चीनमा खुल्यो नेपाली भाषा कक्षा- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा खुल्यो नेपाली भाषा कक्षा

लक्ष्मी लम्साल

बेइजिङ — नेपालको पर्यटन तथा व्यवसायप्रति बढ्दो चासोसँगै चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषाका कक्षाहरू चिनियाँ शिक्षार्थीको आकर्षण बन्न थालेका छन् । हालसम्म चीनभर आधा दर्जनजति नेपाली भाषाका कक्षा चलिरहेका छन् ।

भर्खरै दक्षिणपूर्वी चीनको च्याङ्सी प्रान्तको नानछाङ्स्थित इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (ईसीयूटी)मा नेपाली भाषा कक्षा सुरू गरिएको छ।

विश्वविद्यालयमा शुक्रबार आयोजित ‘भाषा संचार तथा सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममार्फत् भाषा कक्षाको शुभारम्भ गरिएको हो । सोही अवसरमा अनलाइन तथा अफलाइन माध्यमबाट सहभागी नेपाली तथा चीनका विज्ञहरूबीच अन्तर्क्रिया समेत गरिएको विश्वविद्यालयको जिओफिजिक्स विभागमा कार्यरत नेपाली सह-प्राध्यापक डा. तारा बन्जाडेले जानकारी दिए । उनले चिनियाँ नयाँ पुस्ताले नेपाली भाषा अध्ययनमा देखाएको अभिरुचीबाट जनस्तरीय सम्बन्ध विस्तारमा सहयोग पुग्ने देखेर युनिभर्सिटीले नेपाली भाषा कक्षा चलाउन लागेको कान्तिपुरलाई बताए।

चीनमा लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्याल, अरुणिमा कलेजका प्रमुख केशव जोशी, त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक सिन लुकाओ, प्राध्यापक बालमुकुन्द रेग्मीले भिडियो मार्फत् भाग लिएका थिए । चिनियाँ पक्षबाट नेपाली भाषा कक्षाका पहलकर्ता ईसीयूटीअन्तर्गत स्कुल अफ फरेन ल्याङ्ग्वेजका डिन, प्राध्यापक लिउ युएमिङ, पार्टी सचिव प्राध्यापक ये चौ, इन्टरनेश्नल स्कुलका डिन वाङ च् छङ् लगायत उपस्थित थिए ।

नेपालमा उद्योग व्यवसाय तथा पर्यटन क्षेत्रमा संलग्न हुने चिनियाँहरूको संख्या बढ्दै गएकाले नेपाली भाषा कक्षाको माग भएको प्राध्यापक लिउ युएमिङले बताए। उनले भने, ‘नेपाली भाषा अध्ययन अत्यावश्यक भएको छ । व्यवसाय र पर्यटनका लागि नेपाली भाषाको माग बढ्दो छ।’

नेपालमा लामो समय बसेर वस्तुस्थिति अध्ययन गरेको भन्दै उनले पछिल्लो समय त्रिभुवन विश्वविद्यालय र पोखरा भ्रमण गरेर शैक्षिक आदानप्रदानको राम्रो सम्भावना देखेको बताए । ‘नेपाली बजारमा पर्यटनको राम्रो सम्भावना देखेकाले चिनियाँहरू स्वयं भाषिक कठिनाइ सुल्झाउन अग्रसर देखिन्छन्’, प्राध्यापक युएले भने, ‘नेपालमा व्यवसाय गर्न चाहने चिनियाँ उद्यमीहरूको इच्छा पनि देखिन्छ।’

पूर्वराजदूत लीलामणि पौड्यालले भाषाले अन्तर्देशीय सम्बन्धलाई गहन पार्न टेवा पुर्‍याउने बताए। भाषिक सहजताले एकअर्काको संस्कृति, परम्परा बुझ्न सहज भएर जनस्तरीय सम्बन्धलाई सरल बनाउन सक्ने उनको भनाइ थियो ।

नेपाली भाषाको कक्षा आगामी साताबाट सुरू गरिने विश्वविद्यालयले जनाएको छ । यसअघि चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषा कक्षा संचालित छन् । राजधानी बेइजिङस्थित संचार विश्वविद्यालय (सीयूसी) र विदेशी भाषा अध्ययन विश्वविद्यालयमा नेपाली भाषा पढाइ हुँदैआएको छ । राजधानीबाहिर हनान प्रान्तको लोयाङ, युननान प्रान्तको खुनमिङस्थित जातीय विश्वविद्यालय, पल्लो शान्सी प्रान्तीय सियानयाङ सहरको सिचाङ जातीय विश्वविद्यालय लगायतमा नेपाली भाषाका कक्षा संचालित छन्।

प्रकाशित : चैत्र ४, २०७९ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्

नेपालका लागि चिनियाँ अध्येताहरूको चिन्ता

लक्ष्मी लम्साल

बेइजिङ — चिनियाँ थिंक ट्याङ्क अर्थात् विचारक समूहले चीनका लागि दक्षिण एसिया प्रवेशको महत्त्वपूर्ण ढोका भएको नाताले नेपालले पर्याप्त फाइदा लिनसक्ने औंल्याएको छ । उनीहरूले विश्वका उदीयमान दुई अर्थतन्त्र भारत र चीनको बीचमा रहेको नेपालले राम्रा अवसरहरू छोप्नुपर्ने सुझाव दिए।

