पुनर्निर्माणको पर्खाइमा मुलुककै पहिलो विद्युत् आयोजना

 वि.सं. १९६८ मा उद्घाटन भएको मुलुककै पहिलो जलविद्युत् आयोजना २०७२ सालको भूकम्पपछि पूर्ण रूपमा बन्द

वैशाख १६, २०८१

दीपक केसी, सीमा तामाङ

The country's first electricity project awaiting reconstruction

काठमाडौँ — मुलुकमै पहिलो पटक बिजुलीको उज्यालो दिएको फर्पिङ जलविद्युत् केन्द्र अहिले आफैं उज्यालो खोज्नुपर्ने अवस्थामा पुगेको छ । १ सय १२ वर्षअघि यही जलविद्युत् केन्द्रले पहिलो पटक काठमाडौंमा उज्यालोको आभास दिएको थियो । 

मुलुकको पहिलो र एसियाको दोस्रो यस जलविद्युत् केन्द्रमा बिजुली उत्पादन बन्द भएको ९ वर्ष बितिसकेको छ । केन्द्रले २०७२ सालको भूकम्पअघिसम्म आवश्यकताका आधारमा ३०/४० किलोवाट क्षमतामा विद्युत् उत्पादन गरिरहेको थियो । त्यसयता यो पूर्ण रूपमा बन्द छ । ‘भूकम्पअघिसम्म आवश्यकताअनुसार बिजुली उत्पादन गरिरहे पनि त्यसपछि बन्द भयो,’ फर्पिङ जलविद्युत् केन्द्रका प्रमुख भीमसेन लामाले भने, ‘मर्मतसम्भार गर्‍यो भने बिजुली उत्पादन गर्न सकिने अवस्था अझै विद्यमान छ ।’

The country's first electricity project awaiting reconstructionतत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर जबराकै अगुवाइमा पहिलो पटक मुलुकमा फर्पिङ जलविद्युत् केन्द्र निर्माण भएको थियो । चन्द्रशमशेरको बेलायत भ्रमणकै क्रममा नेपालमा पनि जलविद्युत् केन्द्र बनाउन सकिने सम्भावनाबारे छलफलपश्चात् उनी स्वदेश फर्केपछि यसको स्थापना गरिएको हो । चन्द्रशमशेरले बेलायतबाट इन्जिनियर झिकाइ पहिलो जलविद्युत् केन्द्र निर्माण गरेको स्थानीयहरू बताउँछन् । इन्जिनियर कर्णेल किशोरनरसिंह राणाले काठमाडौंको दक्षिणमा पर्ने फर्पिङ क्षेत्रको कुटली, सातमुले र शेषनारायण खोलाको पानी जम्मा गरेर बिजुली निकाल्ने योजना बनाएका थिए ।

The country's first electricity project awaiting reconstruction

वि.सं. १९६४ मा केन्द्रको निर्माण सुरु गरी चार वर्षपछि १९६८ जेठ ९ मा यसको उद्घाटन गरिएको थियो । खोकनाका एक सर्वसाधारणको घरमा बत्ती बालेर यसको परीक्षण गरेपछि तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहले टुँडिखेलमा बत्ती बालेर केन्द्रको उद्घाटन गरेका हुन् । उक्त जलविद्युत् केन्द्रबाट उत्पादित बिजुली तत्कालीन राजपरिवार, राणा परिवारलगायतलाई वितरण गरिएको थियो । 

The country's first electricity project awaiting reconstructionराणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले त्यसबेला यसको नाम नै ‘चन्द्रज्योति विद्युत् गृह’ राखिएको स्थानीय बताउँछन् । त्यसबेलाको बिजुली अड्डाअन्तर्गत विद्युत् गृह सञ्चालन गरिएको थियो । छिमेकी देश चीनको कुन्मिङ राज्यमा सन् १९११ मा २ सय ४० किलोवाट क्षमताको पावर हाउस बनेको थियो । भारतमा सन् १८९७ मै १ सय ३० किलोवाट क्षमताको पावर हाउस दार्जिलिङमा बनेको थियो । नेपालमा सन् १९११ अर्थात् वि.सं. १९६८ मा दुई छिमेकी देशको भन्दा ठूलो क्षमताको ५ सय किलोवाटको फर्पिङ पावर हाउस सञ्चालनमा आएको हो । एसियाको दोस्रो भए पनि क्षमताका आधारमा यो पहिलो नै रहेको सरोकारवालाहरू दाबी गर्छन् ।

