कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा फैलियो कोरोना संक्रमण

एजेन्सीहरू

बेइजिङ — कोरोना भाइरस नियन्त्रणका लागि जारी प्रतिबन्धहरू हटाइएको दुई सातामा चीनमा पुनः महामारी फैलिएको छ ।कोरोनाविरुद्ध ‘शून्य सहनशीलता नीति’ अख्तियार गर्दै आएको चीनले डिसेम्बर ८ देखि सावधानीका विकल्पसहित लचकता अपनाउन थालेको थियो ।

चीनमा फैलियो कोरोना संक्रमण

पश्चिमी चीनको उरुम्चीमा कडा प्रतिबन्ध जारी रहेका बेला एक अपार्टमेन्टमा फैलिएको आगलागीमा १० जनाको ज्यान गएपछि प्रदर्शन चर्केको थियो । भाइरससम्बन्धी कडा प्रतिबन्धका कारण उनीहरूको ज्यान गएको भन्दै स्थानीयले शून्य कोभिड नीतिको विरोधमा प्रदर्शन चर्काएका थिए । उरुम्चीबाट सुरु भएको प्रदर्शन बेइजिङ, सांघाई, नान्जिङ, गोङजाउ, गोङजाउ, चोङकिङलगायतका सहरमा फैलिएको थियो । विश्वका अधिकांश देशले कोरोना सँगसँगै बाँच्ने नीति अख्तियार गरेपनि चीनले प्रतिबन्धहरू नहटाएपछि प्रमुख सहरहरूमा विरोध प्रदर्शन चर्केको थियो । राष्ट्रपति सी चिनफिङको राजीनामा माग्दै प्रदर्शन चर्किएपछि चीन शून्य कोभिड नीतिबाट पछि हट्न बाध्य भएको थियो । करिब ३ वर्षदेखि कडा प्रतिबन्धहरू जारी गरेको चीनले लचिलो नीति लिएसँगै भाइरसको संक्रमण फैलिएको हो ।

तीन वर्षदेखि चीनले भाइरस परीक्षण र कडा लकडाउनमा जोड दिएको भए पनि त्यही रूपमा खोप लगाउने काम भने हुन सकेको छैन । खोप लगाउन सर्वसाधारणलाई अनिवार्य गरिएको छैन भने स्थानीयस्तरमा उत्पादित खोप लगाउनुपर्ने व्यवस्था गरिएको छ । तर विभिन्न अनुसन्धानले ती खोप अन्तर्राष्ट्रिय रूपमा उत्पादित अन्य खोपको तुलनामा कम प्रभावकारी भएको पुष्टि भइसकेको छ । जसका कारण करिब डेढ अर्ब मानिसको जीवनयापन कष्टकर बनिरहेको छ ।

तर पनि चीनले भाइरसको असरलाई सफलतापूर्वक निकै न्यून स्तरमा राख्न सफल भएको थियो । पछिल्लो दुई सातामा देखिएको नयाँ सब–भेरिएन्ट ‘बीएफ–७’ को तीव्र संक्रमणले भने चीन अफ्ट्यारोमा पर्ने देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पछिल्लो समय चीनका अस्पतालहरू संक्रमितले भरिन थालेका जनाएको छ । डब्लूएचओको आपत्कालीन विभागका प्रमुख माइकल र्‍यानले पछिल्लो समय चिनियाँ अस्पतालका सघन उपचार कक्ष (आईसीयू) भरिएका जस्तो देखिएको बताए । ‘चीनका आईसीयूमा निकै कम बिरामीहरू रहेका जनाइएको छ । तर आईसीयूहरू भरिँदै गएका छन्,’ उनले भनेका छन् ।

संक्रमणदर बढे पनि मृत्युदर भने बढेको छैन । सोमबार र मंगलबार भाइरसको संक्रमणका कारण ५ जनाको मृत्यु भएको थियो । बुधबार र बिहीबार भने कोरोनाका कारण चीनमा कसैको मृत्यु नभएको जनाइएको छ ।

प्रकाशित : पुस ८, २०७९ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?