आजकै दिन

टाइसनलाई जेल

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वविख्यात बक्सर माइक टाइसनको खेल जीवनमा ३१ वर्षअघिको आजको दिन ठूलो आघातको थियो । बक्सिङका लगातार कीर्तिमान बनाइरहेका उनीमाथि सुन्दरी प्रतियोगिताकी १८ वर्षीया एक सहभागीलाई बलात्कार गरेको आरोप लागेको थियो ।

आरोप अस्वीकारेनन् । तर कसुर पुष्टि भयो । सन् १९९२ मार्च २६ मा इन्डियाना न्यायालयले उनलाई ६ वर्ष जेल सजाय सुनाएको थियो ।

बहुचर्चित मुद्दामा सुनुवाइका लागि त्यो दिन दिउँसो २ बजेको समय तोकिएको थियो । टाइसनलाई छुटाउन कानुन व्यवसायीले हतारिँदै कागजपत्र बुझाएका थिए । हावर्ड ल स्कुलका प्राध्यापक एलन डेर्सोविज, जो टाइसनको बचाउका लागि उपस्थित थिए, उनी न्यायालयमा टाइसनको पछाडि बसेका थिए । न्यायाधीश पेट्रिसिया जिफर्डले टाइसनको याचिका मुल्तवीमा राखिदिइन् । उनलाई छाड्न नहुने पक्षको प्रमाण बलियो भएको भन्दै सजाय सुनाइन् । फैसलामा फेरि त्यस्तै अपराध गर्न सक्ने मनोवृत्ति देखिएकाले टाइसनलाई ४ वर्षको खास रेखदेखसहितको कारावास तोकिएको थियो ।

न्यायालयको आदेशअनुसार तीन वर्षपछि मात्रै टाइसनले जमानतमा छुट्न पाउने थिए । हलुका कैलो–फुस्रो रङको सुट र कालो–रातो टाई लगाएका टाइसन केही हतास देखिन्थे । उनलाई ‘सजायको प्रक्रियाका बारेमा बुझेका छौं’ भनेर न्यायाधीशले सोधिन्, उनले ‘यस’ मा स्वीकारोक्तिको संक्षिप्त उत्तर दिएका थिए । २५ वर्षीय विश्वप्रसिद्ध बक्सरले त्यसपछि न्यायालयको मिसिलमा नाम पाएका थिए – इन्डियाना डिपार्टमेन्ट अफ करेक्सन्स इनमेट ९२२३३५ । उनलाई लैजाने बेलामा घेरा हाल्नेहरूले भनेका थिए ‘तिमीलाई हामी माया गर्छौं टाइसन ।’ उनी सन् १९९५ मा छुटे । त्यसपछि फेरि विश्वविजेताको कीर्तिमान बनाए । तर, सन् १९९६ मा उनलाई इभेन्डर होलिफिल्डले हराएका थिए ।

प्रकाशित : चैत्र १२, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

'किताबखानामै छैन कर्मचारीको विवरण' समाचारमा facebook.com/ eKantipur बाट लिइएका टिप्पणी:

पाठक पत्र

एउटा चिठीको बोधार्थ पठाएको हुन्छ, ‘रेकर्डिङ’ प्रणाली चुस्त–दुरुस्त राख्न अहिलेको प्रविधिको भरपूर उपभोग गर्नुपर्नेछ, ‘फाइलिङ’ प्रणाली पनि गतिलो छैन । धेरैजसो कार्यालयमा कमचारीलाई व्यक्तिगत कागजातहरू सधैं पेस गर्नुपर्छ, आईडी नम्बरबाट देखिने भैदिए बेसै हुन्थ्यो, प्रयास गर्नु सुधारका लागि !– राज ज्ञवाली

दिनरात काम गरेर प्रणालीमा ल्याउनुपर्‍यो नि, हाकिम साप भएर गुनासो गरेर मात्र हुन्न ।
– सुशान शाही ठकुरी

जे कामका लागि संस्था राखिएको छ, उसैले त्यो काम गर्दैन, कर्मचारीहरूले खाली तलब पचाउने मात्रै !
– कान्छा

तपाईं ऊर्जाशील हुनुहन्छ, भिजन छ, किताबखानाको महानिदेशक हुनुभएको छ । प्रस्ताव बनाउनोस्, लडेर बजेट ल्याउनोस् अनि सुधार गर्नुहोस्, भविष्यले सम्झिरहनेछ ।
– गोविन्द सुवेदी

यस्तो प्रशासनबाट जनताले के आस गर्ने ?
– रूपमा शर्मा कटेल

सरकारी जागिर, काम देखेपछि ज्वरो आउने । प्राइभेट जागिर, ज्वरो आउँदा पनि काम गर्नुपर्ने । फरक यति हो नि !
– दीपक मगर

प्रकाशित : चैत्र १२, २०७९ ०७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×