The country's first electricity project awaiting reconstructionपहिलो जलविद्युत् केन्द्र निर्माणमा राजाका भाइभारदारहरूको पनि सहभागिता थियो । त्यसबेला जनरल पद्मशमशेर जबराले समग्र निर्माण कार्यको निरीक्षण र अनुगमन गरेका थिए भने जनरल मोहनशमशेर जबरा र जनरल केशवशमशेर जबराले सामग्री तथा उपकरण आपूर्ति एवं यातायातको जिम्मेवारी निर्वाह गरेका थिए । कर्णेल तिलविक्रम र सुबेदार बखतबहादुरलाई पावर हाउसको निर्माण र उपकरण जडानको जिम्मेवारीमा थिए । लप्टन देवीबहादुर र सुवेदार हर्षबहादुरलाई ट्रान्समिसन लाइन निर्माणको जिम्मा दिइएको थियो । कार्यकारी इन्जिनियर कर्णेल किशोरनरसिंह राना पावर हाउसको योजना निर्माण, कर्णेल कुमारनरसिंह राणा निर्माण कार्यमा सहयोगी थिए । इलेक्ट्रिक इन्जिनियर बर्नौउ प्वान्टेलाई हाइड्रोपावर स्टेसनको निर्माणको जिम्मा दिइएको थियो । जनरल इलेक्ट्रिक कम्पनीका इन्जिनियर लिन्जाले सम्पूर्ण उपकरण जडान गर्नेलगायत जिम्मा पाएका थिए । उक्त विद्युत् केन्द्र निर्माण कार्यमा त्यतिबेला झन्डै साढे ९ लाख मानिस सहभागी भएको बताइएको छ । 

The country's first electricity project awaiting reconstructionहाइड्रो पावरका लागि समुद्री सतहदेखि ३ हजार ९ सय २७ फिट उचाइमा ५ लाख २८ हजार ७ सय ८३ क्युफिट पानी अट्ने गोलाकार जलाशय निर्माण गरिएको थियो । जलाशयदेखि २ हजार ५ सय ३८ फिट लामो २० इञ्चको पेनस्टक पाइपमार्फत पावर हाउसमा रहेको २ सय ५० किलोवाट क्षमताका दुईवटा टर्बाइनमा २ सय ८८ पीएसआईको प्रेसर अर्थात् करिब १८६०.२३ फिटको ग्रस हेडले हान्दा ३ फेजको ११ हजार भोल्ट निकाल्ने गरी ६०० (आरपीएम) सिन्क्रोनस स्पिडमा घुमाउने गरी जनरल इलेक्ट्रिक जेनेरेटर जडान गरिएको थियो । फर्पिङबाट उत्पादित विद्युत् काठ र स्टिलका पोल गाडेर ८ माइल लामो ११ किलोभोल्ट ट्रान्समिसन लाइनमार्फत टुँडिखेल सबस्टेसनसम्म ल्याइएको थियो । त्यसबेला ३३०० भोल्टमा स्टेप–डाउन गरी सिंहदरबार र काठमाडौंस्थित राणा र राजाका भाइभारदारका दरबारसम्म पुर्‍याइएको थियो । 

पाइपलाइन, हेडवक्स, जलाशय, पावरहाउस, कोलनी, सबस्टेसन, कार्यालय, प्रसारण तथा वितरण लाइन, टेलिफोन लाइन, लन्डनदेखि कलकत्तासम्म र कलकत्तादेखि भीमफेदीसम्म सामान ढुवानीको खर्च, भीमफेदीदेखि निर्माणस्थलसम्म, तलब/ज्याला गरी ७ लाख १३ हजार २ सय ७३ रुपैयाँ खर्चिएको थियो । जलविद्युत् केन्द्रलाई आवश्यक पर्ने सम्पूर्ण सामग्री बेलायतदेखि नै आयात गरिएको थियो । बेलायतदेखि कलकत्ता हुँदै भीमफेदीसम्म गाडीमै आयात भए पनि त्यसपछि फर्पिङसम्म बोकेर ल्याइएको थियो । टर्बाइन, जेनेरेटरलगायत मुख्य उपकरण बेलायत सरकारले अनुदानमा दिएको हुनाले यो खर्चमा नजोडिएको केन्द्रका प्रमुख लामाले बताए ।

