२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

सात स्रष्टालाई गण्डकी प्रज्ञा–प्रतिष्ठानको सम्मान

पोखरा — गण्डकी प्रज्ञा–प्रतिष्ठानले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा विभिन्न विधाका सात स्रष्टालाई शनिबार पोखरामा सम्मान गरेको छ । 

सात स्रष्टालाई गण्डकी प्रज्ञा–प्रतिष्ठानको सम्मान

गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट कवि भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट लोकगायक पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कलाकार गोपाल श्रेष्ठ सम्मानित भए । प्रतिष्ठानले उनीहरुलाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।

गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट ५० हजार रुपैयाँसहित साहित्यकार सरस्वती प्रतीक्षा सम्मानित भइन् । गण्डकी प्रज्ञा युवा सम्मानतर्फ नृत्य विधाका रविन गुरुङ र कला विधाबाट छिरिङ फोन्जो गुरुङ सम्मानित भए । उनीहरुलाई प्रतिष्ठानले नगद २५ हजार रुपैयाँ प्रदान गरेको थियो ।

सम्मानित स्रष्टालाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सीता सुन्दास, उर्जा जलस्रोत तथा खानेपानी मन्त्री वेदबहादुर गुरुङ, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.श्रीकान्त शर्मा खतिवडा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठ, कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोकदोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, उपकुलपति गोरे गुरुङलगायतले सम्मान अर्पण गरे ।

कार्यक्रममा मुख्यमन्त्री अधिकारीले साहित्य, संस्कृति र कलामार्फत गण्डकी प्रदेशलाई विश्वभर चिनाउनुपर्ने बताए । प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने उनको भनाइ थियो ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको संयोजकत्वमा गठन भएको समितिले स्रष्टा छनोट गरेको थियो । छनोट समितिमा कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, कलाकार यादवचन्द्र भुर्तेल र प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ सदस्य थिए ।

स्थापना दिवसकाको अवसर प्रतिष्ठान परिसरमा निर्माण गरिएको स्रष्टा स्मृति पार्कको मुख्यमन्त्री अधिकारीले उद्घाटन गरे ।

प्रकाशित : वैशाख २९, २०८१ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?