कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

इटालीको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुग्यो

एजेन्सी

काठमाडौँ — इटाली नजिकैको समुद्री किनारमा डुंगा दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको पुष्टि भएको छ । २ सय जनाजति आप्रवासी तथा शरणार्थीहरू बोकेको काठको डुंगा आइतबार बिहान चट्टानमा ठोक्किएर दुर्घटना भएको थियो।

इटालीको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुग्यो

क्यालेब्रिया क्षेत्रमा भएको उक्त दुर्घटनामा हालसम्म ६२ जनाको शव निकालिएको बीबीसीले जनाएको छ । यद्यपि १ सय जनाभन्दा धेरैको मृत्यु भएको आकलन गरिएको छ । मृत्यु हुनेमा १२ जना बालबालिका पनि रहेको बताइएको छ ।

अधिकांश यात्रुहरू अफगानिस्तान, पाकिस्तान, सोमालिया, सिरिया, इराक र इरानबाट गएका थिए । दुर्घटनास्थलबाट ८० जना यात्रुलाई जीवीत उद्धार गरिएको तट रक्षकहरूले जनाएका छन् । डुंगामा रहेका अधिकांश यात्रु पाकिस्तानी रहेको विभिन्न अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । दुर्घटनापछि पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले मृत्यु हुनेमध्ये दुई दर्जनभन्दा धेरै पाकिस्तानी परेको बताएका छन् ।

दुर्घटनापछि इटालीयन प्रधानमन्त्री जर्जिया मेलोनीले उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै मानव बेचबिखनको क्रममा यस्तो दुर्घटना भएको आरोप लगाएकी छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिकूल मौसममा २० मिटर लामो डुंगामा २०० जना सवार गराएर यात्रा गराउनु अपराध भएको उनले बताएकी छन् । साथै उनले यस घटनालाई अमानवीय भन्दै टिप्पणी गरेकी छन् ।

इटालीयन आन्तरिक मामिला मन्त्री मात्तेओ पियान्तेदोसीले भने यस्ता यात्रालाई निरुत्साही गर्नुपर्ने बताएका छन् । अफ्रिका र दक्षिण एसियाका थुप्रै देशबाट भूमध्य मार्ग भएर यसै गरी यूरोप छिर्ने क्रममा हरेक वर्ष डुंगा दुर्घटना हुँदा ठूलो संख्यामा यात्रुहरूको मृत्यु हुने गरेको छ ।

यस्तो जोखिमयुक्त यात्रा अवैध मानिए पनि विभिन्न समूहले अफगानिस्तान, पाकिस्तान लगायत अन्य अफ्रिकी देशका नागरिकलाई आप्रवासीको रुपमा यूरोप प्रवेश गराउने गरेका छन् । आप्रवासी सम्बन्धी अन्तर्राष्ट्रिय संगठनका अनुसार उक्त मार्गबाट यात्रा गराउँदा २०१४ यता भएका दुर्घटनामा २० हजार ३ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : फाल्गुन १५, २०७९ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×