The country's first electricity project awaiting reconstructionप्राधिकरणको सहायक कम्पनीले मास्टर प्लान बनाइरहेको र तत्काल संरक्षणको कुनै काम अघि नबढाइएको उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक मदन तिम्सिनाको दाबी छ । ‘मास्टर प्लान बन्दै छ, अहिले त्यसको रिपोर्ट बनाउने काम भइरहेको छ, त्यसैले महत्त्वपूर्ण कामहरू गरिएको छैन,’ उनले भने, ‘रिपोर्ट आउनासाथ टेन्डर आह्वान गरी पर्यटकीय गन्तव्यसहित संग्रहालयको काम अघि बढाउँछौं ।’ वडा र नगरपालिकाले पनि विविध योजना बनाइरहेको र त्यसको समन्वय नभएकाले अस्तव्यस्त देखिएको उनको भनाइ छ । 

‘पावरहाउसबाट विद्युत् निकालिसकेपछि पानीलाई खानेपानीका रूपमा लगिनुपर्थ्यो, तर पहिलेदेखि पावरहाउसमा नहाली सिधै पानी लैजाने गरिएको रहेछ,’ उनले भने, ‘यस्ता विविध कारणले गर्दा बिजुली उत्पादन बन्द भएको छ, तर चालु हालतमा भने राखिएको छ ।’ ऐतिहासिक संरचनालाई संरक्षण गर्ने प्राधिकरणको योजना नै रहेको उनले बताए । प्राधिकरणको सहायक कम्पनी एईईए इन्जिनियरिङ कम्पनीले पर्यटकीय हब र हाइड्रोपावर संग्रहालय बनाउनका लागि मास्टर प्लान बनाइरहेको छ । विद्युत् उत्पादन सुरु भएको १ सय १२ वर्षको इतिहासमा हाल कुल जडित क्षमता ३२ सय मेगावाट पुगिसकेको छ । अझै पनि चाहेको खण्डमा फर्पिङ जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गर्न सकिने उनी बताउँछन् । 

१९६८ जेठ ९ मा उद्घाटन भएको ‘चन्द्रज्योति विद्युत् गृह’ वि.सं. २०३८ सम्म निरन्तर सञ्चालनमा रहेको थियो । त्यसबेला ललितपुरका विभिन्न क्षेत्रमा खानेपानीको हाहाकार थियो । चन्द्रज्योति विद्युत् गृहको जलाशयको पानी पावरहाउसको टर्बाइनमा नहाली भैंसीपाटीतर्फ लैजान थालियो । जलाशयको पानी विद्युत् गृहकै पेन्टाटिस्क पाइपमा टेपिङ गरी खोकना हुँदै भैंसीपाटीलगायत ललितपुरको मुख्य क्षेत्रसम्म पुर्‍याइएको केन्द्रका प्रमुख लामा पनि स्वीकार गर्छन् । ‘त्यसबेला खानेपानी र हाइड्रोपावर हेर्ने निकाय एउटै रहेकाले तत्कालीन जलस्रोत ऐनमा मुख्य प्राथमिकता खानेपानीलाई दिइएको थियो । जलविद्युत् चौथो नम्बरमा पर्थ्यो,’ उनले भने, ‘त्यसैले विद्युत् गृहको पानी खानेपानीका रूपमा लैजान थालेपछि बिजुली उत्पादन बन्द भएको रहेछ ।’ 

The country's first electricity project awaiting reconstruction‘चन्द्रज्योति विद्युत् गृह’ बिजुली अड्डाअन्तर्गत सञ्चालित थियो । वि.सं. २०१९ भदौमा बिजुली अड्डाको नाम फेरेर नेपाल विद्युत् कर्पोरेसन राखिएको थियो । अड्डालाई कर्पोरेसन बनाउन नेपाल विद्युत् कर्पोरेसन ऐन, २०१९ लागू गरियो । संस्थानलाई आत्मनिर्भर बनाउन र विद्युत् उत्पादनमा निजी क्षेत्रको पनि लगानी प्रवर्द्धन गर्ने उद्देश्यले पछि कर्पोरेसनलाई नेपाल विद्युत् प्राधिकरण बनाइएको थियो । नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अन्तर्गत वि.सं. २०४२ भदौ १ मा यसलाई प्राधिकरण बनाइएको थियो । २०४१ म नेपाल विद्युत् प्राधिकरणको स्थापनापछि चन्द्रज्योति विद्युत् गृहको नाम परिवर्तन गरी फर्पिङ जलविद्युत् केन्द्र बनाइएको हो । 

