कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

२ दिनमा ५२ सय किलोलिटर इन्धन वितरण, निगम भन्छ : आपूर्ति सहज हुन थाल्यो

थानकोट डिपो प्रमुख अशोक साह भन्छन्, ‘सोमबार राति १२ बजेसम्म डिपोमा बसेर इन्धन लोड/अनलोड गरेर बजारमा पठाएका छौँ, अब लाइन बस्नु पर्दैन’

काठमाडौँ — नेपाल पेट्रोलियम ट्यांकर चालक संघले गरेको आन्दोलनका कारण अस्तव्यस्त बनेको इन्धनको आपूर्ति प्रणाली मंगलबारदेखि सहज बन्न थालेको नेपाल आयल निगमले जनाएको छ । नेपाल आयल निगमसँग संघले सोमबार दिउँसो सहमति गरेसँगै थानकोट डिपोले उपत्यकाको मागभन्दा दोब्बर इन्धन बजारमा पठाएको छ ।

२ दिनमा ५२ सय किलोलिटर इन्धन वितरण, निगम भन्छ : आपूर्ति सहज हुन थाल्यो

थानकोट डिपो प्रमुख अशोक साहका अनुसार सोमबार दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म पेट्रोल १५ सय १७ किलोलिटर र डिजेल १७ सय २९ किलोलिटर बजारमा वितरण गरिएको छ । मंगलबार पेट्रोल १ हजार किलोलिटर र डिजेल ९ सय २० किलोलिटरको माग आएकाले सोहीअनुसार बजारमा पठाएको जनाएको छ ।

‘संघले सहमति गरेलगत्तै राति ९ बजेसम्म इन्धन लोड गरेर बजारमा वितरण गर्‍यौँ, त्यसपश्चात राति ९ बजेदेखि १२ बजेसम्म बरौनी र अमलेखगन्जबाट आएका ट्यांकर अनलोड गरेका छौ,’ डिपो प्रमुख साहले भने, ‘मंगलबार पनि उपत्यकाको माग भन्दा बढी पठाएका छौँ । सबै पम्पमा इन्धन पुगेको छ, पेट्रोलकै लागि अब लाइन बस्नुपर्दैन ।’

उनले दुई दिनमा करिब ५२ सय किलोलिटर इन्धन बजारमा पठाइएको जानकारी दिए । ‘सोमबार वितरण गरिएको इन्धनको परिमाण अहिलेसम्मकै धेरै हो,’ उनले भने । थानकोट डिपोबाट पेट्रोल दैनिक ७ सय र डिजेल ८ सय ५० किलोलिटर बिक्री हुन्छ । चालकले गरेको आन्दोलनकै कारण आइतबार र सोमबार सर्वसाधरणले सास्ती भोगेका थिए । निजी पेट्रोल पम्पले इन्धन वितरण गरेका थिएनन् । आर्मी, प्रहरी र सशस्त्र प्रहरीका पम्पमा सर्वसाधरणको बाक्लो भिड थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसँग गरिएको छलफलपछि संघले आन्दोलन फिर्ता लिएको हो । वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा भएको छलफलमा संघले उठाएका माग सम्बोधन गर्न उपसमिति गठन गर्नेलगायत विषयमा सहमति जुटेको छ । उक्त उपसमितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश छ ।

प्रकाशित : असार ४, २०८१ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×