ट्वीटरको चरा ‘उड्यो’कुकुरको पहरेदारी

मस्कले डोजक्वाइन क्रिप्टोकरेन्सीमा प्रयोग हुने आइकन डोज (कुकुर) लाई ट्वीटरको लोगो बनाएका छन्, यसो गर्नुको कारण भने उनले खुलाएका छैन
एजेन्सीहरू

न्युयोर्क — ट्वीटरको होमपेज खोल्नेबित्तिकै सधैं एउटा प्रश्न देखिन्छ– ह्वाट्स ह्यापेनिङ अर्थात् के भइरहेको छ ? यो प्रश्नको अहिलेको सम्भावित उत्तर हो– ट्वीटरमा धेरै कुरा भइरहेको छ । र, यस्तो हुनुको पछाडिका कारण हुन्, विश्वका अर्बपति प्रविधि व्यवसायी इलन मस्क । 

ट्वीटरको चरा ‘उड्यो’कुकुरको पहरेदारी

करिब एक वर्षअघि ४४ बिलियन डलर (करिब ५४ खर्ब रुपैयाँ) मा मस्कले ट्वीटर किनेका थिए । त्यसयता आफ्ना ट्वीट र निर्णयका कारण उनी बारम्बार विवादमा पर्दै आएका छन् । उनको पछिल्लो निर्णय हो, ट्वीटरको लोगो परिवर्तन । यसअघि लोगोका रूपमा रहेको ‘नीलो चरा’ (ब्लु बर्ड) लाई परिवर्तन गरी उनले अहिले डोजकोइन क्रिप्टोकरेन्सीमा प्रयोग हुने आइकन डोज (कुकुर) लाई ट्वीटरको लोगो बनाएका हुन् ।

लोगो परिवर्तन भएपछि सोमबार विभिन्न ट्वीटर युजरहरूले यसबारे आ–आफ्ना धारणा राखेका थिए भने ट्वीटरका सीईओसमेत रहेका मस्कले ट्वीटरमा रहेको नीलो चरो अब पुरानो भइसकेको भन्ने सन्देश दिने खालको मिम पोस्ट गरेका थिए । अझै पनि केही मोबाइल डिभाइसमा भने ट्वीटरको लोगोमा नीलो चरो नै देखिइरहेको छ । ट्वीटरको लोगोका रूपमा नयाँ आइकन आएसँगै डोजक्वाइनको सेयर भ्यालु ३० प्रतिशतले बढेको छ ।

अहिले डोजक्वाइनको भ्यालु ०.०७९ डलरबाट ०.०९४ डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था गार्जियनले उल्लेख गरेको छ । मिमका रूपमा पनि प्रयोग हुँदै उक्त आइकन अब ट्वीटरको लोगो बनेको छ । परिवर्तन भएको ट्वीटरको लोगो ‘डोज’ सन् २०१३ मा बिटकोइनलगायत क्रिप्टोकरेन्सीलाई जिस्काउनका लागि निर्माण गरिएको थियो । मस्कले आफू डोज मिमको ठूलो फ्यान भएको बताउँदै आएका छन् । मस्कले लोगो परिवर्तनको कारणबारे भने खुलाएका छैनन् । कतिपयले भने अप्रिल फुल मनाएको भनी टिप्पणीसमेत गरेका छन् ।

फेब्रुअरी १५ मा उनले एउटा कुकुरको तस्बिर सेयर गर्दै लेखेका थिए– ट्वीटरको नयाँ सीईओ कमालको छ । केही दिनअघि मात्रै मस्कले एउटा मिम सेयर गरेका थिए । जहाँ एक प्रहरी हातमा कार्ड लिएर उभिएका थिए । कार्डमा ट्वीटरकै लोगो भएको नीलो चरो थियो । तर कुकुरले जवाफ दिएको थियो– यो त पुरानो चरो हो । मस्कले उक्त मिमबाटै लोगो फेर्ने संकेत गरेका थिए । त्यसैको परिणाम हाल उनले ट्वीटरको लोगोमा कुकुरलाई स्थापित गरिदिए ।

हरेक दिन २० करोडभन्दा बढी मानिसहरूले प्रयोग गर्ने माइक्रोब्लगिङ साइट हो ट्वीटर । मस्कले ट्वीटर किनेसँगै यसमा आमूल परिवर्तन हुने घोषणा गरेका थिए । तर, पछिल्लो समय करोडौं युजर्सलाई तरंगित पार्ने गरी ब्लु टिकका लागि पैसा तिर्नुपर्ने नियम ल्याएपछि उनको यो निर्णय विवादमा परेको थियो ।

