कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पाकिस्तानका कूटनीतिक कर्मचारीको तलब रोक्का

रासस, एएनआई 

इस्लामाबाद — पाकिस्तान सरकारले देशमा जारी आर्थिक संकटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोग तथा राजदूतावासमा कार्यरत कर्मचारीको तलब रोकेको छ ।

कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब नपाएको, बिनापारिश्रमिक उनीहरूले इद मनाएको र बालबालिकाको विद्यालयको शुल्क तिर्नसमेत धौधौ भएको स्रोतलाई उद्धृत गर्दै पाकिस्तान टुडेले जनाएको छ ।

समयमा आफ्ना सन्तानको शुल्क नतिरे उनीहरू विद्यालयबाट निष्काशित हुन सक्ने चिन्ताले पनि कूटनीतिक कर्मचारीलाई पिरोलेको छ ।

पाकिस्तानको अर्थ मन्त्रालयले गत डिसेम्बरमा सबै कर्मचारीको तलब निकासा गरिएको दाबी गरे पनि मार्चको तलब प्राप्त नभएको कूटनीतिक नियोगका कर्मचारीले बताएका छन् । पाकिस्तानी विदेश मन्त्रालयले पनि समयमै तलब निकासा गर्न अर्थ मन्त्रालयका अधिकारीलाई अनुरोध गरेको छ ।

विदेश मन्त्रालयले आफ्नो बजेटबाट कूटनीतिक कर्मचारीलाई जनवरी र फेब्रुवरीको तलब हस्तान्तरण गरेको थियो । हालैको एक बैठकमा कूटनीतिक कर्मचारीले तलब नपाएको विषय उठेपछि अर्थमन्त्री इशाक दारले जवाफ दिनुपरेको थियो ।

विदेशमा कार्यरत कर्मचारीलाई विदेशी मुद्रामा तलब दिनुपर्ने भएकाले आर्थिक समन्वय समिति र पाकिस्तानको केन्द्रीय बैंकको समन्वयमा आवश्यक व्यवस्था गरिने बताइएको छ ।


प्रकाशित : जेष्ठ ५, २०८० ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?