ट्युनिसियामा डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या २९ पुग्यो

रासस

ट्युनिसिया — ट्युनिसियाको तटरक्षक बलले तीनवटा डुंगा पल्टिएपछि उपसहारा अफ्रिकी मुलुकका उद्धारकर्मीले कम्तीमा २९ आप्रवासीको मृत शरीर पानीबाट बाहिर निकालेको जनाएका छन् ।

तीन वटा छुट्टाछुट्टै घटनालाई उद्धृत गर्दै उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'मध्य पूर्वी तटमा डुंगा डुबेपछि विभिन्न अफ्रिकी देशका ११ जना कागजातविहीन आप्रवासीको उद्धार गरिएको छ ।

यसअघि उत्तरी ट्युनिसियाको सामुद्रिक तटमा आप्रवासी चढेको एक डुंगा दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य ६७ जना वेपत्ता रहेको ट्युनिसियाली सामुद्रिक सुरक्षा अधिकारीले पुष्टि गरेका थिए ।

पछिल्लो दुई दिनमा महिला र बालबालिका सवार रहेका डुंगा दुर्घटना भएको उक्त पाँचौं घटना थियो । ट्युनिसियाको तटीय सुरक्षाकर्मीहरूले दुई दिन यता इटाली जान लागेका ५६ वटा डुंगा नियन्त्रणमा लिएको बताएका छन् । सोही क्रममा सुरक्षाकर्मीले तीन हजार भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएका छन् ।

संयुक्त राष्ट्र संघको पछिल्लो तथ्यांकअनुसार यो वर्ष मात्र १२ हजार भन्दा बढी आप्रवासी ट्युनिसियाबाट अन्यत्र गएका छन् । गत वर्षको सोही अवधिमा भने सो संख्या एक हजार ३०० मात्र रहेको थियो ।

प्रकाशित : चैत्र १२, २०७९ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्

नमोबुद्धमा २ लाख लिटरको खानेपानी ट्यांकी

कान्तिपुर संवाददाता

काभ्रे — नमोबुद्ध नगरपालिकाका १५ सय घरधुरीलाई काशीखण्ड बृहत् खानेपानी प्रदान गरिने भएको छ । काशीखण्ड बृहत् खानेपानी आयोजना नमोबुद्ध नगरपालिका–८ मा २ लाख लिटर क्षमताको ट्यांकी बन्न लागेको छ । उक्त ट्यांकीबाट वडा ८ का १ हजार र ७ र ९ का ५ सय गरी १ हजार ५ सय घरधुरी लाभान्वित हुनेछन् ।

उपभोक्ता समितिका अध्यक्ष मनोज अधिकारीका अनुसार संघीय सरकारको १५ करोड ४७ लाख ४३ हजार रुपैयाँ लागत्तमा निर्माण हुन लागेको हो । आयोजनाका लागि वडा ८ को पिपलटारमा दुई वटा इनार (सम्प वेल) निर्माण गरिएको छ । प्रतिसेकेन्ड ६ लिटर पानी संकलन हुने ठानिएको छ । सोही पानी लिफ्टिङ गरी १७ वटा ट्यांकीमा जम्मा पारेर वितरण गरिनेछ ।

अध्यक्ष अधिकारीका अनुसार उच्चकोटी/अमर/नवआदर्श जेभीले निर्माणको जिम्मा पाएको छ । गत मंसिरमा भएको सम्झौताअनुसार २०८१ मंसिरमा आयोजना सम्पन्न हुनेछ । साविक डराउनेपोखरी गाविसस्थित दाप्चा खानेपानी उपभोक्ता समिति (स्किम नं २), डराउनेपोखरी खानेपानी उपभोक्ता समिति (क) र (ख) एकिकृत गरी काशीखण्ड बृहत् खानेपानी आयोजना सञ्चालनमा ल्याएको उनले बताए । साविक आयोजनाका ३ वटा टंयाकीसमेत १७ वटा ट्यांकी निर्माण गरिएको उपभोक्ता समितिका सदस्य रामेश्वर अधिकारीले जानकारी दिए । नमोबुद्ध–८ मा बन्ने २ लाख लिटर क्षमताको ट्यांकी आइतबार शिलान्यास गरिएको छ । नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, वडा नं ८ का अध्यक्ष शेरबहादुर लामा, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख अतुलेश्वर कर्णलगायतले शिलान्यास गरेका हुन् । नगरप्रमुख लामाले यो नगरको गौरवको आयोजना भएकाले समय सीमामै सम्पन्न गरी जनताको घरदैलोमै गुणस्तरीय खानेपानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।


प्रकाशित : चैत्र १२, २०७९ २१:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×