कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

हंगेरियन र स्विसलाई प्रमाणित गर्ने अवसर

रोयटर्स

कोलोन — हंगेरी र स्विट्जरल्यान्डले युरो २०२४ मा शनिबार आफ्नो पहिलो खेल खेल्नेछन् । यो दुवै टिमका लागि आफूलाई प्रमाणित गर्ने अवसर रहनेछ । यो यही खेलको नतिजा हुनेछ, जसले समूह ‘ए’ बाट दोस्रो चरण पुग्ने टिमको प्रारम्भिक संकेत दिनेछ । गत सातासम्म हंगेरी आफैंमा अद्वितीय अपराजित यात्रामा थियो ।

हंगेरियन र स्विसलाई प्रमाणित गर्ने अवसर

यो २० महिनासम्म चल्यो । अर्कोतर्फ स्विट्जरल्यान्ड भने खराब लयमा छ । त्यसैले टोलीले हंगेरीविरुद्ध राम्रो प्रदर्शन गर्नुपर्नेछ । यसैले मात्र टोलीलाई केही आत्मविश्वास उत्पन्न हुनेछ ।

छनोटमा स्विट्जरल्यान्ड सबैभन्दा सजिलो समूहमा थियो । यसमै टोलीको प्रदर्शन फिटिक्क राम्रो रहेन । स्विस टिमले आफ्नो पछिल्ला ८ खेलमा एन्डोरालाई मात्र हराउन सकेको थियो । त्यसपछि ४ खेलमा सुरुआती अग्रता लिएर पनि स्विट्जरल्यान्डले जोगाउन सकेन । यी खेल कोसोभोविरुद्ध दुईपल्ट तथा रोमानिया र इजरायलविरुद्ध एक–एकपल्ट थियो । समूह ‘ए’ मा यी दुई टिमसँगै आयोजक जर्मनी र स्कटल्यान्ड छन् । एक प्रकारले यो निकै खुला समूह हो, जसमा सबै प्रकारको सम्भावना खुला हुनेछ ।

इटालीका फुटबल प्रशिक्षक मार्को रोसीले हंगेरीको राष्ट्रिय टिममा त्यो शैलीलाई भित्र्याएका छन्, जसलाई अत्यधिक आक्रामक मान्न सकिन्छ । जसमा गति पनि उत्तिकै हुन्छ । हेर्न पनि उत्तिकै रोमाञ्चक हुन्छ । सन् २०२२ यता अपराजित हंगेरीले इंग्ल्यान्ड र जर्मनीविरुद्ध पनि यसबीच जित निकालेको छ । रोसीको टिमका प्रमुख खेलाडी हुन्, डोमिनिक सोबोस्लाई । उनकै खेलवरिपरी पूरा हंगेरी टिम रहने गर्छ । उनी भर्खर २३ वर्षका भए ।

यतिमात्र होइन, उनी यस युरोमा सबैभन्दा कान्छा कप्तानसमेत हुन् । सन् २०२० को युरो भने उनले चोटका कारण गुमाएका थिए । उनको अनुपस्थितिमा फ्रान्स र जर्मनी जस्ता हेभिवेटविरुद्धको खेल बराबरीमा टुंगिएको थियो । यसै कारण टिम चाँडै घर फर्किन बाध्य रह्यो । यही एक कारणले पनि सोबोस्लाई यसपल्ट राम्रो प्रदर्शनलाई प्रेरित छन् । उनी भन्छन्, ‘हामी सक्दो टाढा जान चाहन्छौं । टिमबीच गजबको एकता छ । हामी प्रतियोगितामा ठूलो उत्साहले उत्रिइरहेका छौं, किनभने हामीलाई गुमाउनु पनि केही छैन ।’

उनी थप्छन्, ‘हामीले सकारात्मक मनसायले ठीक फुटबल खेल्ने हो भने हामीले ठूलै उपलब्धि हात पार्न सक्छौं ।’ यही हंगेरीविरुद्ध जित निकाल्न सक्ने हो भने स्विट्जरल्यान्डको भाग्य एकाएक फेरिन सक्नेछ । यसले पछिल्लो युरोमा टिमको उत्कृष्ट प्रदर्शनको सम्झना ताजा गर्नेछ । फ्रान्स स्विस टिमकै हातबाट पेनाल्टीमा पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो ।

स्विस डिफेन्डर सिल्भान विडमेर आफ्नो टिमको पछिल्ला प्रदर्शनबाट धेरै चिन्तित छैनन् । उनी भन्छन्, ‘हामी सबै राम्रो प्रदर्शनका लागि उत्साही छौं । टिमभावना पनि उल्लेखनीय छ । हामीले प्रतियोगिताको व्यग्र प्रतीक्षा गरिरहेका छौं र मैदान उत्रन हतार गरिरहेका छौं । हाम्रो टिममा फेरि राम्रो प्रदर्शनका लागि उत्साह फर्केको छ । हंगेरीको चुनौती हामी राम्रोसँग सामना गर्नेछौं । हामीले यो खेलमा आफूले सक्दो सबै दिन्छौं ।’

प्रकाशित : असार १, २०८१ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x