मुलुकको पहिलो विद्युत् गृहलाई पुनः सञ्चालन गर्नुपर्ने भन्दै २०६३ मंसिरमा बृहत् मर्मतसम्भार गरी दैनिक एक घण्टा वा आवश्यकताअनुसार चलाउन सुरु गरिएको हो । २०६३ पछि उक्त विद्युत् गृहबाट ३०/४० किलोवाट मात्रै बिजुली निकालिन सुरु गरेको केन्द्र प्रमुख लामाको भनाइ छ । बिजुली उत्पादन सुरु भएको एक दशक नपुग्दै पुनः २०७२ सालको भूकम्पबाट बिजुली उत्पादन ठप्प बन्न पुग्यो । तर खानेपानी वितरणले भने २०३८ सालदेखि निरन्तरता पाइरहेको छ । 

२०६७ सालमा १ सय वर्ष पुगेको अवसरमा उक्त विद्युत् गृहमा तत्कालीन ऊर्जा मन्त्रालयको संयोजकत्वमा शतवार्षिकी महोत्सव मनाइएको थियो । शतवार्षिकीका अवसरमा पावर हाउस नजिकै २७ लाख रुपैयाँ खर्चिएर प्रवेशद्वारमा गेट र ५७ लाख रुपैयाँमा स्मारक बनाइएको छ । त्यसबेला नै सरकारले फर्पिङ विद्युत् गृहलाई संग्रहालय बनाइने बताएको थियो । तर अहिलेसम्म न संग्रहालय बन्यो, न त पुनः उत्पादन नै सुरु हुन सक्यो ।

The country's first electricity project awaiting reconstructionगत साउनमा प्राधिकरणको ३८ औं वार्षिकोत्सवका अवसरमा फर्पिङ जलवद्यिुत् केन्द्र परिसरमा वृक्षरोपण गर्दै फर्पिङ विद्युत् केन्द्रलाई संग्रहालय बनाउने बताएको थियो । कार्यक्रममा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई संग्रहालय बनाइने गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो । नेपाल विद्युत् प्राधिकरणले पाँच सय किलोवाट क्षमताको फर्पिङ जलविद्युत्लाई ऊर्जा संग्रहालयका रूपमा विकास गरिने योजना बनाएको लामाले बताए । प्राधिकरणले केन्द्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न एनईए इन्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्यत् केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचना निर्माण गरिने प्राधिकरणको भनाइ छ ।

The country's first electricity project awaiting reconstructionकेन्द्रको जलाशय र विद्युत् गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुराँ, पसल, जिप लाइन, पिकनिक स्पट, पुस्तकालय, बाल उद्यानलगायतका संरचना निर्माण गरिने योजना रहेको उनको भनाइ छ । जलविद्युत् केन्द्रका संरचनालाई जीर्णोद्धार गरी संग्रहालयका रूपमा विकास गर्ने योजना छ । परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि झन्डै १ अर्ब रुपैयाँ लागतको अनुमान रहेको बताइएको थियो । तर केन्द्रका प्रमुख लामाले डीपीआरअनुरूप काम भइरहेको बताए । ‘यसबारे जानकारी लिन र हेर्न आउने पाहुनालाई विद्युत् कसरी उत्पादन हुन्छ भनेर टर्बाइन चलाएर आधारभूत जानकारी दिने गरेका छौं,’ उनले भने, ‘मुलुककै पहिलो र ऐतिहासिक विद्युत् गृह मर्मत–सम्भार गरी पुनः सञ्चालनमा ल्याउन ढिला गर्नु हुँदैन ।’

The country's first electricity project awaiting reconstruction

The country's first electricity project awaiting reconstruction

The country's first electricity project awaiting reconstruction

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully