामयिक नेपालको राजनीति, अर्थतन्त्र, संस्कृति, सामाजिक मनोविज्ञान, समाजको नैतिक मूल्यमा आएको विचलन र व्याप्त भ्रष्टाचार, विकृति, विसंगतिका साथै नेपाली युवाहरूको विदेश पलायनजस्ता समसामयिक राष्ट्रिय जीवनका ज्वलन्त समस्यामाथि विमर्श गरेको छ ।

डा. गौरीशंकर लाल दासले अधिकारीद्वारा संकलित र संयोजित संवादमा समयविम्बले समसामयिक नेपालको समग्र चित्र खिचेको बताए । ‘यो ग्रन्थ समसामयिक नेपालको इतिहास अध्ययन गर्नेहरूका निमित्त एउटा उत्कृष्ट सन्दर्भग्रन्थ बन्ने कुरामा पनि म विश्वस्त छु,’ उनले भने । वक्ताहरू डा. विमल कोइराला, डा. तिलकबहादुर रावल र चिरञ्जिवी वाग्लेले समयमा समयविम्बले समसामयिक नेपालको यथार्थ चित्र प्रस्तुत गरेको बताए ।

कार्यक्रम प्रारम्भमा समीक्षक राजकुमार बानियाँले अधिकारीको कविता संग्रह ‘कवितासँग पाँच दशक’ को पाठकीय समीक्षा प्रस्तुत गरेका थिए भने कांग्रेस नेता लोकेश ढकालले ‘संवादमा समयविम्ब’ माथि समीक्षात्मक टिप्पणी गरे । कार्कीले संवादका समयविम्ब आजको नेपाली समाजको जीवन्त तस्वीर भएको बताए ।

प्रकाशित : श्रावण ६, २०८१ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×