कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

संसद् सञ्चालनमा सभामुखको भूमिका तटस्थ भएन : कांग्रेस

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल  कांग्रेसले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सञ्चालनमा तटस्थ भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । संसदीय दलको शुक्रबारको बैठकले बिहीबार सभामुखले विपक्षीको अवरोधबीच सदन सञ्चालन गर्न खोजेकोमा आपत्ति जनाएको छ  ।

संसद् सञ्चालनमा सभामुखको भूमिका तटस्थ भएन : कांग्रेस

बैठकले सरकार र सत्ता पक्षलाई जनहित विरोधी कार्यमा नलाग्न चेतावनी दिने निर्णय पनि गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

"संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर बिरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिन्छ । सम्माननीय सभामुखले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर बिरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ । संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनुपर्दछ । तटस्थताको लागि सभामुखले आफू निर्वाचित भएको दलसँगका सबै सम्बन्ध र पद समेत स्थगित गर्ने परम्परा रही आएको छ । सभामुख सिंगो सदनको सभामुख हुनुपर्दछ । तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न अनुरोध गर्दछ’ बैठकपछ प्रमुख सचेतक लेखकले भने ।

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीमा वचत गरेको अर्बौं रकम हिनामिना, अपचलन र दुरुपयोगमा संलग्न रहेको पर्याप्त आधारहरु आफूहरुसँग हुँदाहुँदै पनि संसदीय छानबिन समिति बनाउन सरकार तयार नहुनुले झनै बलियो आधार प्राप्त भएको बताए । 'यो विषय सम्पूर्ण नेपाली जनताको चासो र सरोकारको विषय भई संसद् बाहिर पनि गम्भीर रुपले उठिरहेको छ । संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै आएको छ । नेपाली काँग्रेस संसदीय दलको यो बैठक संसदीय छानबिन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ' बैठकको निर्णयमा छ ।


प्रकाशित : जेष्ठ ४, २०८१ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×