कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पेरिस ओलम्पिक : ब्याडमिन्टनको परिचय बदल्दै प्रिन्स

ओलम्पिकमा ब्याडमिन्टन समावेश भएको ३२ वर्षपछि नेपालले पहिलो पटक सहभागिता जनाउँदै
ध्रुव तुलाधर

काठमाडौँ — नेपाली ब्याडमिन्टनले पहिलोपल्ट विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सहभागिता जनाउँदै छ । आसन्न पेरिस ओलम्पिकमा नेपाली ब्याडमिन्टनको प्रतिनिधित्व युवा खेलाडी प्रिन्स दाहालले गर्दै छन् । ब्याडमिन्टन खेलको इतिहास नेपालमा लामो छ । ब्याडमिन्टन संघ २००८ सालमा स्थापना भएपछि संस्थागत रूपमा नेपालमा ब्याडमिन्टन खेलिन थालेको हो । तर, त्यो भन्दा धेरै अगाडिदेखि नेपाली भूमिमा ब्याडमिन्टन खेलिएको इतिहास भेटिन्छ ।

पेरिस ओलम्पिक : ब्याडमिन्टनको परिचय बदल्दै प्रिन्स

ओलम्पिकमा नेपालले सहभागिता जनाउन थालेको नै ६० वर्ष भइसक्यो । यद्यपि ब्याडमिन्टनले ओलम्पिकमा आधिकारिक डेब्यु पाएको भने १९९२ को बार्सिलोना ओलम्पिक हो । त्यसभन्दा अगाडि १९७२ म्युनिख र १९८८ को सोल ओलम्पिकमा प्रदर्शनी खेलका रूपमा ब्याडमिन्टन राखिएको थियो ।

ओलम्पिकमा समावेश भएपछि ३२ वर्षको अवधिमा नेपालले भने पहिलो पटक खेल्दै छ । यो गौरवपूर्ण उपलब्धिको साक्षी भएका प्रिन्सले अब ब्याडमिन्टनको परिचय फेर्दै छन् । ओलम्पिक खेल्ने खेलका रूपमा ब्याडमिन्टनलाई रूपान्तरण गर्दै छन् । नेपालबाट थोरै मात्र खेलले ओलम्पिक खेलेको इतिहास छ ।

प्रिन्स गत सातामात्र श्रीलंकामा ट्रेनिङ गरेर फर्केका हुन् । त्यहाँ उनले श्रीलंकनसहित इन्डोनेसियाका प्रशिक्षकबाट प्रशिक्षण लिएका थिए । आफ्नो प्रदर्शनमा सुधार गरेर फर्किएका छन् । पेरिस उड्ने व्यस्त तालिकाबीच उनले कान्तिपुरसँग भने, ‘५–६ महिनाअगाडिको आफ्नो खेलमा भन्दा अझै इम्प्रुभ छ, मैले स्ट्रोकहरूमा इम्प्रुभ गरें । त्यसले पेरिसमा राम्रो फाइट दिन सक्छु भन्ने आत्मविश्वास छ ।’

शुक्रबार राष्ट्र्रपति रामचन्द्र पौडेलबाट बिदाइ भएको उनीसहित नेपाली ओलम्पिक टोली सोमबार पेरिस जानेछ । पेरिस ओलम्पिक २०२४ को उद्घाटन शुक्रबार हुनेछ । भोलिपल्टदेखि ब्याडमिन्टनको प्रतिस्पर्धा पोर्टे डे ला चापेल एरिनामा सुरु हुनेछ ।

प्रिन्सले मेन्स सिंगलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि प्रारम्भिक ‘ड्र’ पनि निस्किसकेको छ । त्यसअनुसार प्रिन्स कठिन समूहमा छन् । समूह ‘पी, जहाँ वरीयताका विश्व नम्बर दुई तथा दुईपल्टका विश्व च्याम्पियन डेनमार्कका भिक्टोर एक्सेलसनसहित तीनपल्ट ओलम्पिक खेलिसकेका इजरायलका मिसा जिल्बरमन र आयरल्यान्डका नहत गुएन छन् । सन् २०१२, २०१६ र २०२० को ओलम्पिक खेलेका मिसा युरोपियन च्याम्पियनसिपका पदकधारी हुन् । आइरिस गुएन पनि युरोपियन यू–१७ च्याम्पियनसिपका स्वर्ण विजेता हुन् ।

मेन्स सिंगलतर्फ ४१ खेलाडी प्रतिस्पर्धी छन् । उनीहरूले १३ समूहमा रहेर प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्नेछन् । एउटा समूहमा ३ वा ४ खेलाडी छन् । राउन्ड रोबिन प्रतिस्पर्धापछि तीन समूहका शीर्ष खेलाडी सिधै क्वाटरफाइनल प्रवेश गर्दा १० समूहका शीर्ष खेलाडी अन्तिम १६ मा पुग्नेछन् । त्यो तीन समूहमा प्रिन्सको समूह पनि परेको छ । प्रत्येक खेल बेस्ट अफ थ्रीमा हुनेछ ।

