कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

रासस

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

ललितपुरको महालक्ष्मी नगरपालिका–१० को नवनिर्मित वडा कार्यालय भवन उद्घाटनका लागि शनिबार आयोजित समारोहमा सभामुख घिमिरेले राजनीतिक परिवर्तनको आन्दोलन सम्पन्न भएको बताउँदै अब पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्नेतर्फ सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

जनप्रतिनिधि र राजनीतिक दलमा इच्छाशक्ति भयो भने हरेक क्षेत्रको विकास सम्भव हुने भन्दै स्थानीय तहको विकास र आकर्षणका लागि जनप्रतिनिधि र राजनीतिक दलले योजना बनाएर लाग्नुपर्ने सभामुखको भनाइ थियो । 'समृद्धिको आधार पर्यटन हो, हिजो सबैभन्दा अपहेलनामा रहेको ठाउँ अहिले आकर्षक बन्ने क्रममा छ, यहाँ गणेशमान पार्क र मनमोहन पार्क बनेका छन्, भएका प्राकृतिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्दै नभएका कुराहरुको विकास गर्न सकियो भने राजधानी नजिकैको सुन्दर र रमणीय ठाउँ आकर्षणको केन्द्र बन्न सक्छ । गर्मीमा यो चिसो ठाउँमा आएर सुन्दरताको उपभोग गर्ने लालयीत हुन्छन्,' सभामुख घिमिरेले भने ।

सभामुख घिमिरेले उद्घाटन भएको भवनबाट जनताको दैनिक सेवासुविधालाई सहज बनाउन गुणात्मक उपलब्धि हुने अपेक्षा गरेका थिए । स्थानीय जनताको प्रयत्न र लगनशीलताले मात्रै समृद्धि हासिल हुने बताउँदै आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । वडा कार्यालयको भवन निर्माणले जनतालाई छिटो र सहजरुपमा सेवा प्रदान गर्ने भन्दै यसले संघीयताको प्रभावकारिताका लागि सहयोग पुर्‍याएको बताए ।

प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले ग्वार्कोबाट पनौतीसम्म पुग्ने यहाँको सडकलाई स्तरोन्नति गरेर सहज बनाउने कार्यमा लाग्ने र यहाँको पर्यटन विकासमा क्रियाशील रहने बताए । उनले नगरकोट र धुलिखेल जस्तै पर्यटकीय क्षेत्र बनाउनका लागि संघीय सांसदका रुपमा भूमिका निर्वाह गर्ने बताए ।

सांसद महर्जनले स्थानीय उत्पादनलाई बजारीकरण गरेर समृद्धि हासिल गर्नतर्फ लाग्न आग्रह गर्दै त्यसका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । महालक्ष्मी क्षेत्रको औद्योगिक, सांस्कृतिक र पर्यटकीय विकासमा सबैले हातेमालो गरेर लाग्नुपर्नेमा उनको जोड थियो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले पहिलो कार्यकालमा आफू नगरप्रमुख हुँदा स्वच्छ, सफा, समृद्ध र सुन्दर नगरपालिका बनाउने कार्ययोजना तय गरेको बताए ।

मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा ६८ वटा ऐन, कानुन बनाएको जानकारी गराउँदै विभिन्न प्राविधिक कारणले नगरपालिका भवन निर्माण हुन नसकेको बताए । उनले प्रदेश तहबाट हरेक किसिमले महालक्ष्मी नगरपालिकाको समृद्धिका लागि क्रियाशील रहने प्रतिबद्धता जनाए ।

प्रकाशित : वैशाख २९, २०८१ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x