पूर्वप्रधानमन्त्री खान पक्राउ परेपछि पाकिस्तानमा तनाव

सत्तामा रहादा भ्रष्टाचार गरेको आरोप
पाकिस्तानी सेनाको मुख्यालयसहित विभिन्न सहरमा प्रदर्शन
एजेन्सीहरू

इस्लामाबाद — पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ (पीटीआई) प्रमुख इमरान खान पक्राउ परेका छन् । उनलाई इस्लामाबाद उच्च अदालत अगाडि मंगलबार पक्राउ गरिएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ । खानको पक्राउको विरोधमा पाकिस्तानका विभिन्न सहरमा प्रदर्शन भएको छ ।

पूर्वप्रधानमन्त्री खान पक्राउ परेपछि पाकिस्तानमा तनाव

इस्लामाबाद प्रहरीले खानलाई अल कादिर ट्रस्टको मामिलामा पक्राउ गरेको हो । अर्को कुनै मुद्दामा धरौटी बुझाउन अदालत पुगेका खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो । एनएबी (नेसनल एकाउन्टिबिलिटी ब्युरो) ले आफ्नो कानुनअनुसार खानलाई पक्राउ गरेको विज्ञप्ति जारी गरेको छ ।

एनएबीले खानलाई नोटिस दिएको र त्यसको सन्तोषजनक उत्तर नदिएपछि पक्राउ गर्नुपरेको विज्ञप्तिमा जनाएको छ । पाकिस्तानमा एनएबीले भ्रष्टाचारसम्बन्धी मामिलाको जाँच गर्दै आएको छ । खानलाई सुरक्षा निकायले हिरासतमा लिएपछि एनएबीलाई हस्तान्तरण गरेको पाकिस्तानका सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानका पूर्वविदेशमन्त्री साह महमुद कुरेसीको अध्यक्षतामा गठन भएको ६ सदस्यीय समितिले उनको कारबाहीबारे निर्णय गर्ने पाकिस्तानका राष्ट्रिय सभा सदस्य असद उमरलाई उद्धृत गर्दै डनले लेखेको छ ।

तेहरिक–ए–इन्साफका वकिल फैसल चौधरीले पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गरिएको पुष्टि गरे । पीटीआईका उपप्रमुख फवाद चौधरीले एक ट्वीट गर्दै रेन्जर्सले खानलाई उच्च अदालत अगाडि पक्राउ गरेको जनाएका छन् । खानविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतले बारम्बार उपस्थित हुन जारी गरेको सूचनालाई अवज्ञा गरेको भन्दै पक्राउ गरिएको पाकिस्तानको गृह मन्त्रालयले जनाएको छ ।

खान पक्राउ प्रकरणमा इस्लामाबाद उच्च अदालतका मुख्य न्यायाधीश आमिर फारुकले पाकिस्तानका आन्तरिक सचिव, इस्लामाबादका आईजी, अतिरिक्त महान्यायाधिवक्तालाई अदालतमा उपस्थित हुन आदेश दिएका छन् । घटनाको क्रममा तोडफोड भएको र दोषीलाई कारबाही गर्ने फारुकले जनाएका छन् । खानको पक्राउ कानुनी वा गैरकानुनी हो भन्नेबारेमा अदालतले आफ्नो फैसला सुरक्षित राखेको छ ।

खानले सन् २०१९ डिसेम्बर २६ मा अल कादिर ट्रस्ट स्थापना गरेका थिए । यो ट्रस्टका प्रमुख खान स्वयं र उनकी पत्नी बुसरा बीबी छन् । पाकिस्तानको डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सत्तामा आएपछि गत वर्षको जुनमा खान र उनकी पत्नीविरुद्ध एक रियल इस्टेट कम्पनीको अवैध ५० अर्ब रकमलाई कानुनी हैसियत दिएको आरोप लागेको थियो । त्यसबापत आफ्नो ट्रस्टका लागि अर्बौं रुपैयाँको जमिन दानमा हासिल गरेको आरोप उनीहरूमाथि छ ।