विश्व च्याम्पियनहरूसँग पर्नुलाई प्रिन्स सकारात्मक लिन्छन् । उनी भन्छन्, ‘ओलम्पिक, जहाँ विश्व च्याम्पियनहरूकै उपस्थिति रहने ठाउँ हो । त्यसमा मैले शीर्ष वरीयताका खेलाडीसँग खेल्न पाउनु मेरा ठूलो अवसर हो । यसलाई मैले सकारात्मक रूपमा लिएको छु । किनकि जित–हार त एउटा ठाउँ छ । मैले आफ्नो खेल खेल्ने हो । उनीहरूबाट धेरै कुरा सिक्न पाउनेछु ।’

छनोट यात्रा

ओलम्पिक छात्रवृत्तिमा रहेर खेलिरहेका खेलाडी हुन् प्रिन्स । ओलम्पिक छनोट खेल्नका लागि आईओसी सोलिडारिटीले एनओसीमार्फत उक्त छात्रवृत्ति प्रदान गरेको थियो । एनओसीले छात्रवृत्ति (मासिक ७५० डलर) प्रदान गरेका १० मध्ये तीन खेलाडीले यस पेरिस ओलम्पिक खेल्दै छन् । त्यसमा प्रिन्सहित जुडोकी मनिता श्रेष्ठ प्रधान र सुटिङकी सुस्मिता नेपाल छन् ।

प्रिन्सले पनि ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बीडब्लूएफ) ले ‘रेस टु पेरिस’ चक्रअन्तर्गतका छनोट प्रतियोगिताहरूमा सहभागिता जनाए । तिनै प्रतियोगिताहरूमा गरेको प्रदर्शनका आधारमा उनी ओलम्पिक छनोटलाई योग्य भएका हुन् । ओलम्पिकमा पाॅचै महादेशका खेलाडीको प्रतिनिधित्व रहोस् भनेर बीडब्लूएफबाट त्यसमा खेल्ने खेलाडीको कोटा निर्धारण गरिएको हुन्छ । ब्याडमिन्टनमा महिला र पुरुष दुवैतर्फ गरी १ सय ७२ खेलाडीलाई यस ओलम्पिकमा स्थान थियो । त्यसमध्ये महिला र पुरुष ८३–८३ गरी १६६ खेलाडी तिनै प्रतियोगिताहरूमार्फत सिधै छनोट भएका थिए भने युनिभर्सालिटी (सार्वभौमिकता) कोटा चार र आयोजक राष्ट्रको कोटा दुईबाट अरू ६ खेलाडी छानिएका थिए ।

प्रिन्स विश्व वरीयताको १७९ औं स्थानमा थिए । उनी युनिभर्सालिटी कोटामै परेका हुन् । त्यसका लागि ओलम्पिकको त्रिपक्षीय आयोग (अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, ब्याडमिन्टन वर्ल्ड फेडेरेसन र आयोजक नेसनल ओलम्पिक कमिटी प्रतिनिधिसम्मिलित) ले युनिभर्सालिटी कोटामा पर्ने खेलाडी छान्ने नियम छ । त्यो कोटामा पर्न आईओसी छात्रवृत्तिप्राप्त, र्‍याकिङ प्रतियोगिताहरूमा गरेको उच्च प्रदर्शन र देशको शीर्ष वरीयताप्राप्त खेलाडी हुनुपर्ने मापदण्ड तोकेको थियो । प्रिन्सले चीनमा भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा दुई खेल जितेका थिए । जुन प्रदर्शनले उनलाई ओलम्पिकको ढोका खोल्नमा ठूलो मद्दत गरेको थियो ।

प्रिन्स नेपाली ब्याडमिन्टनका लागि ‘गुनी’ खेलाडी हुन् । जुनियरतर्फ विश्व नम्बर एक वरीयता हत्याउँदै उनले नेपाली ब्याडमिन्टनलाई अन्तर्राष्ट्रिय एरिनामा पुर्‍याएका थिए । अहिले ओलम्पिक पुर्‍याएका छन् ।

उमेरले प्रिन्स २० वर्षमा कुदिरहेका छन् । उनीभित्र भने सानैदेखि ओलम्पिक खेल्ने हुटहुटी थियो । उनले आफ्नो ओलम्पिक सपना विगतमै धेरै अन्तर्वार्ताहरूमा साटेका छन् । दार्चुलामा जन्मिएका प्रिन्सले ६–७ वर्षको उमेरदेखि नै र्‍याकेट समाएका थिए । किशोरावस्थामा पुग्दा नपुग्दै उनले घरेलु प्रतियोगिताहरूमा सफलता हात पार्न थाले । १५ वर्षको उमेरमा त उनले अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता दुबई इन्टरनेसनल सिरिजमा स्वर्ण पदक नै जिते । त्यो सन् २०१९ को सेप्टेम्बरमा थियो । त्यहाँ भारतका वरुण कपुरलाई हराएपछि उनले विश्व वरीयतामा ठूलै फड्को मारेका हुन् ।

