कोरोना संक्रमितले भरिँदै चिनियाँ अस्पताल

पहिलो पटक जर्मनीले पठायो चीनमा कोरोना खोप

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पछिल्लो समय कोरोना संक्रमण बढेपछि चीनका अस्पतालमा बिरामी भरिन थालेको बताएको छ । डब्लूएचओको आपत्कालीन विभागका प्रमुख डाक्टर माइकल र्‍यानले पछिल्लो समय चिनियाँ अस्पतालका सघन उपचार कक्ष(आईसीयू) भरिन थालेको बताएका छन् ।

कोरोना संक्रमितले भरिँदै चिनियाँ अस्पताल

पछिल्लो समय राजधानी बेइजिङसहित ठूला सहरमा कोरोना संक्रमण बढेको छ । सन् २०२० देखि 'शून्य कोभिड नीति' जस्तो कडा स्वास्थ्य मापदण्ड अपनाएको चीनमा पछिल्ला केही दिनयता संक्रमण ह्वात्तै बढेको हो ।

राष्ट्रपति सी चिनफिङको 'शून्य कोभिड नीति' विरुद्ध नागरिक सडकमै प्रदर्शनमा उत्रिएपछि सरकार उक्त नीति फिर्ता लिन बाध्य भएको थियो । संक्रमणदर बढे पनि मृत्युदर भने नबढेको अधिकारीहरूले बताएका छन् । सोमबार र मंगलबार कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । बुधबार भने कोरोनाका कारण चीनमा कसैको मृत्यु भएको छैन ।

जेनेभामा साप्ताहिक प्रेस कन्फरेन्सका क्रममा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले चीनमा बढिरहेको संक्रमण 'चिन्ताजनक' भएको बताएका छन् । उनले चीनलाई संक्रमणको गम्भीरता, अस्पताल भर्ना र आईसीयू आवश्यकताबारे सटिक तथ्यांक उपलब्ध गराउन आग्रह गरेका छन् ।

डाक्टर र्‍यान कोरोनाबाट बच्नका लागि खोप नै उपयुक्त उपाय भएको बताउँछन् । चीनले कोरोनाविरुद्ध आफ्नै खोप उत्पादन गरेको छ । विज्ञहरूले चिनियाँ खोप कम प्रभावकारी भएको हुन सक्ने आशंका व्यक्त गरिरहेका छन् । बुधबार मात्र जर्मन सरकारले चीनमा बायोएनटेक कोभिड खोप पठाएको थियो । सुरुमा २० हजार प्रवासीलाई चीनमा बायोएनटेक खोप लगाइकने बताइएको छ ।

चीनमा पहिलो पटक बाहिरबाट खोप पठाइएको हो । कति खोप पठाइएको हो भन्ने यकिन जानकारी सार्वजनिक भएको छैन । गत महिना चीन भ्रमणका क्रममा जर्मन चान्सलर ओलाफ स्कल्जले चिनियाँ नागरिकसहित सबैलाई खोप नि:शुल्क वितरण हुनुपर्नेमा जोड दिएका थिए । कोरोना

प्रकाशित : पुस ७, २०७९ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?