बिटल्सको अमेरिका यात्रा- विश्व - कान्तिपुर समाचार
आजकै दिन

बिटल्सको अमेरिका यात्रा

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९६४ मा आजकै दिन (फेब्रुअरी ७) मा इंग्लिस रक ब्यान्ड बिटल्स पहिलो यात्राका क्रममा अमेरिका पुगेको थियो । बेलायतको राजधानी लन्डनस्थित हिथ्रो विमानस्थलबाट पान एम यान्की क्लिपर फ्लाइट–१०१ मा क्यान्ड पहिलो पटक अमेरिकाको न्युयोर्कस्थित जोन एफ केनेडी विमानस्थलमा उत्रेको हो । 

त्यसको दुई दिनपछि बिटल्सले अमेरिकामा सार्वजनिक प्रस्तुति दिएको हो । त्यतिबेला ब्यान्डका सदस्यहरू जोन लेनन र रिंगो स्टार दुवै जना २३ वर्षका, पल म्याककार्टनी २१ र जर्ज ह्यारिसन २० वर्षका थिए । लोकप्रिय टेलिभिजन शो ‘एड सुलिभान शो’ मार्फत प्रसारित उनीहरूले प्रस्तुति अमेरिकाको करिब ४० प्रतिशत अर्थात् ७३ करोड अमेरिकीले हेरेको अनुमान गरिएको थियो ।

बिटल्सले त्यसपछि फेब्रुअरी ११ मा वासिङ्टनमा कार्यक्रम गरेको थियो । उक्त प्रस्तुति २० हजार जनाले प्रत्यक्ष रूपमा हेरेका थिए । त्यसको अर्को दिन न्युयोर्कमा दुईवटा प्रस्तुति दिएको बिटल्स फेब्रुअरी २२ मा स्वदेश फर्केको थियो । सन् १९६० मा बेलायतको लिभरपुलबाट सुरु भएको बिटल्सले ४ वर्षभित्रै अभूतपूर्व अन्तर्राष्ट्रिय सफलता हासिल गरिसकेको थियो । ब्यान्डका ‘रबर सोल’, ‘रिभल्भर’, ‘क्लब ब्यान्ड’, ‘द बिटल्स’ लगायतका एल्बम निकै लोकप्रिय बनेका थिए । विश्वभर बिटल्सका ६० करोडभन्दा बढी एल्बमहरू बिक्री भएको जनाइएको छ ।

१९६४ मा ब्यान्डले ‘अ हार्ड डेज नाइट’ फिल्ममा डेब्युसमेत गरेको थियो । त्यसको ६ वर्षपछि ब्यान्ड टुक्रिएको थियो । ब्यान्डका सदस्य लेननको १९८० मा हत्या भएको थियो । ह्यारिनको भने क्यान्सरका कारण २००१ मा मृत्यु भएको हो । ८० वर्षीय म्याककार्टनी र ८२ वर्षीय स्टार भने अझै पनि सांगीतिक क्षेत्रमा क्रियाशील छन् ।

प्रकाशित : माघ २४, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्

इलाममा २ सय रुपैयाँको अकबरे काठमाडौंमा हजार

कान्तिपुर संवाददाता

काठमाडौँ — इलाम–२ सुम्बेककी दाताकुमारी राई ढकालको परिवारले वर्षौंदेखि अकबरे खुर्सानीको खेती गर्दै आएको छ । पछिल्लो समय यसको मूल्य बढेपछि उनले झन्डै ८ रोपनी जग्गामा खुर्सानी लगाएकी छन् । विडम्बना, मूल्य घट्दै गएको छ । यस वर्ष अकबरे खुर्सानी प्रतिकिलो २ सय रुपैयाँ हाराहारीमा मात्रै बिक्री गरेको उनले सुनाइन् । उनले अकबरे खुर्सानीसँगै त्यसका बिरुवा पनि बेच्छिन् । अकबरे खुर्सानी खेती गरे पनि बेच्नका लागि भने ५/६ किमि टाढा इलाम बजार पुग्नुपर्ने उनले बताइन् ।

‘इलामको अकबरे वरपरको बजारमै ठिक्क हुन्छ, कहिलेकाहीं काठमाडौंतिर पनि लैजान्छन् रे,’ दाताकुमारीले भनिन्, ‘आफूले चिनेजानेको नभएपछि काठमाडौं चाहिँ पठाएकी छैन ।’ पहिला बारीमै ४ रुपैयाँ किलोमा बिक्री हुने खुर्सानी अहिले २ सय रुपैयाँमा सीमित भएको उनले जनाइन् । इलाममा अकबरे खुर्सानीको सिजन असोजदेखि पुस मसान्तसम्म हो । हिजोआज अलिअलि मात्र बाँकी रहेको उनको भनाइ छ ।

इलाममा किसानले प्रतिकिलो २ सय रुपैयाँमा खरिदबिक्री गरिरहेको अकबरे खुर्सानीको मूल्य राजधानी काठमाडौंमा भने एक हजार रुपैयाँसम्म पर्छ । कालिमाटी तरकारी बजारको दैनिक मूल्यसूचीमा सोमबार अकबरे खुर्सानीको थोक मूल्य प्रतिकिलो तीन सय रुपैयाँ छ । तर सोमबार बजारमा अकबरे खुर्सानी नआएको कालिमाटी फलफूल तथा तरकारी बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठले जनाए । ‘अफ सिजन भएकाले बजारमा कहिलेकाहीं मात्र अकबरे खुर्सानी आउँछ,’ उनले भने, ‘काठमाडौं आसपासका जिल्लाको मात्र बजारमा खुर्सानी आउने गरेको छ । सिजनमा भने इलामलगायत टाढाका जिल्लाबाट पनि आउँथ्यो ।’

सोमबार शंखमूलका तरकारी पसल चहार्दा कुनै पनि पसलमा अकबरे पाइएन । यद्यपि अर्डर गरेको खण्डमा ल्याएर दिन सकिने तरकारी पसल सञ्चालन गरिरहेकी सुनिता खतिवडाले बताइन् । ‘त्यति पिरो नहुने खालको अकबरे प्रतिकिलो ४ देखि ५ सय रुपैयाँमा पाइन्छ, पिरो हुने खालको भने एक हजारदेखि माथि पर्छ,’ उनले भनिन्, ‘हिजो कालिमाटीमा सोध्दा पाउकै २/३ सय रुपैयाँ भन्थ्यो । त्यति महँगो कसरी बेच्नु ?’

तरकारी पसलमा किलोभन्दा २०/३० रुपैयाँका खुर्सानी किन्न आउँदा ५/१० पिस पनि दिन नसकिने उनले सुनाइन् । अफ सिजन भएकाले पनि अकबरे खुर्सानीको मूल्य बढेको हुन सक्ने सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।

अफसिजन भएकाले अकबरे खुर्सानी नपाइएको बुढानीलकण्ठका सम्पदा तरकारी तथा फलफूल पसलका सञ्चालक सुमन लामाले बताए । ‘अस्ति हजार रुपैयाँ किलोसम्म पाइएको थियो, हिजो र आज पाइएन,’ उनले भने, ‘अकबरे पाउँदा बेच्छु नत्र बेच्दिनँ ।’ लोकल अकबरे महँगो हुन्छ तर अर्को पिरो नहुने, टल्किने अकबरे ३/४ सयसम्म पाइने भए पनि नबेचेको उनले बताए ।

प्रकाशित : माघ २४, २०७९ ०७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×