त्यसपछि प्रिन्सले वरीयतामा समावेश प्रतियोगिताहरूमा सफलता पाउँदै जुनियर वरीयताको शीर्षस्थान ओगेटका थिए । घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा डबल्सतर्फ दुई कांस्य पदक जितेका प्रिन्सले गत वर्ष चीनमा सम्पन्न हाङचाउ एसियाली खेलकुद पनि खेले । एसियाडमा उनी राउन्ड अफ ३२ मा पराजित भए । घरेलु प्रतियोगितामा उनले दर्जनभन्दा बढी सफलता पाएका छन् ।

ओलम्पिक यात्रासम्म पुग्दै गर्दा प्रिन्सले आफ्नो परिवार, विशेषतः मामा, ब्याडमिन्टन संघ, ओलम्पिक कमिटी र सबै गुरुहरूको योगदान उल्लेखनीय रहेको सुनाए । ‘उहाँहरूको साथ र सहयोगमा यो स्थानसम्म आइपुगेको छु । मप्रति उहाँहरूको अपेक्षा पनि छ । त्यसलाई ओलम्पिकमा राम्रो प्रदर्शन गरेर पूरा गर्ने प्रयासमा छु,’ प्रिन्सले अठोट सुनाए ।

पेरिसमा उनका साथमा नेपाली प्रशिक्षक भने हुने छैनन् । लङलिस्ट पठाउने बेला नाम छुटेकाले प्रशिक्षक सहभागी गराउन नसकिएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ बताउँछन् । तर, उनी आफैं टिम अफिसियलका रूपमा पेरिस जाँदै छन् । आवश्यकता पर्दा प्रिन्सले प्रशिक्षण लिएका श्रीलंकन प्रशिक्षक पेरिसमै हुने भएकाले उनीबाट सहयोग लिन सकिने अध्यक्ष श्रेष्ठको तर्क छ । दक्षिण एसियामा नेपाल, श्रीलंका र माल्दिभ्सका १–१ ले खेलाडीले स्थान बनाउँदा भारतका सात ब्याडमिन्टन खेलाडीले पेरिस ओलम्पिक खेल्नेछन् ।

श्रेष्ठ आफैं पनि ब्याडमिन्टनका पूर्वराष्ट्रिय च्याम्पियन हुन् । पदाधिकारीको रूपमा उनको यो दोस्रो ओलम्पिक सहभागिता हो । यसअघि उनी लन्डन ओलम्पिकमा सहभागी हुँदा महासचिव थिए । अध्यक्ष श्रेष्ठ पनि उत्साहित छन् । उनले सुनाए, ‘मैले आफ्नो खेलका खेलाडीलाई ओलम्पिक एरिनामा खेलेको देख्नेछु । यसले मलाई छुट्टै गौरव महसुस गराउनेछ ।’ प्रिन्सले पेरिसमा राम्रो खेल्नेमा उनी ढुक्क छन् । ‘धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकाले प्रिन्ससँग राम्रो अनुभव छ । युवा जोस छ । उनी भोलिका दिन नेपाली ब्याडमिन्टनको प्रेरणास्रोत बन्नेछन् ।’

ओलम्पिक इतिहासमा नेपाल

ओलम्पिकमा नेपालले सन् १९६४ को टोकियोदेखि सहभागिता जनाउन थालेको हो । २०२० को टोकियो ओलम्पिकसम्म आइपुग्दा नेपालले एथलेटिक्स, पौडी, बक्सिङ, सुटिङ, जुडो, भारोत्तोलन, आर्चरी र तेक्वान्दोमा गरी ८६ खेलाडीलाई ओलम्पिक सहभागिता गराएको छ । त्यसमा एथलेटिक्सका धावक वैकुण्ठ मानन्धरले लगातार चार, एथलेटिक्सकै हरिबहादुर रोकाय र टीका बोगटी, पौडीका गौरिका सिंह र प्रसिद्धजंग शाह तथा बक्सिङ दलबहादुर रानामगर र उमेश मास्केले दुई पटक सहभागिता जनाएका छन् ।

छनोट चरण पार गरेर ओलम्पिक खेल्नेमा तेक्वान्दोका संगीना वैद्य र दीपक विष्ट थिए । यसपालि त्यसमा थपिएका छन् टेबलटेनिसका स्यान्टु श्रेष्ठ । उनी दक्षिण एसियाली छनोटमा च्याम्पियन हुँदै छानिएका थिए । नेपाली टेबलटेनिसले पनि पहिलो पटक ओलम्पिक खेल्दैछ ।

पदकका रूपमा सन् १९८८ को सोल ओलम्पिकमा विधान लामाले तेक्वान्दोको प्रदर्शनी खेलमा कांस्य जितेका थिए । नेपालले सबैभन्दा धेरै खेलाडी सोल ओलम्पिकमै सहभागी गराएको थियो । जहाँ ६ खेलमा १८ खेलाडी थिए ।

प्रकाशित : श्रावण ६, २०८१ ०६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×