डोजक्वाइन विश्वको तेस्रो शक्तिशाली क्रिप्टोकरेन्सी मानिन्छ । मस्कमाथि डोजक्वाइनलाई बढावा दिनका लागि निवेशकलाई प्रभावित गरेको आरोप पनि लाग्ने गरेको छ । डोजक्वाइन र एलन मस्कसँग जोडिएको एउटा मुद्दा अदालतमा चलिरहेको छ । मस्कमाथि २५८ बिलियन डलरको मुद्दा अमेरिकामा चलिरहेको छ । मस्कले शुक्रबार अदालतसमक्ष उक्त मुद्दा बन्द गर्न भनेका थिए । मस्कका वकिलले उनले निवेशकलाई प्रभावित पार्ने गरेको कुनै आधार नभएको जिकिर गर्दै आएका छन् ।

सन् २०२१ मा मस्कले डोजी–१ नामको स्याटेलाइट लञ्च गर्ने जनाएका थिए, जो चन्द्रमासम्म पुग्नेछ । र, यस मिसनको लागत डोजक्वाइनबाट गर्न सकिने उनको योजना थियो । यसबाट डोज शब्दसँग उनको लगावलाई बुझ्न सकिन्छ ।

मस्कले डोजीलाई नै ट्वीटरको लोगो बनाउनुको कारण भने खुलाएका छैनन् । जबकि उनी केही समययता डोजक्वाइनबाट दायर भएको मुद्दा खारेज गर्न माग गरिरहेका थिए । मस्कले कुकुरको प्रयोग गर्नुको कारण जे भए पनि सोसल मिडिया मिम एक प्रमुख कारण मानिएको छ ।

साथै उक्त कुकुरलाई विभिन्न स्थानमा विशेष ऐतिहासिक घटनासँग पनि जोडेर हेर्ने गरिन्छ । जापानमा कुकुरको एउटा प्रजाति छ, शिवा इनु । यही प्रजातिको एउटा कुकुरको नाम हो– काबोसु । अहिले सामाजिक सञ्जालमा सेयर भएको यो कुकुरको तस्बिर सन् २०१० मा एउटा ब्लगमा अपलोड गरिएको थियो । डोजक्वाइनमा प्रयोग हुन थालेपछि यो कुकुरको तस्बिर चर्चामा आएको थियो ।

दक्षिण अफ्रिकामा जन्मिएका मस्कले सन् १९९९ मा अनलाइन पेमेन्ट सिस्टम पेपाल स्थापना गरेका थिए । सन् २००२ मा उनले १.५ अर्ब डलरमा पेपाल इबे कम्पनीलाई बेचे । यसबाट उनलाई १८ करोड डलर फाइदा भएको टाइम म्यागजिनको रिपोर्टमा उल्लेख छ । त्यसपछि इलनले स्पेस एक्स नामक रकेट कम्पनी स्थापना गरे । यसले नासासँग मिलेर अन्तरिक्षका मिसनहरूमा काम गर्छ । मंगल ग्रहमा उपनिवेश खडा गर्ने इलनको लक्ष्य छ । उनी मान्छेको टाउकोभित्र कम्प्युटर जडान गर्ने परियोजनामा पनि काम गरिरहेका छन् ।

न्युरोलिंक नामक उनको कम्पनीले मानिसको खोपडीमा माइक्रोचिप्स जडान गर्ने र रोबर्टद्वारा मस्तिष्कको सर्जरी गर्ने प्रणाली निर्माणको काम गरिरहेको छ । आफूहरूले मानव मस्तिष्क र आर्टिफिसियल इन्टेलिजेन्सको सहअस्तित्व विकास गर्न खोजेको मस्क बताउने गर्छन् । न्युरोलिंकलाई उनको अनौठो र भविष्यवादी (फ्युचरिस्टिक) कम्पनीका रूपमा लिइन्छ । हार्वर्ड विश्वविद्यालयकी इतिहासविद् जिल लेपोरेले ‘दि इभनिङ रकेट’ नामक आफ्नो पडकास्टमा मस्कलाई साइन्स फिक्सनमा आधारित चरम पुँजीवादका प्रतिनिधि पात्रका रूपमा अर्थ्याएकी छन् ।

अन्तरिक्ष कब्जा गर्नुका साथै मानवताको रक्षा गर्नेजस्ता अजिब योजना बनाउने मस्कको पारालाई उनी ‘मस्किजम’ को संज्ञा दिन्छिन् । उनको परिभाषामा मस्किजम भनेको टेक्नो–युटोपियनिजम (प्रविधिसँग सम्बन्धित आदर्शवाद) हो, जुन असाध्यै आकर्षक र उत्तिकै खतरनाक छन् । आफ्ना महत्त्वाकांक्षी परियोजनाहरूबाहेक मस्क इन्टरनेटलाई ध्रुवीकरण गर्ने व्यक्तिका रूपमा पनि परिचित रहेको यूएसए टुडेको समाचारमा भनिएको छ ।

प्रकाशित : चैत्र २२, २०७९ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?