कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सुरुमै भिड्दै स्पेन र क्रोएसिया

रोयटर्स

डर्टमन्ड — स्पेन र क्रोएसियाले शनिबार एकअर्काविरुद्ध खेलेर आफ्नो युरो यात्रा सुरुआत गर्दैछन् । यो खासमा यूईएफए नेसन्स लिग फाइनलको पुनरावृत्ति रहनेछ । यी दुईसम्मिलित समूहमा बलियो इटालीसँगै ‘सरप्राइज प्याकेज’ अल्बानिया पनि रहेको छ । क्रोएसियाली खेलाडीसँग स्पेनको हातबाट पेनाल्टी सुटआउट बेहोरेको हारको पीडा अझै पनि कायम रहनेछ । त्यसमा सबैभन्दा अगाडि लुका मोडरिच हुनेछन् । 

सुरुमै भिड्दै स्पेन र क्रोएसिया

मोडरिच र उनको टिम फेरि एकपल्ट विश्व फुटबलको ठूलो उपाधि जित्ने प्रयासमा रहनेछ । ठूला प्रतियोगिताको फाइनल पुगेर पनि चुक्ने बानी परेको छ क्रोएसियालाई । यो टिम सन् २०१८ को विश्वकप फाइनल पनि पुगेको थियो । त्यसको चार वर्षपछि क्रोएसियाको प्रदर्शन फेरि एकपल्ट उच्च रह्यो र टिम विश्वकपको सेमिफाइनलसम्म पुग्यो । सन् २०२२ को विश्वकपमा ब्राजिल क्रोएसियाकै हातबाट पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

यी सबैभन्दा नेसन्स लिग फाइनलमा स्पेनविरुद्ध बेहोरेको हार क्रोएसियाले पचाउनकै सकेको छैन । क्रोएसियाको अहिलेको टिमलाई त्यस देशको ‘गोल्डेन जेनेरेसन’ मानिएको छ । तर प्रश्न हो, यिनै खेलाडीले कहिलेसम्म कुनै पनि जित्न नसकेको इतिहासलाई कायम राख्ने हो त ? अहिले नै यो टिममाथि ‘ग्रेट अन्डरडग’ को छाप परेको छ । यति आरोप लगाउँदा पनि ३९ वर्षीय मोडरिचको टिम बलियो नै छ । यसले भर्खरैको मैत्रीपूर्ण खेलमा पोर्चुगललाई लिस्बनमै पराजित गरेको थियो २–१ ले ।

यो जितले ज्लाट्को डालिचको टिमलाई पक्कै उत्साहित बनाएको छ । तर, स्पेन उसका लागि त्यस्तो प्रतिद्वन्द्वी छ, जसकाविरुद्ध अहिलेसम्म जित निकै कम जितमात्र निस्केको छ । ‘जायन्ट किलर’ क्रोएसियाको स्पेन भनेपछि कमै मात्र दाउ चल्छ । क्रोएसियाले विश्वकपमा जत्तिको राम्रो खेल्छ, त्यत्तिकै युरोमा भने गर्दैन र त्यसको कारण पनि धेरै अर्थमा स्पेन नै हो । युरोमा क्रोएसियाको सबैभन्दा राम्रो प्रदर्शन भनेकै क्वाटरफाइनलसम्म पुग्नु हो ।

यसपल्टको युरो त्यस्तो लगातार चौथो प्रतियोगिता हो, जहाँ क्रोएसिया र स्पेनको आमनेसामने भएको छ । सन् २०१२ को समूह चरणमा स्पेनले क्रोएसियालाई १–० ले हराएको थियो । त्यसमा जेसस नेभासले खेलको अन्त्यतिर निर्णायक गोल गरेका थिए । त्यस जितसँगै स्पेन क्वाटरफाइनल पुगेको थियो । सन् २०२० को अन्तिम १६ मा पनि स्पेन क्रोएसियाविरुद्ध टाइब्रेकरमा विजयी रह्यो । स्कोर थियो ५–३ । सन् २०१६ मा भने स्पेनमाथि क्रोएसियाले बदला लिएको थियो समूह चरणमा २–१ को जितसँगै ।

यसै जितका कारण उनीहरूको समूहमा क्रोएसिया शीर्षमा रहेको थियो । ‘हामीले स्पेनविरुद्ध धेरैपल्ट खेलिसकेका छौं र हामीलाई स्पेनले कसरी फुटबल खेल्छ, त्यो पनि राम्रोसँग थाहा छ । स्पेन सक्दो बल आफ्नो नियन्त्रणमा राखेर खेल्छ र विपक्षी टिमलाई अल्छी बनाउने प्रयास गर्छ,’ क्रोएसियाली स्ट्राइकर एन्टे बुडिमिर भन्छन्, ‘स्पेन कुनै पनि बेला तीव्र गतिमा आक्रमण गर्न सक्षम छ र यो सिधा तेर्सिने गर्छ । स्पेनको खेल हेर्नमा मज्जा आउँछ र यो लोभ्याउने खालकै छ ।’ उनी थप्छन्, ‘स्पेनको खेल रोड्रीको वरिपरी घुम्ने गर्छ । स्पेन वास्तवमै बलियो प्रतिद्वन्द्वी हो ।’ स्पेन सन् २०२२ को विश्वकपमा मोरक्कोको हातबाट टाइब्रेकरमा पराजित हुँदै आर्श्चजनक रूपमा बाहिरिएको थियो । त्यसपछि प्रशिक्षकको जिम्मेवारी लुइस एनरिकेको हातबाट लुइस डे ला फोन्टेको काँधमा छ । उनले युवा तथा प्रतिभाशाली खेलाडीसम्मिलित टिमलाई मजुबत बनाएका छन् । यी नयाँ खेलाडीलाई अनुभवी स्टारको बलियो साथ छ । टिममा सबथोकको राम्रो मिश्रण छ ।

के यो टिम क्रोएसियालाई हराउन सक्षम छ त ? स्पेनका १६ वर्षीय युवा विङ्गर यामल भन्छन्, ‘कुनै पनि टिम र खेलाडी जर्मनीमा बिदा मनाउन आएका छैनन् । हामी यहाँ जित्न आएका छौं र यसका लागि हामीले सबैभन्दा राम्रो प्रयास गर्नेछौं । सम्भवतः क्रोएसियाविरुद्धको खेल मेरो खेलाडी जीवनको अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण हुनेछ ।’ उनी पनि क्रोएसियाली टिमको उत्तिकै प्रशंसा गर्छन्, जसरी बुडिमिरले स्पेनी टिमबारे बोलेका छन् ।

एक प्रकारले दुवै टिमलाई आफ्नो विपक्षीमाथि सम्मान छ । यामल भन्छन्, ‘क्रोएसिया आफैंमा निकै बलियो टिम हो । यो टिमलाई हराउन जहिले पनि गाह्रो छ । जति जति प्रतियोगिता अगाडि बढ्दै जान्छ, यो क्रोएयिाली टिम उति उति बलियो हुँदै जाने गर्छ । फेरि क्रोएसियाली अनुभवी खेलाडीको पनि कमी छैन । मलाई के लाग्छ भने क्रोएसिया नै समूह चरणमा हाम्रो लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी रहनेछ ।’

प्रकाशित : असार १, २०८१ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x