खानको प्रधानमन्त्रीकालमा मलिक रियाजको अवैध रकम फिर्ताको निर्णय गरेको, त्यसबापत मलिकले खान दम्पतीलाई जमिन दिएकोलगायत आरोप छ, जसमा एनएबीले अनुसन्धान गरिरहेको छ । यस मामिलामा पक्राउ पर्न सक्ने सम्भावना भएपछि खानले पक्राउमा रोकको मागसहित इस्लामाबाद उच्च अदालतमा मंगलबार निवेदन दिएको उनका वकिलले बताएका छन् । खानमाथि अन्य मुद्दाहरू पनि चलिरहेका छन् ।

सन् २०२२ अक्टोबरमा पाकिस्तानको चुनाव आयोगले तोषाखाना मामिलामा खानलाई आगामी पाँच वर्षका लागि चुनाव लड्न अयोग्य करार गरेको थियो । खानले सत्तामा रहँदा सरकारी स्वामित्वको एक विभाग तोषाखानाबाट उपहार लिएको र यसबारे सरकारी अधिकारीलाई सही जानकारी नदिएको चुनाव आयोगले जनाएको थियो । खानले भने यस्तो आरोपलाई गलत बताउँदै आएका छन् । यस्तै, खानले प्रधानमन्त्री हुँदा आफ्नो फाइदाका लागि महँगा उपहार बेचेको पनि आरोप छ, जसको विवरण उनले चुनाव आयोगलाई सम्पत्ति घोषणा गर्ने क्रममा दिएका थिएनन् ।

खानविरुद्ध महिला न्यायाधीशलाई अपमान गरेको मुद्दा पनि छ । २०२२ अगस्टमा खानका सहयोगी शहबाजलाई देशद्रोहको आरोपमा पक्राउ गरिएको थियो । खानले शहबाजलाई प्रताडित गरिएको आरोप लगाएका थिए भने विरोध प्रदर्शनको क्रममा इस्लामाबाद प्रहरी प्रमुख र महिला न्यायाधीशको निन्दा गरिएको थियो ।

यसैबीच, पीटीआईका कार्यकर्ताले रावलपिण्डीस्थित पाकिस्तानी सेनाको हेडक्वार्टर जीएचक्यूको प्रवेशद्वारमा तोडफोड र प्रदर्शन गरेका छन् । अर्को सहर लाहोरमा पनि ठूलो संख्यामा प्रदर्शनकारी सडकमा आएका छन् । उनीहरूले प्रहरीका तथा अन्य सवारीसाधनमा आगजनी गरेका छन् । पीटीआईका नेता शाह महमुद कुरेसीले खानको पक्राउको विरोधमा प्रदर्शनमा आउन आह्वान गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले खानले पाकिस्तानी सेनालाई बारम्बार बदनाम गर्न खोजेको आरोप लगाएका छन् । ‘सत्ता गुमाएपछि पाकिस्तानी सेनालाई बारम्बार बदनाम गर्नु तपाईंको नीति थियो । के तपाईंले वजिराबादको घटनाअघि पनि सेना, गुप्तचर निकाय र यसका नेतृत्वको बदनाम गरिरहनुभएको थिएन ?’ सरिफले खानलाई प्रश्न गरेका छन् । वजिराबाद घटनामा खानमाथि एक बन्दुकधारीले गोली प्रहार गरेपछि उनी घाइते भएका थिए । यसअघि खानले प्रधानमन्त्री सरिफलाई ट्वीटरमा सेनाका अधिकारी कानुनभन्दा माथि रहेको हो भन्दै प्रश्न गरेका थिए ।

खान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । तर, आफ्नै पार्टीका नेताहरूले साथ छाडेपछि उनले संसद्मा बहुमत गुमाएका थिए । गत वर्ष विपक्षी दलले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसक्रममा उनले विश्वासको मत पाउन नसकेपछि सत्ताच्युत भएका थिए भने सरिफ पाकिस्तानका प्रधानमन्त्री बनेका थिए । सत्ता गुमाएपछि खानले निरन्तरजसो सरकार र पाकिस्तानी सेनाका अधिकारीहरूको विरोध गर्दै आएका छन् ।

उनले समयअगावै चुनावका लागि पनि दबाब दिँदै आएका थिए । पाकिस्तानमा यसै वर्षको अन्त्यतिर चुनाव हुने तय भएको छ । पाकिस्तानी सेनाले भने आधारहीन आरोप नलगाउन गत सोमबार मात्रै खानलाई चेतावनी दिएको थियो ।

प्रकाशित : वैशाख २७, २०८० ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?