कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

टहराबाट ट्राफिक पहरा

महेश केसी

रुकुम पूर्व — जिल्लाभरको सवारी सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारीमा रहेको ट्राफिक प्रहरी कार्यालयले टहराबाट सेवा दिइरहेको छ । कार्यालयको आफ्नै भवन नहुँदा सिस्ने गाउँपालिका-५ स्थित कमल दह नजिकै डाँडामा टिनको अस्थायी टहराबाट ट्राफिक प्रहरीले सेवा दिइरहेका छन् । 

टहराबाट ट्राफिक पहरा

दुई वर्षअघि जिल्ला प्रहरी कार्यालय नजिकै भाडाको घरमा ट्राफिकको कार्यालय रहेको भएपनि अहिले टहराबाट सेवा दिइरहेको ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक मधु श्रेष्ठले बताए । ‘मुश्किलले दुईवटा कोठा हुने यो टहरोमा भान्सा, कार्यालय र आवास छ,’ उनले भने, ‘हामीलाई असुरक्षा त छ नै साथै ट्राफिकको जिल्ला कार्यालय हो भन्न पनि लाज लाग्ने अवस्था छ ।’

स्थानीय सरकारले ट्राफिकका लागि जग्गा उपलब्ध गराउँछौं भनेपछि तत्काल अस्थायी टहरामा कार्यालय राखिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक हरी भट्टराईले बताए । ‘यो जग्गा हाल व्यक्तिको नापीको जग्गा हो । तर सिस्ने गाउँपालिकाले यसलाई सरकारीकरण गर्ने र ट्राफिक कार्यालयको नाममा गरिदिने आश्वासनका दिएपछि टहरामा कार्यालय बनाइएको हो । यो प्रयास सफल हुन सकेको छैन,’ उनले भने, ‘आसै–आसमा दुई वर्ष बिते यसरी त कसरी सेवा दिन सकिएला र ! यसकारण उपयुक्त विकल्पको खोजी जरुरी छ ।’

टहरामा बस्दा गर्मीमा निकै गर्मी र जाडोमा निकै जाडो हुने गरेको ट्राफिक प्रहरी सहायक हवल्दार दिनेश केसीले बताए । उनले थपे, ‘हावा आउँदा त टहरो नै उडाउला झैं हुन्छ ।’

प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जनाको दरबन्दी रहेको जिल्ला ट्राफिक कार्यालयमा हाल १३ कर्मचारी कार्यरत रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । ‘हामी यहाँ ८ जना छौं । टहरामा कोचाकोच बसेर बसिरहेको छौं,’ उनले भने, ‘गर्मीमा दिउँसो टन्टलापुर घामले पोल्छ, राति धेरैजना एकै ठाउँमा सुत्नुपर्दा उकुसमुस हुन्छ ।’

टहरामा रहेको ट्रफिक कार्यालयलाई भाडा तिरेरै उपयुक्त ठाउँमा सार्न सकिने जिल्ला प्रहरी प्रमुख डीएसपी माधवराज खरेलले बताए । ‘यसरी त सेवा प्रवाह गर्नै सकिँदैन । भाडा तिरेरै भएपनि उपयुक्त ठाउँमा ट्राफिक कार्यालय राख्नुपर्छ भन्ने कुरामा हामी गम्भीर छौं,’ उनले भने, ‘यसमा हाम्रो तालुक निकाय र सरोकारवालको पनि सहयोग र सक्रियता जरुरी छ ।’

प्रकाशित : असार ४, २०८१ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×