शुक्रबार बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको नेपाल-चीन मैत्री विषयक अन्तर्क्रियामा सहभागी भएका थिंक ट्याङ्क, विभिन्न विश्वविद्यालयका प्राध्यापकहरू, नेपाल तथा दक्षिण एसिया मामिला हेर्ने विज्ञहरू लगायतले यस्तो धारणा राखेका हुन्।

हपेई युनिभर्सिटी अफ इकोनोमिक एण्ड बिजनेस, नेपाल अध्ययन केन्द्रका निर्देशक चाङ शुपिनले चीनले अघि सारेको बीआरआई परियोजनालाई एमसीसीसँग तुलना गर्न नमिल्ने बताए । उनले अमेरिकाको एमसीसी अनुदान यथार्थमा स्वार्थकेन्द्रित भएकोतर्फ नेपाली सचेत हुनुपर्ने बताए । बीआरआईप्रति नेपालीको धारणा स्पष्ट नभएको भन्दै उनले यो कुनै अनुदान नभएर साझा सहकार्यमूलक परियोजना भएको दाबी गरे । उनले भने, ‘बीआरआई अनुदान दिनेभन्दा ‘विन विन’को अवधारणाले सहकार्य गरिने परियोजना हो।’

दक्षिण एसिया मामिला विज्ञ एवं चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेश्नल रिलेसन (सीआईसीआईआर) का निर्देशक प्राध्यापक हू श् शङले नेपाल र चीनबीच निकै सुमधुर सम्बन्धमा खासै उतारचढाव नहुने गरेको चर्चा गरे । उनले दक्षिण एसियाका दुई ठूला मुलुकका बीचमा रहेर पनि नेपालले सन्तुलित सम्बन्ध बनाएको भन्दै उदीयमान अर्थतन्त्रबाट फाइदा लिनसक्नुपर्ने औंल्याए ।

उनले भने, ‘नेपाल र चीनबीचको सम्बन्धमा कहिलेकाहीँ उतारचढाव जस्तो देखिए पनि अन्ततः त्यस्तो हुँदैन। चीनको दक्षिण एसियाली ‘गेटवे’ भएकाले नेपालले फाइदा उठाउने प्रयास गर्नुपर्छ।’

अन्तर्क्रियामा सहभागी भएका चीनका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूले समग्रमा असल सम्बन्धका कारण नेपाल चीन सम्बन्ध स्थिर रहेको चर्चा गरे। चीनका विभिन्न भेगबाट बेइजिङमा आएका विज्ञहरूले नेपाल-चीन सम्बन्धमा विभिन्न आयामहरुका बारेमा सकारात्मक धारणा राखे।

शनचन युनिभर्सिटी अन्तर्गत कलेज अफ इन्टरनेश्नल स्टडिजका डिन प्राध्यापक ताई योङहोङले नयाँ चीन स्थापना लगत्तै चीनले नेपालमा बौद्ध मन्दिर बनाएको प्रसंग उठाउँदै नेपाल चीनबीच सांस्कृतिक सम्बन्ध पनि गहिरो रहेको सुनाए। शनचन अहिले प्रविधिको अग्रणी सहर भएकाले यहाँको प्रविधिमार्फत् नेपालले पनि फाइदा लिनसक्नेमा उनले जोड दिए।

अन्तर्क्रियामा चाइना इन्स्टिच्युट अफ इन्टरनेश्नल स्टडिजका उपाध्यक्ष डा. रोङ यिङ, चाइनिज एकेडेमी अफ साइन्सका प्राध्यापक याओ थानतोङ, इस्ट चाइना नर्मल युनिभर्सिटी, इन्स्टिच्युट अल एरिया स्टडिजका उपनिर्देशक डा. छन स्याओछन, सिचुवान युनिभर्सिटीको दक्षिण एसिया अध्ययन इन्स्टिच्युट अन्तर्गत नेपाल अध्ययन केन्द्रका निर्देशक ह्वाङ चङत्वो, विश्व मामिला, छङ्तु इन्स्टिच्युटका डा. वाङ स्याओयिङ, छिङ्ह्वा विश्वविद्यालय, बीआरआई इन्स्टिच्युटका फेलो रिसर्चर डा. लु याङ लगायतले इतिहासकादेखि नै नेपाल र चीनबीच सामाजिक तथा सांस्कृतिक सम्बन्ध निकै बलियो रहेकोमा जोड दिए ।

उनीहरूको भनाइमा हाल चीनमा पढ्ने नेपाली विद्यार्थीहरूका कारण पनि जनस्तरीय सम्बन्ध उकासिएको छ। कार्यक्रममा भाग लिन चीनका विभिन्न स्थानबाट आएका चिनियाँ प्राध्यापकहरूले पीएचडी अध्ययन गर्ने केही नेपाली विद्यार्थीहरूलाई पनि साथमै ल्याएका थिए ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले विज्ञहरू नै जनस्तरका सन्देश संवाहक तथा सरकारका अघोषित सल्लाहकार भएकाले आपसी सम्बन्धलाई घनिष्ठ बनाउन सक्ने भएकाले यस्तो अन्तर्क्रिया आयोजना गरिएको जानकारी दिए ।

आफ्नो जीवनकालभर नेपाल र दक्षिण एसिया मामिलामा गरेको अध्ययनका लागि ९० वर्षीय चिन्तक प्राध्यापक वाङ होङवेइलाई राजदूत श्रेष्ठले ‘गेस्ट अफ अनर’ले सम्मानित गरे ।

प्रकाशित : चैत्र ३, २०७९ १८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×